कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या ३ हजार नाघ्यो, आजै २४ को मृत्यु
प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार
अहिलेसम्म विश्वभर ८८ हजार ३ सय ७५ मा कोरोना संक्रमण पुष्टी भएको छ भने मृतकको संख्या ३००१ पुगेको छ । संक्रमित ४२ हजार ७ सय ३३ को सफल उपचार गरिएको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ जाँच प्रकृया अपनाइने भएको छ । अब चीन लगायत जोखिमपूर्ण देशहरुमा जानेहरुको पनि अमेरिकाबाट प्रस्थान अगाडि जाँच गरिने भएको छ । ती देशहरुबाट अमेरिका आउनासाथ जाँच गरिनेछ ।
यसअगाडि चीनबाट आउने र विगत १४ दिनमा चीनको भ्रमण गरेकाहरुको जाँच गरिएपनि अब चीन र इरानसहित साउथ कोरिया र इटलीबाट आउने र विगत १४ दिनमा ती देशको भ्रमण गरेकाहरुको पनि जाँच गरिनेछ । अब साउथ कोरिया, चीन र आवश्यक परे अन्य युरोपियन देशमा जानेहरुको पनि जाँच गर्ने तयारी भइरहेको अमेरिकी उपराष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानको भ्रमण गरेका विदेशी नागरिकलाई पनि अमेरिकामा यात्रा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले आफ्ना नागरिकलाई इटली र साउथ कोरियाको भ्रमण नगर्न चेतावनी दिएको छ । मेक्सिकोसँगको सिमाक्षेत्रमा पनि नयाँ प्रतिबन्ध लगाउने योजनामा अमेरिकी अधिकारीहरु रहेका छन् ।
अमेरिकाको वासिंटन राज्यमा कोरोनाको संक्रमणबाट एकजनाको मृत्यु भएपछि थाइल्याण्ड र अष्ट्रेलियामा पनि कोरोना संक्रमणबाट पहिलो मृत्युका खबर आएका छन् । अमेरिकाको वासिंटनमा शनिबार कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएपछि त्यहाँ राज्य संकटकाल घोषणा गरिएको छ ।
थाइल्याण्डमा कोरोना संक्रमणबाट पहिलो मृत्युको खबर आएको छ । थाइल्याण्डमा ज्यान गुमाउने व्यक्ति ३५ बर्षका रहेको जनाइएको छ । थाइल्याण्डमा आहिलेसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ । जापानको क्रुजसिपबाट उद्दार गरिएका ७८ बर्षका व्यक्तिको मृत्यु भएको जनाइएको छ । अष्ट्रेलियामा अहिलेसम्म २९ जनामा कोरोना संक्रमण भएको छ ।
त्यस्तै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । भाइरस संक्रमणका १२ नयाँ केसहरु पुष्टी भएपछि संक्रमितको संख्या ३६ पुगेको हो ।
इटलीमा अहिलेसम्म कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ भने इरानमा मृतकको संख्या ५४ पुगेको छ । दक्षिण कोरियामा २१ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा संक्रमितको संख्या ३७३६ पुगेको छ ।






