भारतमा भएको हिंसामा परी ४२ जनाको मृत्यु ६ सय ३० गिरफ्तार


प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार

दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या शुक्रबार ४२ पुगेको छ । भारतमा तीन दशकयताकै सबैभन्दा खराब हिंसा भएको हो ।

एमएस रन्धावा, पीआरओ दिल्ली प्रहरीले दिएको जानकारी अनुसार उत्तर–पूर्वी दिल्लीमा भएको हिंसामा अहिलेसम्म १ सय २३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । झण्डै ६ सय ३० जनालाई गिरफ्तार गरिएको छ भने २५ जनाविरुद्ध हतियारसम्बन्धी मुद्दा दर्ता गरिएको छ । हिंसामा भएको वास्तविक क्षति अब देखिन थालेको छ ।

केही मानिसहरू काम गर्न घरबाहिर निस्किएको र हिंसा प्रभावित इलाकामा केही पसल र केही अन्य प्रतिष्ठान पनि खुलेका छन् । सरसफाइकर्मीहरु चार दिनदेखिको हिंसापछि उत्तर–पूर्व दिल्लीको सडक र गल्लीमा ढुङ्गा, सिसा र काँचको टुक्रा तथा फोहोर सफा गरेका छन् । केही पसलका सञ्चालकहरु आफ्नो जलेको र टुटेफुटेको पसलको अवस्था देखेर खिन्न देखिका छन् ।

प्रहरी र अर्द्धसैनिक बलका अधिकारी मस्जिदमा जुमेको नमाजलाई ध्यानमा राखेर ड्युटी गरिरहेको स्थानिय संचार माध्यमले जनाएका छन् । नागरिकतासम्बन्धी कानुनले मुस्लिम समुदायलाई विभेद गरेको भन्दै सुरु भएको आन्दोलनमा गएको आइतबारदेखि पक्ष र विपक्षबीच हिंसा भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com