इरानमा कोरोना संक्रमणबाट ३४ को मृत्यु, सहयोगका लागि अमेरिकाले अगाडि बढायो हात


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

इरानमा कोरोना भाइरसको संक्रमणबाट ३४ जनाको मृत्यु भएपछि अमेरिकाले त्यहाँका जनतालाई सहयोगको प्रस्ताव गरेको छ । कोरोनाको संक्रमणबाट सार्वजनिक स्वास्थ्यमा उत्पन्न संकटका लागि अमेरिका इरानी जनताको साथ दिन तत्पर रहेको अमेरिकी विदेशमन्त्री माइक पम्पिओले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

कोरोनाको संक्रमण फैलिन नदिन र संकटको सम्बोधन गर्न अमेरिकाले स्वीटजरल्याण्डको सरकारमार्फत इरानलाई सन्देश पठाइसकेको छ । र अमेरिकाले संकटको सामना गर्न इरानका जनतालाई सहयोग गर्न आफूहरु तत्पर रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय सहयोग र स्वास्थ्य संगठनहरुप्रति पूर्णरुपमा समन्वय कायम गर्न र पादर्शिता अपनाउन समेत अमेरिकाले इरानलाई आग्रह गरेको छ । औषधीको सहयोग र कोरोनाका कारण जनताको पीडामा राहतका लागि गरिने सहयोग अमेरिकी नाकाबन्दी अन्तरगत नपर्ने र कसैले इरानमा त्यस्तो सहयोग पठाउन चाहेमा पठाउन सक्ने समेत अमेरिकाले स्पष्ट पारेको छ ।

त्यस्तै खाद्य, औषधी, स्वास्थ्यसम्बन्धि उपकरण लगायतका बस्तुमा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाएको छ । यसबारेमा अमेरिकाको अर्थ मन्त्रालय र स्वीट्जरल्याण्डको सरकारबीच एउटा सहमति समेत भएको छ ।

इरानका जनतालाई सहयोग गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको र भविश्यमा पनि प्राथमिकतामा रहने अमेरिकी विदेशमन्त्रीले जनाएका छन् ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ, जुन चीन भन्दा बाहिरको सबैभन्दा ठूलो संख्या हो । इरानमा ३८८ मा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने ७३ जनाको सफल उपचार गरिएको छ ।

अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण ८४ हजार १ सय ६७ मा भइसकेको छ । जसमध्ये २८७६ को मृत्यु भएको छ भने ३६ हजार ८ सय ७४ को सफल उपचार भएको छ ।

चीनपछि संक्रमितको संख्या सबैभन्दा धेरै दक्षिण कोरियामा रहेको छ । त्यहाँ २३३७ मा कोरोनाको संक्रमण पुष्टी भएको छ भने १६ को मृत्यु भएको छ । इटलीमा ८८८ मा संक्रमण भएको छ भने २१ को मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म ६० जनामा संक्रमण पुष्टी भएको छ । तर कसैको पनि अहिलेसम्म ज्यान गएको छैन । एकजना अवस्था गम्भिर रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com