अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमण र सम्झौताको उदेश्य के ?


प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार

कविराज विसी/ सोमवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा भारत आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्रनै गृहनगर अहमदावादमा भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको थियो । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका थिए भने राष्ट्रपति ट्रम्पलाई मोदीले अहमदाबाद विमानस्थलमै पुगेर स्वागत गरे । ट्रम्प र मोदीबीच मंगलबार दुईपक्षीय वार्ता भयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म सोमबार दुईदिने औपचारिक भ्रमणका लागि यतिबेला भारतमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको सरदार वल्लभभाइ पटेल अन्तरष्ट्रिय विमानस्थलमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई सोमबार स्वागत गरे । विमानस्थलबाट राष्ट्रपति ट्रम्प सिधै साबरमती आश्रम पुगे । उनले साबरमती आश्रममा रहेको ‘हृदय कुञ्ज’मा चर्खा समेत घुमाए ।

गान्धी आश्रममा ट्रम्पले महात्मा गान्धीको तस्बिरमा माल्यार्पण गरे । परम्पराअनुसार कुनै प्रसिद्ध व्यक्ति गान्धी आश्रममा आउँदा महात्मा गान्धीको संघर्ष वा उसको व्यक्तित्वको बारेमा आफ्ना विचार लेख्ने गर्छन् । तर ट्रम्पले माहात्मा गान्धीलाई श्रद्धाञ्जली दिइसकेपछि आगन्तुक पुस्तिकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश लेखे । ट्रम्पले पुस्तिकामा लेखेका छन् ‘यस अद्भुत यात्राको लागि मेरो महान् मित्र प्रधानमन्त्री मोदीलाई धन्यवाद ।’ ट्रम्पले गान्धीलाई छोडेर मोदीको प्रशंशाको पुलिन्दा भरे ।

साबरमती आश्रममा केहीबेर रोकिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपती ट्रम्प मोटेरा अन्तराष्ट्रिय क्रिकेट रंगशालामा पुगे । जहां दशौं हजार भारतीय नागरिकको उपस्थितिमा मोदीले ट्रम्पलाई औपचारिक स्वागत गरे । राष्ट्रपति ट्रम्पले मोदीको खुलेरे प्रशंसा गरे । मोदीको स्वागत मन्तव्य सुनेर ट्रम्प दंग परे ।

यसअघि, भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पलाई स्वागत गर्दै उनको गुनगान मात्र गाएनन्, भारत अन्तराष्ट्रिय महाशक्तीका रुपमा अघि बढेको समेत दाबी गरे ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत भ्रमण गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच मङ्गलबार हैदराबाद हाउसमा भेटवार्तापछि दुई नेताले संयुक्त वक्तव्य पनि जारी गरेका छन् । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच ३ वर्षमा व्यापार दोहोरो अङ्कमा वृद्धि भएको भारतीय प्रधानमन्त्री मोदीले जिकिर गरेका छन् ।

मोदीले द्विपक्षीय व्यापारको बारेमा दुई पक्षबीच सकारात्मक वार्ता भएको बताउँदै ठूलो व्यापार सम्झौतामा पनि सहमत भएको समेत बताए । दुई देश कनेक्टिभिटी इन्फ्रास्ट्रक्चरको विकासमा पनि सहमत भएको प्रधानमन्त्री मोदीले जानकारी दिए ।

उता, राष्ट्रपति ट्रम्पले मोदीसँगको वार्तामा २१ दशमलव ५ करोड भारु बराबरको रक्षा सम्झौतालाई मन्जुरी दिइएको बताए ।
मोदी र ट्रम्पबीच प्रतिनिधिमन्डल स्तरमा भएको छलफलमा भारत–अमेरिकाबीच भएका ६ सम्झौतामध्ये रक्षा सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ । अमेरिकासँग सी–हक हेलिकप्टर किन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो ।

२१ हजार करोडको रक्षा सम्झौतामा १८ हजार ६२६ करोड रुपैयाँ खर्च हेलिकोप्टर खरिद हुनसक्छ । भारतको नौसेनालाई यो हेलिकप्टर चाहिएको छ । यो हेलिकप्टरले हर मौसममा दुश्मनमाथि हमला गर्न सक्षम छ भने पनडुब्बीमाथि पनि निशाना बनाउन सक्छ । यसको अलावा भारतले अमेरिकासँग ८०० मिलियन डलरको ६ वटा एएच–६४ ई अपाचे हेलिकप्टर पनि खरिद गर्न सक्नेछ । यसको साथै अमेरिकाले भारतलाई मिसाइल डिफेन्स शिल्ड पनि बेच्ने प्रयास गरिरहेको छ । भारतले रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किन्ने तयारी गरिरहेको छ । यस अन्तरगत अमेरिकाले भारतलाई ६ वटा रियक्टर सप्लाइ गर्नेछ । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । ट्रम्प मंगलबार राति अमेरिका फकिएका छन् ।

केहिमहिना अघिमात्र राष्ट्रपति ट्रम्पले कश्मीर मुद्दामा भारत र पाकिस्तानबीच मध्यस्थता गर्न प्रस्ताव गरेका थिए । गत वर्ष अगस्टमा भारतले कश्मीरको विशेष राज्यको दर्जा खारेज गरेको थियो । त्यसपछि ट्रम्पले मध्यस्थताको लागि आग्रह गरेका थिए । भारतले यसलाई स्पष्ट रूपमा अस्वीकार गर्दै यो उनीहरूको आन्तरिक मामला भएको बताएको थियो । ट्रम्पको भ्रमणको क्रममा हिंसा भड्किन सक्ने आशंकामा कश्मिरमा स्थानीय पञ्चायतको चुनाव स्थगित गरिएको छ । तर यसपटको भेटमा ट्रम्पले खुलेरै पाकिस्तानको प्रशांसा गरेका छन् । यो भ्रमण भारतले अपेक्षा गरे अनुरुप उपलब्धी मूलक बन्न सकेन ।

स्वतन्त्र भारतको पहिलो भ्रमण गर्ने अमेरिकी राष्टपति ड्वाइट आइजनहावर थिए । अमेरिका र सोभियत संघबीच शित युद्ध चलिरहेको बेला आइजनहावरको भारत भ्रमण भएको थियो । जबकी भारत त्यतिबेलासम्म असंलग्न आन्दोलनमा रहेको थियो । यद्यपी, भारतको धेरै भर भने सोभियत संघसँगै थियो । आइजनहावरले भारतीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुभएको थियो । तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले आइजनहावरलाई ताज महल घुमाउन आगरा लगेका थिए ।

१० वर्ष पछि अमेरिकाका अर्का राष्टपति रिचर्ड निक्सनले भारतको भ्रमण गरे, सन् १९६९ मा । एक दिनको मात्र भ्रमण गर्नुभएका निक्सनले तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीसँग तनाब कम गर्न खोजेका थिए । त्यतिबेलासम्म अमेरिकाको सम्बन्ध पाकिस्तानसँग राम्रो थियो । शित युद्धमा कसैको पक्ष नलिने भारतको नीतिप्रति अमेरिका रुष्ट थियो ।

त्यसैले अमेरिकाले पाकिस्तानसँग राम्रो सम्बन्ध बनाएको थियो । यद्यपी, दक्षिण एशियामा भारत नै सबैभन्दा ठूलो र शक्तिशाली मुलुक भएका कारण अमेरिकीहरुका लागि भारत महत्वपूर्ण देश थियो । अझ, उत्तरको छिमेकी चीनसँग भारतको सन् १९६२ मा भएको लडाईं र त्यसअघि तिब्बतबाट दलाई लामा भागेर भारत पुगेपछि त अमेरिकाका लागि भारत आधार इलाका जस्तै बनेको थियो, चीन विरुद्धको गतिविधि अघि बढाउनका लागि । यसैले भारतसँग सम्बन्ध गांस्नैपर्ने बाध्यताको बोध आइजनहावर र निक्सनले गरेका थिए । सन् १९७१ मा भएको भारत–पाकिस्तान युद्धमा अमेरिकाले पाकिस्तानलाई समर्थन गरेपछि भने भारतले असंलग्नताको नीति त्याग्दै सोभियत संघसंग औपचारिक सुरक्षा सम्झौता गर्दै सोभियत धुरीमा प्रवेश गरेको थियो ।

सन् १९७८ मा अमेरिकाका अर्का राष्टपति जिम्मी कार्टरले पुनः भारतको भ्रमण गरे । कार्टर भारत पुग्ने तेस्रो अमेरिकी राष्टपति थिए । भारतले त्यसको ४ वर्ष अघि नै सोभियत संघको सहयोगमा पहिलो परमाणु परीक्षण गरिसकेको थियो । परमाणु परीक्षण पछि अमेरिकासँग सम्बन्ध झन बिग्रिएको थियो । तनाबकै बीच कार्टरले नयां दिल्लीको भ्रमण मात्र गरेनन्, भारतीय संसदलाई समेत सम्बोधन गरे । दिल्लीले उनको सम्मानमा हरियाणको एक गाउँको नाम नै कार्टरपुरी राखिदियो । कार्टररले तत्कालिन प्रधानमन्त्री मोरारजी देसाईंलाई परमाणु परीक्षणबाट पछि हट्न बाध्य बनाउन नसकेपछि भने दुई मुलुकबीचको तनाब अझ बढ्यो ।

सन् १९८९ मा सोभियत संघ विघटनपछि विश्वको कुटनीतिक सम्बन्ध फेरियो । विश्वभर अमेरिकाको एकल प्रभुत्व बढ्न थाल्यो । भारतले पनि आफ्नो झुकाव अमेरिकातिर फर्कायो । सन् १९७८ बाट खुला बजार नीति अबलम्बन गर्दै तिब्र गतिको आर्थिक विकास सुरु गरेको चीनको तुलनामा निकै पछि रहेको भारतका लागि अमेरिका विकल्प बन्नु स्वभाविक थियो । दक्षिण एशिया र हिन्द महासागर वरपर चीनको व्यापारिक एवं सामरिक प्रभाव रोक्न भारतले अमेरिकी धुरी समात्यो । फलस्वरुप सन् १९९१ मा भारतले पनि विदेशी लगानी आकर्षित गर्न आर्थिक उदारिकरणको ढोका खोल्यो । भारत र अमेरिकाबीच मजबुद व्यापारिक सम्बन्ध कायम हुन पुग्यो । अमेरिकाका लागि पनि भारत नभै नहुने मित्र थियो । त्यसैले सन् १९९९ मा भएको कारगिल युद्धमा अमेरिकाले भारतको पक्षपोषण गर्यो ।

भारतले सन् १९९८ मा आणविक परीक्षण गरेको थियो । यसबाट केही समय चिढिएको अमेरिकाले भारतमा नाकावन्दी पनि लगायो । तर, सन् २००० मा अर्का अमेरिकी राष्टपति विल क्लिन्टनले भारत भ्रमण गरे । २० औं शताब्दीको उत्तरार्धमा तनाबपूर्ण बनेको भारत अमेरिका सम्बन्धलाई पुनः संग्ल्याउन २१ औं शताब्दीको पहलिो वर्ष नै क्लिन्टनले भारतको भ्रमण गरेका थिए ।

क्लिन्टन पछि राष्टपति बनेका जर्ड डब्लु बुशले सन् २००६ मा भारत भ्रमण गरे । भारतको पहिलो र दोस्रो आणविक परीक्षणको कडा आलोचना गर्दै प्रतिबन्ध लगाउने अमेरिकाले भारतलाई आणविक सम्झौता गराउनकै लागि जर्ज बुशको भ्रमण भएको थियो । भारतले नागरिक र सैन्य प्रयोजनको आणविक कार्यक्रमलाई अलग अलग बनाएपछि अमेरिकाले भारतमाथि आणविक व्यापार कारोबारमा लगाएको प्रतिबन्ध फुकुवा गर्यो । बुशको भ्रमणबाट भारतको रक्षा सम्बन्ध अमेरिकासँग गांसिन पुग्यो ।

त्यसो त, अमेरिकाको न्यूयोकस्थित ट्वीन टावरमा आतंकवादी आक्रमण भएपछि अमेरिकाले इराकमाथि सामुहिक नरसंहारकारी हतियार राखेकोको आरोपमा आक्रमण गरेको थियो । सँगसँगै अफगानिस्तानमाथि भएको अमेरिकी आक्रमणको प्रतिरक्षा गर्न पनि अमेरिकालाई भारतीय समर्थन आवश्यक पर्यो ।

अमेरिकाका अर्का राष्टपति बराक ओवामाले सन् २०१० मा भारतको भ्रमण गरे । जतिबेला डाक्टर मनमोहन सिंह भारतका प्रधानमन्त्री थिए । ओवामाले दुई पटक भारतको भ्रमण गरे । सन् २०१५ मा पनि उनको भ्रमण भयो । दुई पटक भ्रमण गर्ने अमेरिकी राष्ट्रपतिमा ओवामा बने । २०१० मा ओबामाले संयुक्त राष्ट्र संघको सुरक्षा परिष्दको स्थायी सदस्य बन्नका लागि समर्थन गरे । दुई देशबीच १० अर्ब डलरको व्यापारिक एवं सामरिक सम्झौता भयो । ओवामाको दोस्रो भारत भ्रमण सन् २०१५ मा भयो, जतिबेला वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकाल सुरु भैसकेको थियो । भारतको गणतन्त्र दिवसको मुख्य अतिथि ओवामा बने । यद्यपी, ओवामाले वासिंगटन फर्केपछि भारतमा धार्मिक आधारमा असहिष्णुता बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको भ्रमण गरेका छन् । ट्रम्प र मोदीको केमेष्ट्रि खुब मिलेको देखिन्छ । दुवै मुलुकका प्रमुखहरु भाषणवाज रहेका छन् । भाषणको कलाबाटै दुई निर्वाचन जितेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । भाषणको कलाबाटै पहिलो निर्वाचन जितेका डोनाल्ड ट्रम्पका लागि भारतीय अमेरिकी मतदाताको खांचो छ । यौटा रोचक विषय त यो छ कि भारतमा स्थिर सरकार भएको बेलामा मात्र अमेरिकी राष्ट्रपतिहरुले नयां दिल्लीको मेजमानी स्वीकार गरेका छन् ।

स्न १९१७ मा भारत महत्वाकांक्षी अमेरिकी रणनीति एसिया प्रशान्त संजालमा प्रवेश गरेपछि भारत र अमेरिकाका कार्यकारी प्रमुखहरुबीच पाँचौं र हैदरावाद हाउसमा पहिलो बृहत् संवाद भएको हो । संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच एसिया प्रशान्त क्षेत्रका मुलुकहरुलाई हेर्ने दृष्टिकोण देखि आतंकवादविरुद्ध सहकार्यसम्मका विषयमा गहन छलफल भएको छ ।

मोदी र ट्रम्पबीच प्रतिनिधिमन्डल स्तरमा भएको छलफलमा भारत–अमेरिकाबीच भएका ६ सम्झौतामध्ये रक्षा सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ । यसैगरी अमेरिकी उत्पादनका मानसिक स्वास्थ्य र मेडिकल उपकरण खरिदसम्वन्धी सम्झौता भएको छ ।

राष्ट्रपति ट्रम्पले चीन संगको ब्यापार युद्धलगतै कतिपय भारतीय उत्पादनहरुमा २ सय प्रतिशत सम्म कर लगाएका थिए । भारतले अमेरीकी उत्पादनका मेडिकल उपकरण, सैनिक समाग्री खरिद गरे त्यस्तो प्रतिवन्धमा पुर्नविचार गर्न सक्ने उनको भनाई रहदैआएको छ । हाल भारत भ्रणमका क्रममा भएका सम्झौताले अमेरिकी माग पुरा गरेको छ भने क्रमशः भारत अमेरिका विच जारी व्यापार शितयुद्ध अन्त्य हुने संकेत गरेको छ । अमेरीकासँग भारतको वार्षिक एक खर्व ४२ अर्ब डलरको व्यापारिक कारोवार हुने गरेको छ भने अमेरिकासँग भारतको वार्षिक २५ अर्ब बराबरको व्यापार घाटा छ ।

यसैले पनि अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा भएको ट्रम्पको भारत भ्रमणको मुल उद्देश्य विश्वको पाँचौ ठुलो अर्थतन्त्रसंग ब्यापार विस्तार र विविधीकरणसँगै दक्षिण र दक्षिणपूर्वी एसियामा आफ्नो प्रभाव थप विस्तार गर्न भारत संगको सहकार्य रहेको देखिन्छ । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले सन्तुलित व्यापार चाहेको उल्लेख गर्दै इन्डो प्यासिफिक क्षेत्रलाई सुरक्षित राख्न भारतसमेत प्रतिबद्ध रहेको बताए । दुवै देशले आतंकवादको अन्त्य गर्न सहकार्य गर्ने बताउँदै ट्रम्पले आफ्नो कार्यकालमा भारतसँग ६० प्रतिशतले व्यापार बढेको बताए ।

चीन लक्षित हुदै ट्रम्पले चिनीयाँ कम्पनी हुवावेको फाईव जी कसैलाई वशमा पार्ने नियतबाट नभई स्वतन्त्रताको लागि हुने पर्ने बताएका छन् । यद्यपी यो विषय छलफलमा मात्र सिमित रहेको देखिएको छ । अर्कोतर्फ मोदी सरकारको मुख्य चासो पाकिस्तानको मामिलामा ट्रम्प थोरै पृथक देखिएका छन् ।

सोमवार मोटेरा किक्रेट रंगशालमा सम्वोधन गर्दै ट्रम्पले पाकिस्तान अमेरिकाको असल मित्र भएको र आतंकवाद विरुद्धको लडाईमा पाकिस्तानले अमेरिकासंग घनिष्ट सहकार्य गरेको बताएका थिए । हैदरावाद हाउसमा मोदिसंग भेटवार्ता र त्यस पछि आयोजित पत्रकार सम्मेलनमा समेत ट्रम्पले पाकिस्तानको बारेमा यहि भनाई दोहो¥याएका छन् । भारतीय पक्षले पाकिस्तानमाथि आतंकवादलाई प्रश्रय दिईरहेको आरोप लगाउने गरेको सन्र्दभमा ट्रम्पको भनाई निकै महत्वपूर्ण रहेको कतिपय अमेरिकी र पाकिस्तानी संचार माध्यमले विश्लेषण गरेका छन् ।

भारतमा विभिन्न समयमा गरी अमेरिकी राष्ट्रपतिले सात भ्रमण गरिसक्दा पनि भारत स्वतन्त्र भएकै बर्ष सन् १९४७ मा अमेरिकासँग कुटनीतिक सम्बन्ध स्थापना भएको नेपालमा भने आजसम्म कुनै पनि अमेरिकी अमेरिकी राष्ट्रपतिले भ्रमण गरेका छैनन् । नेपालले कूटनीतिक सम्बन्ध गाँसेको बेलायतपछि दोस्रो मुलुक अमेरिका हो । राजा महेन्द्रको शासनकालमा सन १९७० को जनवरीमा तत्कालीन अमेरिकी उपराष्ट्रपति स्पिरो एगन्यु नेपाल भ्रमणमा आएका थिए।

उनी अहिलेसम्म नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन । त्यतिबेला उपराष्ट्रपतिलाई युवराज सरहको मर्यादा दिएर तत्कालीन युवराज वीरेन्द्रले स्वागत गरेका थिए । परराष्टविद्हरु अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन नेपालका तर्फबाट पर्याप्त पहल नपुगेको बताउँछन् । त्यसो त नेपालले नचाहेर शीर्ष अमेरिकी अधिकारीको भ्रमण नभएको भने होइन । तर त्यसका लागि जति पहल र पहुँच हुनुपर्ने हो त्यो पुगेको देखिँदैन । यो हाम्रै तर्फको कमजोरी हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com