पाल्पाका महिला आलु खेतीतिर आकर्षित


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

पाल्पाका महिला सामूहिक आलुखेतीतर्फ आकर्षित बन्दै गएका छन् । जिल्लाको माडीफाँट, हुँगीफाँट, दोभान, अर्गली, कचल, रामपुरलगायतका क्षेत्रमा बढी मात्रामा आलुखेती गरिए पनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा समूहमा महिला मिलेर आलुखेती गर्नाले राम्रो आम्दानी हुने भएपछि यसतर्फ आकर्षित हुने गरेको महिला नै बताउँछन् ।

भू–बनावट र मिलेर रहेका समथर जमीन तथा बालुवा र माटो मिसिएको बलौटे माटो आलु उत्पादनका राम्रो हुने कृषि प्राविधिकको भनाइ छ । जिल्लाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका तथा मदनपोखरा माडी क्षेत्रमा पनि महिलाले सामूहिक आलु लगाउन थालेका छन् । पूर्वखोला गाउँपालिकामा गठित शुभसन्देश महिला समूहका अध्यक्ष चद्रीसरा सारुले गत वर्ष पूर्वखोलाको ५४ रोपनी जमीनमा ५० क्विन्टल आलु रोपेर २०० क्विन्टल आलु उत्पादन गरेको बताइन् । आलुबाट राम्रो आम्दानी भएपछि आलुखेती गर्न हौसला मिलेको सारुको धारणा छ । त्यस्तै रामपुर नगरपालिकाको अन्य वडामा भन्दा रामपुर–६ मा समूहमा आलु लगाउने १० महिला समूह छन् । रामपुरमा करीब नौ वर्षअघि गठन भएको रामपुर नगरपालिकाको नदीकिनार आयआर्जन महिला समूहले विगतदेखि नै समूहमा मिलेर धान, मकैलगायतका खेती गर्ने गरेको अध्यक्ष भगवती देवकोटाले बताइन् । नदी किनार समूहले गत वर्ष आलुखेतीबाटै रु ५० हजार आम्दानी गरेको जनाएको छ ।

समूहका उपाध्यक्ष हुमा देवकोटाले सामूहिक खेती गर्न सजिलो भएको र रमाइलो भएकाले ६० वर्ष पुग्दा पनि दुई समूहमा आबद्ध भएर आलुखेती गरेको जानकारी दिइन् । उनले यसपालि पनि नौ रोपनी जग्गामा आलुखेती गरेको र बिक्रीका लागि समेत समस्या नभएको बताइन् । गत वर्ष खेतबाटै आलु बिक्री भएको भन्दै धेरै खेती गर्‍यो भने आलु किन्ने ग्राहक खेतमै आउने देवकोटाले बताइन् । माटोको अवस्था हेरेर कृषिको विकासविना समृद्धि असम्भव भएको भन्दै कृषिलाई तह छुट्याएर महिलालाई उत्साहित गर्दै आलुखेतीमा यस वर्ष बढी जोड दिइएको वडाध्यक्ष हुमनाथ न्यौपाने बताउँछन् । केराखेती, मौरीपालन, बाख्रापालनलगायत कृषिमा अनुदानमा सहयोग गर्दै आएको वडामा १७ कृषकले झण्डै ४० रोपनी क्षेत्रफलमा केराखेती, ६८ कृषक तथा १० समूहले सामूहिक आलुखेती, २७ कृषकले मौरीपालन, १०० केजी मासु उत्पादन गर्ने कृषकलाई अनुदान दिने गरी बाख्रापालनमा कृषकलाई प्रोत्साहित गरेको छ ।

रामपुर नगरपालिकाले यसक्षेत्रलाई आलुको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य पनि लिएको छ । रम्भा गाउँपालिकामा पनि गाउँमै शीतभण्डारण केन्द्र भएपछि गाउँपालिकाबाटै अनुदानमा आलुको बीउ धेरै कृषकले रोपेका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वडा नं १ देखि ५ सम्मका सबै वडामा कृषकको मागलाई मध्यनजर गर्दै ३८५ क्विन्टल कार्डिनल जातको आलुको बीउ प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिइन् । आलु लगाउनका निम्ति वडा नं १ मा छ, वडा नं २ मा १०, ३ मा नौ, ४ मा १३ र वडा नं ५ मा आठ समूहले आलुको बीउ लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आलु पकेट क्षेत्रका रूपमा विकास गर्दै आलुबाट आयआर्जन वृद्धि गराउने र कृषकलाई आत्मनिर्भर गर्ने उद्देश्यले ढुवानी खर्चसमेत गाउँपालिकाले व्यहोरेर आलु कृषकलाई दिइएको अध्यक्ष भण्डारीको भनाइ छ । रम्भा गाउँपालिकाको हुँगी, फोक्सिङ्कोट, पिपलडाँडा, हुमिन र ताहुँ क्षेत्र आलु उत्पादनका लागि राम्रो मानिन्छ । पाल्पाका विभिन्न स्थानमा पुरुष कृषकको तुलनामा महिला कृषक बढ्दै गएका छन् । धेरैजसो महिला घरको कामधन्दामा व्यस्त हुने र आयआर्जन नहुने हुँदा कृषि काम गरेर राम्रो आम्दानी भएपछि आलुखेती गर्न उत्साहित बनेको महिलाहरुकै धारणा छ । – रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com