‘इरानले रसियामा बनेको मिसाइलबाट युक्रेनी जहाज खसाल्दा १७६ को मृत्यु’


प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार

इरानमा १७६ को ज्यान जानेगरी भएको युक्रेनको जहाज इरानले खसालेको क्यानडाको जासुसीले पत्ता लगाएको क्यानेडियन प्रधानमन्त्री जस्टिन टु्रडोले दावी गरेका छन् । इरानले रसियामा बनेको मिसाइलबाट उक्त जहाज खसालेको जनाइएको छ ।

किभका लागि उडेको युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सको जेट बुधबार तेहरानबाट उडेको केहीबेरमा नै दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ८२ जना इरानीहरु थिए भने ६३ जना क्यानेडियनहरु थिए । ११ युक्रेनी, १० स्वीडेस, ४ अफगानी, तीनजना जर्मन र ३ जना बेलायती नागरिकको पनि दुर्घटनामा निधन भएको थियो ।

क्यानडाका प्रधानमन्त्री टु्रडोले उक्त जहाज इरानले खसालेको दावी गर्दै कडा अनुसन्धान हुनुपर्ने बताएका छन् । इरानका अधिकारीहरुले विमानको ब्ल्याक बक्स इरानबाहिर लैजान नदिने बताएपछि क्यानडाका प्रधानमन्त्रीको प्रतिकृया आएको हो ।

उक्त जहाज इरानले आशयका साथ नखसालेको भएपनि दुर्घटनावश खसालेको हुनसक्ने जनाइएको छ । उक्त जहाज रसियामा बनेको मिसाइलबाट खसालेको भने अमेरिकी जासुसीसंस्था सम्बद्ध एक अधिकारीले बताएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com