अमेरिकाभर सुरक्षा व्यवस्था कडा, न्युयोर्कमा बढाइयो सुरक्षा गस्ती


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

इरानका उच्च सैन्य अधिकारी अमेरिकी कारवाहीमा मारिएपछि बढेको तनावका कारण अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । इरानले अमेरिकासँग बदला लिने चेतावनी दिइरहँदा अमेरिकाका न्युयोर्क लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

न्युयोर्कको टाइम्स स्क्वायर र आसपासका क्षेत्रहरुमा हतियारसहित सुरक्षा गस्ती बढाइएको छ । अमेरिकाको बिरुद्धमा इरान वा त्यसका आतंकवादी सहयोगीहरुले नोक्सान पुराउनका लागि गर्ने प्रयासबाट न्युयोर्कका मुख्य स्थानहरुलाई जोगाउने न्युयोर्कमा मेयर बिल डे ब्लाजिओले बताएका छन् ।

इरान समर्थित हिजबुल्लाह लडाकु समुहको अमेरिकामा समेत स्लीपर सेलहरु हुनसक्ने आशंका गरिएको छ । यो संगठनलाई अमेरिकाले आतंकवादी संगठनका रुपमा तोकेको छ । इरानसँगको अमेरिकी सम्बन्धका कारण उक्त संगठनका स्लीपर सेलबाट अमेरिकाभित्र आक्रमण हुनसक्ने आशंकाका साथमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सीआईएका पूर्व अपरेशन अफिसर साम फडिडिसले हिजबुल्लाहका स्लीपर सेलहरु अमेरिकामा लुकेर बसेका र उनीहरुले विभिन्न स्थानलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन् ।

न्युयोर्क सिटी अमेरिकामा आतंकवादीहरुको पहिलो निशाना रहेको कसैले स्मरण गराउनु नपर्ने भन्दै मेयर ब्लाजिओले सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com