फिलिपिन्समा आँधीबाट ४१ को मृत्यु


प्रकाशित मिति : पुस १३, २०७६ आईतबार

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेका जनाइएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराईरहेको र उनीहरुको खोजी भइरहेको जानकारी दिनुभयो ।
प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो । कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीहरुले जनाएका छन् ।

त्यसैगरी सडक र विमानस्थलहरुमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्द गरिएको थियो । खोजी उद्धारमा संलग्न अधिकारीका अनुसार फिलिपिन्सको मध्यभागमा पर्ने भिसायासमा आँधी आएको हो ।

फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीमध्ये सबैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा सात हजार ३०० जनाको मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com