नेपालबाट दुई सय ८० चिनियाँ नागरिक निकालिए, यस्तो छ कसुर


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै अवैध गतिविधिमा संलग्नता ह्वात्तै बढेको छ । एक वर्षमा नेपालले दुई सय ८० चिनियाँलाई पक्राउ गरी  निकालिएको छ ।

अध्यागमन विभागका अनुसार सन् २०१९ को डिसेम्बर २३ सम्मको तथ्यांकअनुसार दुई सय ८० जनालाई निष्कासन गरिएको छ । दुई सय ७२ जनालाई अवैध रूपमा नेपालमा बसेको र अन्य आठ जनालाई विभिन्न अपराधमा संलग्न भएपछि जेल भुक्तान गरी चीन फर्काइएको हो । अपराधको प्रकृति हेरेर निश्चित समयसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

पर्यटक भिसामा विदेशीले नेपालमा एक वर्षमा अधिकतम एक सय ५० दिन मात्र बस्न पाउँछन् । तर, ठूलो संख्यामा चिनियाँहरू नियम मिचेर नेपालमा वर्षाैँसम्म लुकेर बसेको समेत पाइएको अध्यागमनको अनुसन्धानबाट खुलेको छ । ‘पर्यटक भिसामा आएर उनीहरू अवैध गतिविधिमा संलग्न छन्,’ विभागका एक अधिकारी भन्छन्, ‘निष्कासन गरिएकाहरूको संख्या थोरै हो, अवैध गतिविधिमा संलग्नहरूको संख्या अझै धेरै छ ।’

खासगरी नेपालले चिनियाँलाई भिसा शुल्क नलाग्ने निर्णय गरेपछि आगमन बढेको हो । नेपाल आउने पर्यटकमा भारतीयपछि चिनियाँ पहिलो नम्बरमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com