नागरिकता विधेयकले भारतमा आन्दोलन, कतिपय राज्यमा कर्फ्यु


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ ।

पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा नै फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू नै लगाइएको छ । प्रदर्शनकारीले रेल स्टेशनमै तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरु कर्फ्युको अवज्ञा गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिपुरामा पनि प्रदर्शन थालिएको छ ।

स्थानीय प्रशासनले सेना परिचालन गर्नेसम्मको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय अर्धसैनिक बल र राज्य सुरक्षा बल तैनाथ गरिएको छ । रेल स्टेशनहरुमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।

आसाममा दंगा भड्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आसामी जनताको भाषा, संस्कृति र आधिकार कसैले पनि खोस्न नसक्ने भन्दै शान्त रहन अपील गरेका छन् । लोक र राज्यसभा दुबैको बहुमतले नागरिकता विधेयक पारित गरेको हो । बुधबार राज्यसभाको १२६ सांसद पक्ष र १०५ सांसद विपक्षमा उभिएप्छि विधेयक पारित भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो कानुनले वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य हुने दाबी गरिरहँदा प्रतिपक्षी कांग्रेसले भारतीय संविधानको मूल मर्ममै प्रहार गरेको आरोप लगाएको छ । प्रतिपक्षी कांग्रेसले मात्र नभई ६ सयभन्दा बढी भारतीय लेखक, कलाकार, सिनेकर्मीलगायतले विधेयकले भारतीय लोकतन्त्रको धज्जी उडाएको टिप्पणी पनि गरेका छन् ।

नयाँ नागरिकता कानुनले भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिक रुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका मुस्लिमबाहेकका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतीय नागरिकताका लागि बाटो खोलिदिएको छ ।

विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेर भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्था उल्लंघन गरेको बताएका छन् । नागरिकता विधेयक विनाशर्त फिर्ता गर्न प्रदर्शनकारीले माग गरेका छन् । उनीहरुले टायर बालेर सडक यातायात अवरुद्ध पारेका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको जनाइएको छ । दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनमा साहित्य, कला र सँस्कृतिसँग जोडिएका मानिसको पनि समर्थन छ ।

लोकसभामा नागरिकता विधेयक पेश गर्नासाथ नर्थ इस्ट स्टुडेन्ट्स् अर्गनाइजेसन ९नेसो० नामक संगठनले १० डिसेम्बरमा गरेको पूर्वोत्तर क्षेत्र बन्द आह्वानमा आसाम, त्रिपुरा, मेघालयसहितका स्थान ११ घण्टासम्म बन्द भएका थिए । बन्दलाई अल आसाम युनियन ९आसु० र अल आसाम गोरखा स्टुडेन्ट्स् युनियन समेतका धेरै संगठनले समर्थन गरेका थिए ।

प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुत्लासमेत जलाएका छन् । गृहमन्त्री अमित शाहले भने धर्मको नाममा राजनीति गर्न खोजेको भन्दै विपक्षीको आलोचना गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com