ट्रम्पबिरुद्धका दुईवटा महाअभियोग प्रस्तावहरु तयार, के छ महाअभियोग प्रस्तावमा ?


प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार

अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका डेमोक्र्याट्सहरुले झण्डै साढे २ महिना लगाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धका दुईवटा महाअभियोग प्रस्तावहरु तयार पारेका छन् । युक्रेनलाई आगामी चुनावका आफ्ना प्रतिस्पर्धी जो बाइडेनमाथि अनुसन्धान गर्न दवाव दिएको र सन् २०१६ को चुनावमा विदेशी हस्तक्षेपबारेको षड्यन्त्रको सिद्धान्तमा दोषी ठहर गर्दै महाअभियोग प्रस्ताव तयार पारिएको हो ।

 

पूर्ण पाठ ।

त्यसलाई राष्ट्रपतिविरुद्ध अघि बढाइएको महाभियोग प्रक्रियाको एउटा प्रमुख कदमको रूपमा हेरिएको छ।डेमोक्रयाटहरूको नियन्त्रण रहेको समितिका प्रमुख जेरोल्ड न्याडलरले सार्वजनिक गरेको पहिलो बुँदामा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ।

दोस्रोमा संसद्को गतिविधिमा बाधा पुर्‍याएको आरोप लगाइएको छ।

राष्ट्रपति ट्रम्पमाथि घरेलु राजनीतिक कारणले युक्रेनलाई दिइने सहायता स्थगित गरेको पनि आरोप लगाइएको छ।

राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको बताउँदै महाभियोग प्रकियालाई पागलपनको सङ्ज्ञा दिएका छन्।

संसद्को न्यायिक समितिले यसै हप्ताको अन्त्यतिर यो प्रस्ताव अनुमोदन गरे त्यो संसद्को तल्लो सदनमा मतदानका लागि प्रस्तुत हुनेछ।

डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदनबाट महाअभियोग प्रस्ताव अनुमोदन भए भने रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटमा महाभियोगसम्बन्धी सुनुवाइ अघि बढ्नेछ।

महाभियोग अघि बढाउने कदमको बचाउ गर्दै न्याडलरले संवाददाताहरूसँग सन् २०२० को राष्ट्रपतीय चुनावको निष्ठामा नै प्रश्न उठेको बताएका थिए।

उनले राष्ट्रपति ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठान्ने गरेको उल्लेख गरे।

युक्रेनका नेतालाई गरेको टेलिफोनमा राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइने सैन्य साहयता आफूलाई राजनीतिक रूपमा लाभ पुर्‍याउने एउटा अनुसन्धानसँग जोडेका थिए।

ती अनुसन्धान अघि बढाइए डेमोक्र्याटहरूले आरोप लगाएअनुसार आफूले कङ्ग्रेसले अनुमोदन गरेको झण्डै ४०० मिलियन डलर बराबरको सैन्य सहायता युक्रेनलाई उपलब्ध गराउने र ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्सकीलाई भेट्ने ट्रम्पले प्रस्ताव गरेका थिए।
डेमोक्रयाटहरूले अमेरिकाको साझेदारमाथि त्यस किसिमको व्यवहार गर्नु शक्तिको दुरुपयोग भएको बताउने गरेका छन्।

राष्ट्रपति ट्रम्पले युक्रेनले पहिलो अनुसन्धान आफूलाई डेमोक्रयाट दलबाट चुनौती दिइरहेका पूर्वउपराष्ट्रपति जो बाइडन र उनका छोरा हन्टरमाथि गरोस् भन्ने चाहेका थिए।

आफ्ना बुवा ओबामा शासनकालमा उपराष्ट्रपति हुँदा हन्टर युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा थिए।

ट्रम्पको दोस्रो माग युक्रेनले एउटा सनसनीपूर्ण झूटा विवरण तयार पारोस् भन्ने थियो जसले अघिल्लो राष्ट्रपतीय चुनावमा रुसले नभई युक्रेनले हस्तक्षेप गरेको देखाओस् भन्ने रहेको बताइन्छ।

अहिलेसम्म अमेरिकी गुप्तचर निकायले मस्कोले सन् २०१६ मा डेमोक्र्याटिक दलको ईमेल ह्याक गरेको सर्वसम्मत रूपमा बताउने गरेका छन्।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com