अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने यस्ता छन् प्रमाण


प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन पर्याप्त प्रमाण भेटिएको उनीविरुद्ध महाअभियोगको अनुसन्धान गरिरहेको एउटा समितिले जनाएको छ । राष्ट्रपति ट्रम्पले राष्ट्रिय स्वार्थभन्दा आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई माथि राखेको संसद्को तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभको गुप्तचरसम्बन्धी हेर्ने समितिले जनाएको हो ।

आगामी २०२० मा हुने राष्ट्रपति निर्वाचनमा पुन विजयी हुन ट्रम्पले युक्रेनलाई हस्तक्षेप गर्न प्रोत्साहन दिएको र न्यायमा अवरोध पुयाएको समितिको आरोप छ । ट्रम्पले साक्षीलाई तर्साउन खोजेको आरोपसमेत सो समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । तर, ट्रम्पले आफूले कुनै गलत कार्य नगरेको बताउँदै आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।

समितिले प्रतिवेदन सार्वजनिक गर्नुअघि ट्रम्पले सो अनुसन्धानलाई देशद्रोही बताएका थिए । प्रतिवेदन सार्वजनिक भएपछि ह्वाइटहाउसका प्रेस सेक्रेटरी स्टेफेन ग्रिसामले डेमोक्र्याटले ट्रम्पविरुद्धको प्रमाण सार्वजनिक गर्न विफल भएको आरोप लगाउँदै प्रतिवेदनमा डेमोक्र्याटको आक्रोशबाहेक अरू केही नभएको बताए । प्रतिवेदनलाई सदनको न्यायिक समितिमा पठाइएको छ र समितिले बुधबारदेखि नै सुनुवाइ सुरु गर्दै ट्रम्पमाथि औपचारिक रूपमा अभियोग लगाउने विषयमा छलफल गरिरहेको छ ।

के भनिएको छ प्रतिवेदनमा ?
संसद्को तल्लो सदनको गुप्तचर मामिला हेर्ने समितिले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको थियो । ट्रम्प–युक्रेन अभियोग अनुसन्धान नाम दिइएको सो प्रतिवेदनअनुसार सन् २०२० को राष्ट्रपति निर्वाचनमा पुनः विजयी हुन ट्रम्पले विदेशी हस्तक्षेप गुहारेर महिनौँदेखि आफ्नो पदको दुरुपयोग गरेका छन् । ‘राष्ट्रपति ट्रम्पका गतिविधिले युक्रेनसँगको अमेरिकी विदेश नीतिलाई चुनौती दिएको छ र हाम्रो राष्ट्रिय सुरक्षालाई नजरअन्दाज गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति जोई बाइडेनमाथि अनुसन्धान गर्न आह्वान गरेका छन् । यो प्रतिवेदन ट्रम्पलाई पदमुक्त गर्न आधार तयार पार्ने हिसाबले आएको छ । दुई महिनाभन्दा धेरै समयदेखि संकलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ ।

अब के हुन्छ ?
गुप्तर समितिले सार्वजनिक गरेको प्रतिवेदनलाई तल्लो सदनको न्यायिक समितिमा पठाइएको छ । न्यायिक समितिमा त्यसबारे बुधबारदेखि छलफल सुरु भएको छ । ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा समितिले निर्णय गर्नेछ । ट्रम्पमाथि पद दुरुपयोग, न्याय प्रणालीमा अवरोध र कंग्रेसको निन्दा गरेको लगायतका आरोपमा अभियोग लगाउने विषयमा छलफल भएको छ ।

प्रतिवेदनको निष्पक्षतामाथि प्रश्न उठाउँदै ह्वाइटहाउसले सुनुवाइमा सहभागी हुन अस्वीकार गरेको छ । डेमोक्र्याटले तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा यसै वर्षको अन्त्यसम्ममा महाअभियोगबारे मतदान गर्न इच्छुक देखिएका छन् । तल्लो सदनबाट पारित भएपछि माथिल्लो सदनमा पेस हुनेछ ।.एजेन्सी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com