४२० को मृत्युपछि इराकमा प्रधानमन्त्रीको राजिनामा संसदबाट स्वीकृत, अब के होला ?


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

सरकारविरोधी प्रदर्शनमा झण्डै ४ सय २० को मृत्युपछि इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीको सरकारले संसदमा पेश गरेको राजीनामालाई संसदले आइतबार स्वीकृत गरेको छ ।

आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि खासगरी सिया समुदायका धर्मगुरू ग्राण्ड आयातोल्लाह अली सिस्तानीले राजीनामा दिन प्रधानमन्त्रीलाई दवाब दिएपछि प्रधानमन्त्री मेहदीले संसदमा राजीनामा पेश गर्नुभएको हो । “उहाँको राजीनामालाई संसदले स्वीकृत गरेको छ,” सभामुखले सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा बताउनुभयो ।

इराकमा करिब दुई महिनादेखि राजधानी बग्दाद तथा मुलुकको दक्षिणी क्षेत्रमा भएका आन्दोलनका क्रममा ४२० जनाको मृत्यु भएको छ ।

पछिल्लो समय भ्रष्टाचारविरोधी अभियान सशक्त बन्दै गएपछि मेहदीले संसदमा आफ्नो राजिनामा पेश गर्ने र संसदको निर्णय आफूले मान्ने गत शुक्रबार घोषणा गर्नुभएको थियो ।

इराकी संसदले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेपछि सभामुखले नयाँ प्रधानमन्त्रीका लागि कानूनी प्रक्रियालाई छिट्टै अघि बढाउने बताउनुभएको छ ।

उहाँले छिट्टै राष्ट्रपति बर्हाम सालेहलाई भेटी नयाँ प्रधानमन्त्री नियुक्त गर्न औपचारिक अनुरोध गर्ने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com