थ्यांक्सगिभिङमा यसरी सुटुक्क अफगानिस्तान पुगे ट्रम्प


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थ्यांक्सगिभिङमा सुटुक्क अफगानिस्तान पुगेर फर्केका छन् । थ्यांक्सगिभिङको पूर्व सन्ध्यामा ट्रम्प फ्लोरिडाको मार ए लागोबाट सुटुक्क अफगानिस्तानतिर लागेका थिए ।

झण्डै १६ घण्टाको यात्रापछि उनी पहिलोपटक अफगानिस्तान पुगे । यो उनको युद्धग्रस्त क्षेत्रमा दोश्रो भ्रमण हो । नयाँ वर्षको पूर्व सन्ध्यामा उनी यसैगरी इराक पुगेका थिए ।

१६ घण्टाको यात्रापछि काबुलमा उनले अमेरिकी सेनामाझ तीनघण्टा बिताएका थिए । बिहिबार दिउसो २ बजेमात्र ट्रम्पसँगै गएका पत्रकारहरुलाई उनको यात्राबारे समाचार सार्वजनिक गर्न अनुमति दिइएको थियो । त्यसपछि ट्रम्पले अफगानिस्तान छाड्नु केही मिनेट अगाडिमात्र ट्रम्पको भ्रमणबारे समाचार सार्वजनिक भएको थियो ।

हिजो बेलुका फ्लोरिडाको मार ए लागो रिसोर्टबाट अवेरतिर सुुटुक्क निस्केका ट्रम्प अज्ञात राखिएको विमानस्थलबाट सैनिक जहाजमा वासिंटन डिसी आएका थिए । फ्लोरिडामा रहेको एयर फोर्स वान त्यही छाडेर उनी वासिंटन डिसीमा रहेको दोश्रो एयरफोर्स वान जहाजमार्फत हिजो बेलुका साढे १० बजे अफगानिस्तानतिर लागेका हुन् ।

यात्रालाई गोप्य राख्न एयरफोर्स वानमा रहेको पत्रकारको टोली र ह्वाइट हाउसका कर्मचारीहरुको फोन र विद्युतीय उपकरणहरु नियन्त्रणमा लिइएको थियो । एयरफोर्स वानको झ्यालहरु बन्द गरिएको थियो भने भित्रको बत्ति समेत निभाइएको थियो ।

जहाजभित्र रहेका पत्रकारहरुलाई कहाँ जाँदैछौं भन्नेबारे पनि थाहा थिएन । जब अफगानिस्तान पुग्न २ घण्टामात्र बाँकी थियो तबमात्र पत्रकारहरुले अफगानिस्तानको यात्रा रहेको पत्तो पाएका थिए ।

ट्रम्पको जहाज स्थानीय समय अनुशार राती ८ बजेर ३३ मिनेट जाँदा अफगानिस्तानमा अवतरण गरेको थियो । त्यतीबेला झ्यालका पर्दाहरु लगाइएको थियो भने भित्रको बत्ति पनि निभाइएको थियो ।

विहिबार विहान डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्टबाट थ्यांक्सगिभिङको शुभकामना पोष्ट गरिएको थियो । उनको भ्रमणबारे कतै आशंका नहोस् भनेर उक्त ट्वीट पहिले नै तालिकामा राखिएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com