अल्बानिया भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

अल्बानियामा दुई दिन पहिले गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर तथा भवनहरू भत्किएर भग्नाबशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहानै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि एकभन्दा साना ठूला पराकम्पनहरू गएका छन् । अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् ।

अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ । बुधबार राति भग्नाबशेषबाट छ मृत शरीर निकालिएसँगै मृत्यु हुनेको सङ्ख्या ४० पुगेको सरकारले जनाएको छ ।

सरकारले भग्नाबशेषमा गरिएको उद्धारबाट कसैलाई जीवित पाउनसक्ने विश्वास क्षीण भएको छ । यद्यपि डुरेसमा उद्धार खोजी जारी राखिएको छ तर देशका अन्य भागमा भने भूकम्पपछि वेपत्ता भएका भनिएका सबैलाई जीवित तथा मृत अवस्थामा भेटिसकिएको भन्दै उद्धारको काम रोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अल्बानिया भूकम्पका कारण ६५० जनाभन्दा बढी घाइते भएका छन् भने घर तथा आवास भत्किएका कारण करिब दुई हजार १०० नागरिकले दुई दिनदेखि पालमुनि रात विताउन बाध्य भएका बताइएको छ ।

अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पपछि पनि पाँच म्याग्निच्युडका पराकम्पन आउँदा थप घरहरू भत्किने क्रम जारी हुँदा उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको छ ।

बाल्कन मुलुकमा गएको भूकम्पमा छिमेकी यूरोपेली मुलुकहरूबाट खोजी तथा घरबारबिहीनलाई राहत तथा सहयोग पु¥याउने काम भएको छ । भूकम्पपछि तत्काल उक्त क्षेत्रमा उद्धारकर्मी, उद्धारका लागि विशेष सामग्री, तालिमप्राप्त कुकुर तथा आपतकालीन सामग्रीहरू आपूर्ति गरिएको थियो ।

अल्बानियाका अधिकारीले क्षति भएका घर तथा भवनहरूमा प्राविधिक (इन्जिनियर)ले परीक्षण नगरेसम्म प्रवेश नगर्न आग्रह गरेका छन् ।

अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाउनुभएको थियो । उहाँले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिनुभयो ।

रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गर्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com