भाइरल तस्बिर, जसले भारतीयको ध्यान तान्यो


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

एजेन्सी/ भारतको दक्षिणी सहर हैदराबादमा एउटा विद्यालयको कक्षामा चिहाउँदै गरेकी एक बालिकाको तस्बिरले सम्पूर्ण भारतीयको ध्यान तानेको छ । सुकुम्बासी बस्तीकी ती बालिकाको तस्बिर भाइरल बनेपछि उनलाई विद्यालय भर्ना गरिएको छ ।

दिव्या नाम गरेकी ती बालिकाले एउटा हातमा भाँडो समाएर एक स्थानीय सरकारी विद्यालयको एउटा कोठा चिहाएको तस्बिर सार्वजनिक भएको थियो । मन नै छुने सो तस्बिरलाई तेलगु भाषाको एउटा पत्रिकाले यही नोभेम्बर ७ मा प्रकाशित गरेको थियो । तस्बिरको क्याप्सनमा लेखिएको थियो, हंग्री गेज अर्थात् एकोहोरो भोको हेराइ ।

तस्बिरले तत्कालै मानिसको ध्यानाकर्षण गरेको थियो । एक बाल अधिकारवादी कार्यकर्ताले सो तस्बिरलाई फेसबुकमा पोस्ट गर्दै ‘अर्की बालिका खाना र शिक्षाको अधिकारबाट वञ्चित छिन्’ लेखेका थिए । सो तस्बिरको प्रभाव यति गहिरो रह्यो कि भोलिपल्टै विद्यालयले बालिकालाई भर्ना गर्‍यो ।

तर, फोटो र त्यसले निम्त्याएको आक्रोशप्रति बालिकाका अभिभावकको चित्त बुझेको छैन । ‘तस्बिर देख्दा मलाई निकै दुःख लाग्यो,’ बालिकाका बाबु लक्ष्मणले भने, ‘दिव्याका अभिभावक हामी हाैं । उनलाई भविष्य सुन्दर बनाउन हामीले कडा मिहिनेत गर्दै आएका छौँ । तर, उनलाई एउटा भोकी टुहुरी बालिकाको रूपमा चित्रित गरियो ।’ दिव्या ६ वर्ष पुगेपछि आफूले अन्य दुई छोरीहरू पढिरहेको विद्यालयमा भर्ना गर्ने योजनामा रहेका लक्ष्मणको भनाइ छ । लक्ष्मण र यशोधाका एक छोरा पनि छन्, उनले बाबुलाई सहयोग गर्दै कलेज पढिरहेका छन् ।

दिव्या र उनका अभिभावक हैदराबादको मुटुमा रहेको व्यस्त बजारबाट केही मिटर टाढा रहेको एउटा एककोठे झुप्रोमा बस्छन् । उनीहरू बसेको बस्ती सरकारी विद्यालयबाट एक सय मिटर टाढा छ, जहाँ दिव्याको तस्बिर खिचिएको थियो ।

सो क्षेत्रमा बसोवास गर्ने ३०० परिवार मजदुरी गर्छन् भने उनीहरूका सन्ताननजिकैका विद्यालयमा पढ्छन् । उनीहरूको बस्तीवरपर सिसा र प्लास्टिकका थुप्रा राखिएका छन्, जुन पुनः प्रयोगका लागि बिक्री हुन्छन् ।

लक्ष्मण र उनकी श्रीमती यशोधाले प्रतिमहिना १० हजार भारतीय रुपैयाँ कमाउँछन्, जुन रकम उनीहरूको खाना र लुगा खर्चमा सकिन्छ । तर, उनीहरूका सन्तान सरकारी विद्यालयमा भर्ना गरेकाले विद्यालय शुल्क तिर्नुपर्दैन ।

लक्ष्मण स्वयं ठूलो संघर्षबाट त्यो अवस्थामा पुगेका हुन् । उनी सानै हुँदा बाबुआमाको मृत्यु भएको थियो । तर, सन्तानलाई भने आफूले दुःख काटेर भए पनि सुख दिने उनको चाहना छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com