सञ्चारमाध्यममा सेयर हाल्ने सांसदको पद खोसियो


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

  थाइल्यान्डमा सरकारविरुद्ध कडा रूपमा प्रस्तुत भएर लाखौँ युवा समर्थकलाई आफ्नो पक्षमा तान्न सफल एक अरबपति सांसदमाथि चुनावसम्बन्धी कानुन उल्लंघन गरेको अभियोग लागेको छ ।

फ्युचर फरवार्ड पार्टीका थनाथ्रोन जुआनले एउटा सञ्चार कम्पनीमा सेयर हालेर कानुन उल्लंघन गरेको त्यहाँको संवैधानिक अदालतले जनाएको छ । अदालतको फैसलासँगै उनी संसद् सदस्यका लागि अयोग्य भएका छन् । यसै वर्षको २४ मार्चमा सम्पन्न निर्वाचनमा उनी विजयी भएका थिए ।

आफूमाथि लागेका अभियोग राजनीतिक ढंगले अभिप्रेरित भएको जुआनले गुनासो गरेका छन् । चुनावमा आफूले उम्मेदवारी दर्ता गर्नुअघि भी–लक– मेडिया कम्पनीमा रहेको आफ्नो सेयर आमालाई बिक्री गरेको उनले बताएका थिए । तर, त्यसलाई प्रमाणित गर्ने आधार नभएको अदालतले जनाएको छ ।

उनलाई अदालतले कैद फैसला र आगामी दिनमा सार्वजनिक कार्यालयमा प्रतिस्पर्धा गर्नबाट भने वञ्चित गरेको छैन, तथापि उनको ‘राजनीतिक करिअर’लाई लिएर जुआनका समर्थक आक्रोशित बनेका छन् ।

मार्चमा सम्पन्न  संसदीय निर्वाचनमा ६२ लाख मतसहित फ्युचर फरवार्ड पार्टी तेस्रो बनेको थियो भने सेनाको प्रभाव रहेको सरकारमा जुआन विपक्षीहरूको साझा आवाज बनेका थिए । प्रायः कुको सिकार हुने थाई राजनीतिमा सेनाको भूमिकाको उनी प्रखर आलोचक थिए । तर, हालै भएको निर्वाचनले प्रायुथ चान ओचारको पाँच वर्ष लामो सैनिक शासन समाप्त गरेको थियो । तथापि उनै ओचा नागरिक प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका छन् ।

सरकारमा सेनाको भूमिकालाई लिएर फ्युचर पार्टीले बारम्बार विरोध गर्दै आएको थियो । पार्टीले थाई राजतन्त्रको समेत आलोचना गरेको थियो । थाइल्यान्डमा राजा र राजतन्त्रविरुद्ध बोल्न प्रतिबन्ध छ ।

अक्टोबरमा सेनाका दुई एकाइलाई वर्तमान राजा महा भाजिरलोङकर्नको प्रत्यक्ष नियन्त्रण रहने शाही घोषणाप्रति फ्युचर फरवार्डआबद्ध ७० सांसदले विरोध जनाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com