राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि (फाेटाेफिचर)
प्रकाशित मिति : फाल्गुन २९, २०७३ आईतबार
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उनका ७२ वर्षीय पिता खेमलाल गौतमले दागबत्ती दिए । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए ।
यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समय अभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो ।
नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए । रासस, कञ्चनपुर