ट्रम्प र पाकिस्तानी प्रधानमन्त्रीबीच फोनवार्ता, अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्ता


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ ।
यस वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप प्रक्रियाको प्रगतिमा इस्लामाबादको प्रतिबद्धता पुनः व्यक्त गर्नु भएको छ ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ट्रम्पले पाकिस्तानलाई अमेरिकी र अष्ट्रेलियाका प्राध्यापक केभिन किङ् र तिमोथी वीकसलाई रिहागर्न सहयोग पु¥याएकोमा पाकिस्तानले गरेको प्रयासको लागि धन्यवाद दिनुभएको छ ।

यी दुई प्राध्यापकलाई गत तीन वर्षयता तालिबान लडाकू समूहले अपहरण गरेका प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ती दुई प्राध्यापकलाई तालिबानले उक्त समूह र अफगान सरकारबीच भएको एक सम्झौताअनुसार रिहा गरेका थिए । सोही सम्झौताअनुसार सोमबार साँझ अनास हक्कानीसहित तीन आतङ्कवादीलाई बग्राम जेलबाट रिहा गरिएको थियो ।

सन् २०१६ मा काबुलमा अवस्थित अमेरिकी विश्वविद्यालयबाहिर ती प्राध्यापकहरूलाई अपहरण गरिएको थियो, जहाँ दुवै प्राध्यापकले प्राध्यापन गर्ने गर्दथे ।

अफगानिस्तान सरकारले रिहा गरेका ती आतङ्ककारीहरू हक्कानी नेटवर्क समूहका प्रमुख सदस्य अनस हक्कानी तथा वरिष्ठ तालिबानी सदस्यहरू हाजी माली र अब्दुल रशीद हुन् ।

यस बाहेक अन्य द्विपक्षीय र क्षेत्रीय मुद्दाहरुका विषयमा पनि नेताबीच छलफल भएको समाचारमा जनाइएको छ ।

अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ ।

सो भ्रमणको निमन्त्रणा अफगान राष्ट्रपति घानीले स्वीकार पनि गर्नुभएको बताइएको छ । अफगान राष्ट्रपतिको कार्यालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

उक्त विज्ञप्तिकाअनुुसार अफगान राष्ट्रपति घानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले आमन्त्रण गर्नुभएकोमा सो आमन्त्रण स्वीकार गर्नुभएको बताइएको छ ।

हाल अफगान राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहनुभएको छ । त्यस क्रममा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र अफगान राष्ट्रपति घानीबीचको फोनवार्तामा राष्ट्रपति ट्रम्पले आमन्त्रण गर्नुभएको थियो ।

उहाँहरुबीच शुक्रबार बिहान फोनवार्ता भएको र त्यसैक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना अफगान समकक्षीलाई अमेरिका भ्रमणमा आउन आमन्त्रण गर्नुभएको उक्त विज्ञप्तिमा जनाइएको छ ।

त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई जना अमेरिकी प्रध्यापकलाई अफगानिस्तानबाट मुक्त गरिदिएकोमा अफगान राष्ट्रपतिलाई धन्यवाद दिनुभएको थियो ।

त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरुलाई अफगान सुरक्षाफौजले परास्त गर्ने काम गरेकोमा प्रसंशा पनि गर्नुभएको थियो ।

गएका केही महिना यताको अवस्था हेर्दा अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा ठूलो संख्यामा इस्लामिक स्टेट्सका लडाकूहरुलाई यहाँको सुरक्षाफौजले लखेटेको छ ।

केही हप्ता यता यस प्रान्तमा रहेका इस्लामिक स्टेट्सका लडाकूहरु र तिनको परिवारका सदस्यहरु समेत गरी करिब ६०० जनाले सुरक्षा फौजसमक्ष आत्मसमर्पण गरेका छन् ।

यो कार्यको अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गर्नुभएको बताइएको छ । सो टेलिफोन वार्ताका क्रममा अफगानिस्तानको हालको शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

विज्ञप्तिकाअनुसार अफगानिस्तानमा जारी तालिबानहरुको हिंसा र यसको नियन्त्रणका लागि जारी सैन्य गतिविधिहरुका साथ यहाँ कार्यरत अमेरिकी सेनाको विषययमा पनि सो टेलिफोन वार्तामा कुराकानी भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com