श्रीलङ्कामा राष्ट्रपतिले चुने आफ्नै दाजुलाई प्रधानमन्त्री


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनाको घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजिनामा दिनुभएको हो ।

श्रीलङ्का सरकारको सूचना विभागले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षलाई पत्र लेखी पदबाट राजिनामा दिएको जानकारी गराउनुहुनेछ ।

विभागले गोतावाय राजापाक्षलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै राजिनामाको घोषणा गर्नुभएको हो ।

गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षले ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो भने उहाँका प्रतिस्पर्धी प्रेमादासाले ५० लाखभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।

राजापाक्ष प्रधानमन्त्री चयन

श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्नुभएको छ ।

श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गर्नुभएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी दिन लागिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

राजापाक्षको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ ।

गोतावायले राष्ट्रपतिमा विक्रमासिङ्गेको समर्थन पाएका यूनाइटेड नेशनल पार्टीक सजित प्रेमादासालाई करिब १३ लाख मतले पराजीत गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com