तीनपटकका प्रधानमन्त्री सरिफ भ्रष्टाचारीको बिल्लासहित जीवनसँगको संघर्षमा, उपचारका लागि लण्डन


प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई मङ्गलबार उपचारका लागि लण्डन लगिएको छ । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट बेलायतको राजधानी लण्डन लगिएको हो ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उहाँलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उहाँलाई आफ्नै निवासमा अति सघन कक्ष आइसियुमा उपचार भइरहेको थियो ।

तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उहाँलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो ।

जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमती दिएको थियो ।

तीन पटकसम्म देशको प्रधानमन्त्री हुनुभएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरुले बताएका छन् । उहाँका चिकित्सकहरुका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहनु भएको छ ।

उहाँलाई उपचार गर्न विदेश जान दिने की नदिने भन्ने बारेमा लामो समयसम्म छलफल भएपछि सरकारले उहाँको अवस्था थप नाजुक हुदै गएकाले विदेश जान दिने अनुमति दिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com