ट्रम्पबिरुद्धको महाअभियोग छानविनबारेको सुनुवाई भोलि टेलिभिजनहरुमै प्रत्यक्ष प्रशारण


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग छानविनबारेको संसदीय सार्वजनिक सुनुवाई बुधबार पहिलोपटक अमेरिकन टेलिभिजनहरुमा प्रत्यक्ष प्रशारण गरिने भएको छ । अमेरिकी संसदको प्रतिनिधिसभाको छानविन समितिले न्युयोर्क समय अनुशार बुधबार विहान १० बजेदेखि सार्वजनिक सुनुवाईको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

एबीसी, सीबीएस, एनबीसी र पीबीएस लगायतका टेलिभिजन च्यानलले छानविनको प्रत्यक्ष प्रशारण अपेक्षा गरिएको छ भने सीएनएन, फक्स, एमएसएनबीसी लगायतका टेलिभिजनले पनि यो छानविनको विशेष कभरेज गर्ने जनाइएको छ । महाअभियोग अनुसन्धानको सार्वजनिक सुनुवाईको सुरुमा युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूतको बयान लिइने जनाइएको छ ।

त्यसपछि अमेरिकी विदेशमन्त्रालयका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्टको बयान लिइनेछ । बुधबारको सार्वजनिक सुनुवाईपछि अर्को सुनुवाई नोभेम्बर १५ तारिख शुक्रबार गर्ने जनाइएको छ । अनुसन्धानको केन्द्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा युक्रेनका राष्ट्रपतिलाई फोन गरेर जो बाइडेनबारे अनुसन्धान गर्न दवाव दिएको विषय रहेको छ ।

अमेरिकी इतिहासमा महाअभियोग छानविनको सार्वजनिक सुनुवाईको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिन लागेको यो नै पहिलोपटक भने होइन । राष्ट्रपति रिचर्ड निक्सन र बिल क्लिन्टनबिरुद्धको महाअभियोग छानविनको पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । ट्रम्पबिरुद्धको महाअभियोग छानविनको सन्दर्भको प्रत्यक्ष प्रशारण अमेरिकी इतिहासमा तेश्रो हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com