अमेरिकामा १८ वर्षीय नेपाली युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु
प्रकाशित मिति : असार १९, २०७६ बिहीबार
वोस्टनस्थित मेडफोर्ड भन्ने स्थानमा पौडी खेल्ने क्रममा सोमवार साँझ एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । करिब दुई वर्ष अघि मात्र अमेरिकाको वोस्टन आएका १८ वर्षीय अपूर्व देवकोटाको पौडी खेल्ने क्रममा डुबेर मृत्युभएको हो ।
उनी अन्य दुईजना साथीका साथ अपर मिस्टिक लेकमा पौडी खेल्न गएका थिए । पानीमा हामफालेका देवकोटा पानीबाट नउत्रेपछि प्रहरीलाई खबर गरिएको थियो ।
तत्काल आएको प्रहरी र उद्धार टोलीले लगातारको प्रयासपछि करिब दुई घन्टापछि करिब २० फिट गहिरो तलबाट उनको शव बाहिर निकालेको थियो ।
कक्षा १२ पास गरेर उच्च शिक्षाका लागि नजिकैको युनिभर्सिटी अफ म्यासाच्युसेटमा भर्ना भएका देवकोटा आफ्नी आमा र दुई दिदीका साथ मेडफोर्डमा बस्दै आएका थिए ।
नेपालमा उनको स्थायी घर धनगढी भएको बताइएको छ । साथीहरूका अनुसार, उनलाई पौडी खेल्न पनि आउँदैनथ्यो । मेडफोर्ड प्रहरीले उनको मृत्युको अनुसन्धान भइरहेको जनाएको छ ।