जर्मनीमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर पूर्व नर्सलाई आजीवन कैद
प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार
उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ।
न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई ‘ सामान्य बुझाइ भन्दा बाहिर रहेको’ बताएका छन्।
यसअघिनै दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५सम्म उनको संरक्षकत्वमा रहेका मानिसहरूलाई मुटु रोग सम्बन्धी औषधीको घातक मात्रा दिएका थिए।
उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा लिइएको छ।
हुगलले सन् २००५मा एक जना विरामीलाई चिकित्सकले नलेखिदिएको औषधि दिइरहेको बेलामा उनलाई समातिएपछि मात्र उनले त्यसरी बिरामी मार्ने क्रम रोकिएको थियो।
उनलाई सन् २००८मा सात वर्षको जेल सजाय सुनाइएको थियो तर उनले हत्या गरेको आशंका गरेका पीडितका परिवारहरूले थप अनुसन्धानको माग गरेका थिए।
सन् २०१५मा सकिएको दोस्रो सुनुवाईमा दुईजनाको ज्यान लिएको अभियोगमा उनले आजीवन कारावासको सजाय पाएका थिए।
यद्पी त्यसबेला उनले एक जना मनोपरामर्शदातालाई आफूले ३० जनाको ज्यान लिएको बताएका थिए।