यसरी पाइन्छ सजिलै क्यानडाको पीआर भिसा


प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार

नेपालीहरुका लागि क्यानडा प्रमुख गन्तव्यका रुपमा रहेको मुलुक हो । हरेक वर्ष सयौंको संख्यामा नेपालीहरु क्यानडा पुग्ने गर्छन् । त्यहाँ पुग्नेवित्तिकै नेपालीहरुका लागि प्रमुख प्राथमिकता भनेको स्थायी बसोबास अनुमति पत्र (पीआर) कसरी पाउने भन्ने हुन्छ । त्यसका लागि उनीहरु अन्योलमा समेत हुन्छन् ।

क्यानडाले निश्चित मापदण्ड र प्रक्रिया पूरा गरेपश्चात सहजै विदेशी नागरिकलाई पीआर उपलब्ध गराउने गर्छ । क्यानाडाले हरेक वर्ष २ लाख ८० हजार भन्दा धेरै मानिसहरुलाई स्थायी बसोबास अनुमतिपत्र (पीआर) दिँदै आएको छ ।

पीआर कार्ड पाएको मानिसले क्यानाडामा त्यहाँका नागरिकले अधिकांश सामाजिक सुरक्षा सेवा पाउने गरेका छन् । पीआर पाएका मानिसले क्यानाडाको जुनसुकै स्थानमा व्यापार गर्न, भ्रमण गर्न, जागिर खान तथा क्यानाडाको प्रचलित कानूनको अधिनमा रही क्यानाडाका अन्य नागरिकहरुले पाएका अधिकारहरु पाउँछन् भने निश्चित समय क्यानाडाको बसाईपछि क्यानाडाको नागरिकताको आवेदन दिन समेत पाउँछन् ।

उनीहरुले त्यहाँ क्यानाडाका नागरिकहरुले जस्तै संघीय, प्रान्तीय तथा स्थानीय कर तिर्नुपर्छ । उनीहरुले कुनै राजनीतिक गतिविधि गर्न तथा सेक्युरिटी क्लियरेन्स चाहिने किसिमका जागिर भने गर्न पाउँदैनन् । क्यानाडाले पाँच क्याटेगरीमा पीआर दिने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक्सप्रेस इन्ट्री

एक्सप्रेस इन्ट्री प्रक्रिया अनुसार क्यानाडामा पीआर कार्ड पाउन चाहने मानिसले आफ्नो शिक्षा, सीप, व्यक्तिगत योग्यता, अनुभव आधारमा आवेदन दिनुपर्ने प्रावधान छ । यसअनुसार हरेक आवेदकलाई निश्चित अंक दिइने गरिन्छ । क्यानाडाको अध्यागमन निकायले क्यानाडाको आर्थतन्त्रमा कुन पद वा कस्तो योग्यताका मानिसहरुको आवश्यकता छ भनेर निर्धारण गर्छन् ।

श्रम बजारमा कस्तो क्षमताको जनशक्तिको आवश्यकता छ, सोही अनुसार बजारको मागलाई मध्यनजर गरेर आवेदकलाई धेरै वा कम अंक दिइन्छ । क्यानाडाको श्रम बजारमा इन्जिनियर र नर्सहरुको आवश्यकता धेरै छ भने इन्जिनियरिङ र नर्सिङ पढेका आवेदले तथा सोही क्षेत्रमा अनुभव भएका आवेदकले धेरै अंक पाउने सम्भावना हुन्छ ।

यस्तो अवस्थामा आवेदकको वैवाहिक अवस्था तथा भाषिक क्षमतालाई पनि अंक दिइने आधार बनाइने गरिन्छ । यससँगै सबैभन्दा धेरै अंक पाउने आवेदक छिटै पीआर पाउँछन् ।

व्यापारिक अध्यागमन

यस प्रावधान अनुसार क्यानाडामा निश्चित पुँजी लगानी गर्नेलाई पीआर दिने गरिन्छ । निश्चित प्रान्तमा निश्चित पुँजी लगानी गर्नेलाई पीआर दिने गरिन्छ ।

यसका लागि पीआर आवेदकले क्यानाडामा निश्चित मानिसहरुलाई रोजगारी दिने कुनै कम्पनीमा आफ्नो पुँजी लगानी रहेको र त्यस कम्पनीमा आफ्नो मताधिकार सहित निश्चित प्रतिशत शेयर रहेको खुलाउनुपर्छ ।

पारिवारिक अध्यागमन

पारिवारिक अध्यागमन प्रावधान अनुसार क्यानाडामा स्थायी बसोबास गर्ने वा क्यानाडाको नागरिकता लिएका मानिसका नजिकैका परिवारका सदस्यलाई पनि क्यानाडाले पीआर दिने गरेको छ ।

क्यानाडामा पीआर पाइसकेका वा क्यानाडाको नागरिकता पाइसकेका व्यक्तिका श्रीमान् श्रिमती, १८ वर्षभन्दा कम उमेरका छोराछोरी तथा नजिकका आफन्तलाई क्यानाडाले पीआर दिने गर्छ । यसका लागि आफ्ना नजिकका आफन्त क्यानाडामा रहेको र उनीहरुले आफूलाई प्रायोजन गर्ने निश्चित गर्नुपर्छ ।

क्यानेडियन एक्सप्रियन्स क्लास

पछिल्लो तीन वर्षमा कम्तिमा एक वर्ष क्यानाडामा वैधानिक रुपमा काम गरेका जो कोहीले पनि क्यानेडियन एक्सप्रियन्स क्लासअनुसार पीआरको लागि आवेदन दिन सक्छन् ।

यसका लागि फुलटाइम वा सो सरहको पार्ट टाइम रोजगारी गरेको हुनुपर्छ भने वैधानिक रुपमा आफूले क्यानाडामा जागिर खाएको हुनुपर्छ । त्यस्तै, आवेदकको भाषगत दखल पनि उत्कृष्ट हुनुपर्छ । शैक्षिक योग्यता राम्रो छ भने अवश्य पनि पीआर आउने सम्भावना बढी हुन्छ ।

प्रान्तीय मनोनयन कार्यक्रम

प्रान्तीय मनोनयन कार्यक्रम अनुसार कुबेक बाहेकका क्यानाडाका प्रान्तहरुले आ–आफ्ना प्रान्तलाई आवश्यक पर्ने कामदारको निश्चित सूची तयार पार्छन् । यसअनुसार एक्सप्रेस इन्ट्री प्रक्रियामार्फत् आवेदन दिने आवेदकहरुले आफू बसोबास गर्न चाहने प्रान्तको नाम उल्लेख गरेका हुन्छन् ।

यसबाट आवेदकले बसोबास गर्न चाहने प्रान्तहरुले आफूलाई आवश्यक पर्ने तथा आफ्नो प्रान्तमा चाहिएका जनशक्ति आफैँ छानेर लैजान सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com