चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा २ नेपाली पक्राउ
प्रकाशित मिति : माघ १, २०७५ मंगलबार
चोरीको साइकल ट्रेन लिगमा छाडेको अभियोगमा २ नेपाली युवाहरु जापानमा पक्राउ परेका छन् ।
गत महिना २० तारिक टोकियाको इताबासी स्थित तोबु तोजो रेल लाइनको लिगमा साइकल छाडेको अभियोगमा जापान प्रहरीले २ नेपाली युवाहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २१ बर्षिय कमल बस्नेत र २२ बर्षिय सागर बैद्य रहेको जापान प्रहरीलाई उदृत गर्दै आसाही टेलिभिजनले जनाएको छ ।
समाचार अनुसार उनीहरु रक्सिले मातिएका कारण त्यसो गरेको बयान दिएका छन् ।
टोकियो महानगरिय प्रहरीका अनुसार रेलको लिगमा साईकल छाडेका कारण कुदिरहेको लोकल रेललाई आकस्मिक रुपमा रोक्नु परेको थियो । साईकल हटाउन १० मिनेट लागेपछि र सो रेल यात्रामा रहेका हजारौं यात्रुहरु मर्कामा परेका थिए । आकस्मिक रुपमा रोकिएको भएपनि कोही घाइते नभएको समाचारमा उल्लेख छ ।
पक्राउ परेका उनिहरुले उक्त साईकल नजिकैको एक घरबाट चोरी गरेर ल्याई रेलको लिगमा छाडेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुको कार्यप्रति थप अनुसन्धान भैरहेको बताइएको छ ।
स्मरण रहोस् जापानमा कसैका कारणले ट्रेन समयभन्दा ढिला भयो वा अवरुद्ध भयो भने अवरुद्ध समयको हिसाव गरि हर्जाना समेत तिराइन्छ ।






