पर्वतमा भूकम्प गएको साढे दुई वर्ष वितिसक्दा पनि पुनर्निर्माणले गति लिन सकेन
प्रकाशित मिति : २५ माघ २०७४, बिहिबार
माघ २५, पर्वत । साढे दुई वर्षअघिको महाविनाशकारी भूकम्पले भत्किएका गाउँठाउँका भौतिक संरचनाहरु अझै उस्तै छन् । भत्किएका संरचनाको पुनर्निर्माणले अझै गति लिन नसक्नुमा सरकारी ढिलासुस्ती र झन्झटिलो नीतिलाई नै मुख्य कारण मानिएको छ ।
दुई वर्षभित्र पुनर्निर्माण सक्ने सरकारले उद्घोष गरे पनि पर्वतमा यो कागजमा मात्र सीमित हुने सम्भावना बढेर गएको छ ।
करिब ५ हजारभन्दा बढी भूकम्पपीडितको सूची सार्वजनिक भएको पर्वतमा भूकम्प गएको दुई वर्ष पूरा भईसक्दा पनि मुस्किलले एक हजार पनि निजी आवास निर्माणको काम सुरु भएको छैन । अहिलेसम्म कति घर पुनर्निर्माण अन्तर्गत बनिरहेको छ त्यसको पनि तथ्याङक कहीँ कतै पाइदैन ।
पुननिर्माणमा लाभग्राही भनिएका र पूर्ण क्षतिमा गनिएका ५ हजार २ सय ६९ भूकम्प पीडित लाभग्राही सूचीमा समावेश छन् । त्यसमध्ये ४ हजार ६ सय २० परिवारसँग पहिलो किस्ताको अनुदान सम्झौता भईसकेको छ । सरकारी ढिलासुस्ती र झन्झटिलो सरकारी नीतिकै कारण दोस्रो किस्ता प्राप्त गर्नबाट पर्वतमा भूकम्प पीडित वञ्चित भएका छन् ।
प्राविधिकको ढिलासुस्तीका कारण दोस्रो किस्ता पाउनबाट वञ्चित भएका जिससले जनाएको छ । पुनर्निर्माणको काम सन्तोषजनक नभएको र यसो हुनुमा प्राविधिकहरुको आन्दोलन, समयमा पैसा निकासा नहुनु, निर्माण सामग्री सहजै उपलब्ध नहुनुजस्ता अनेकन समस्या जोडिएको पुर्न्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलको भनाइ छ ।
भूकम्प प्रभावित ३१ जिल्लामध्ये सरकारको सुचीमा पर्वत १९ औं स्थानमा समावेश छ । निजी आवास मात्र नभएर जिल्लामा भूकम्पले भत्काएका विद्यालय भवनको पुनर्निर्माणले पनि गति लिन सकेको छैन । भवनको निर्माण नहुँदा विद्यार्थी अझै अस्थायी टहरामा नै पढ्न बाध्य छन् ।
केही संघ संस्थाले विद्यालय पुननिर्माणको काम गरिरहेका छन् । भूकम्पले क्षति भएका सरकारी कार्यालयको अवस्था पनि उस्तै छ । भूकम्पबाट क्षति भएका दर्जनौमध्ये कुनै पनि कार्यालयको पुनर्निर्माणसमेत सुरु हुन सकेको छैन ।





