१० मंसिर २०८३, बिहिबार| Thursday, November 26, 2026
अमेरिका

अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर उपहार दिने एलन मस्कको घोषणा

अन्तरिक्षमा डेटा सेन्टर स्थापनाका लागि १० लाख स्याटेलाइट प्रक्षेपण गर्ने स्पेसएक्सको प्रस्तावले अमेरिकी नियामक निकायबाट स्वीकृति पाएको केही घण्टामै प्रत्येक अमेरिकी बालबालिकालाई दुई-दुई कित्ता सेयर उपहार दिने घोषणा गरिएको हो ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: SpaceX/ Unsplash

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ को दुई-दुईवटा सेयर उपहार दिने योजना सार्वजनिक गरेका छन् । प्रविधि क्षेत्रमाथि तीव्र सार्वजनिक तथा राजनीतिक निगरानी बढिरहेका बेला आफ्नो स्याटेलाइट र आर्टिफिसियल इन्टेलिजेन्स व्यवसायप्रति जनसमर्थन जुटाउने उद्देश्यले उनले यो घोषणा गरेका हुन् ।

अमेरिकी पर्व ‘थ्याङ्क्सगिभिङ’ को पूर्वसन्ध्यामा मस्कले करिब १८ अर्ब अमेरिकी डलर बराबरको यो सेयर वितरण योजना अघि सारेका हुन् । विशेषगरी, अमेरिकी नियामक निकायले अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्न १० लाखवटा स्याटेलाइट प्रक्षेपण गर्ने स्पेसएक्सको प्रस्तावलाई स्वीकृति दिएको केही घण्टामै मस्कको यस्तो घोषणा आएको हो ।

सामाजिक सञ्जाल एक्स मार्फत मस्कले बालबालिकाहरूले एउटा सेयर स्पेसएक्स कम्पनीका तर्फबाट र अर्को सेयर व्यक्तिगत रूपमा आफूबाट प्राप्त गर्ने जानकारी दिएका छन् । कम्पनीका तर्फबाट दिइने सेयर आगामी महिना हस्तान्तरण गरिनेछ भने मस्कको व्यक्तिगत तर्फको सेयर आगामी वर्षको जुन महिनामा उनको ‘लक-अप’ अवधि सकिएपछि हस्तान्तरण हुनेछ ।

यसअघि बुधबार स्पेसएक्सले हाल सक्रिय रहेका प्रत्येक ‘ट्रम्प अकाउन्ट’ मा आफ्नो ‘क्लास ए’ साधारण सेयरको एक कित्ता योगदान गर्ने जनाएको थियो । कम्पनीले दान गर्ने सेयर बराबर नै मस्कले व्यक्तिगत रूपमा सेयर थप्नेछन् । १८ वर्षमुनिका अमेरिकी नागरिकलाई सानै उमेरदेखि सेयर बजारमा सहभागी गराई सम्पत्ति निर्माणमा सघाउने उद्देश्यले ‘ट्रम्प अकाउन्ट’ कार्यक्रम ल्याइएको हो । ह्वाइट हाउसका अनुसार गत अक्टोबरसम्म करिब ७ करोड यस्ता खाता खोलिसकिएका छन् । बुधबार स्पेसएक्सको सेयर मूल्य १२७.४४ डलरमा बन्द भएको आधारमा यो कुल उपहारको मूल्य करिब १८ अर्ब डलर हुन आउँछ ।

कम्प्युटिङ पूर्वाधारको तीव्र विस्तारले निम्त्याउने वातावरणीय प्रभाव र प्रविधि क्षेत्रका अर्बपतिहरूको बढ्दो आर्थिक तथा राजनीतिक प्रभावबारे अमेरिकामा चिन्ता बढ्दै गएको छ । यही महिना सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा डेटा सेन्टर निर्माणका विरोधी डेमोक्रेटिक उम्मेदवारहरूले ठूलो जित हासिल गरेका थिए ।

सिंगापुरस्थित ओसीबीसीका सम्पत्ति सल्लाहकार प्रमुख चेज अन्बुका अनुसार बालबालिकालाई कम्पनीको प्रत्यक्ष आर्थिक हिस्सेदार बनाउँदा एआई र अन्तरिक्ष अर्थतन्त्रको लाभमा व्यापक जनसहभागिता छ भन्ने शक्तिशाली सन्देश जान्छ । त्यस्तै, मिट्रेड ग्रुपका विश्व बजार सल्लाहकार क्रिस्टोफर ब्रान्किनले यस कदमले भविष्यमा ठूलो खुद्रा सेयरधनी आधार तयार पार्ने र नयाँ पुस्तालाई वित्तीय रूपमा साक्षर बनाउने बताए ।

अमेरिकी संघीय सञ्चार आयोगले एआई कम्प्युटिङको बढ्दो माग पूरा गर्न स्पेसएक्सको स्याटेलाइट सञ्जाल प्रस्तावलाई स्वीकृति दिएको हो । तर, खगोलविद्हरूले भने यसको कडा विरोध गरेका छन् । ‘अमेरिकन एस्ट्रोनोमिकल सोसाइटी’ ले एफसीसीको निर्णयप्रति निराशा व्यक्त गर्दै १० लाख स्याटेलाइटको सञ्जालले खगोलीय अध्ययनका पूर्वाधारमा दशकौँदेखि गरिएको संघीय लगानी र रातिको आकाश अवलोकन गर्ने जनसाधारणको अधिकारमा गम्भीर आँच पुर्‍याउने चेतावनी दिएको छ ।

करिब ८२४ अर्ब डलर कुल सम्पत्ति भएका मस्कले हालसम्म ‘मस्क फाउन्डेसन’ मार्फत परोपकारी कार्य गर्दै आएका थिए, जसमा १४ अर्ब डलरभन्दा बढीको सम्पत्ति छ । गत अक्टोबरमा स्पेसएक्सकी अध्यक्ष ग्वेन सटवेल र उनका पतिले पनि ‘ट्रम्प पहल’ अन्तर्गत २० लाखभन्दा बढी बालबालिकालाई सेयर दिने वाचा गरेका थिए ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यता, मस्कको एआई प्रतिस्पर्धी कम्पनी ‘एन्थ्रोपिक’ ले भने फरक रणनीति अपनाएको छ । यसै महिना सर्वसाधारणका लागि सेयर निष्कासन गरेको एन्थ्रोपिकले ‘सार्वजनिक हित’ का लागि आफ्नो ५ प्रतिशत सेयर नयाँ कोषमा जम्मा गर्ने घोषणा गरेको थियो । हङकङस्थित टोस्काफन्ड एचकेका प्रमुख लगानी अधिकृत मार्क टिङ्करका अनुसार मस्कको यो कदम ट्रम्प अकाउन्टको प्रचारका साथै प्रतिस्पर्धी एन्थ्रोपिकको परोपकारी चर्चाको जवाफका रूपमा आएको हो ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →