९ मंसिर २०८३, बुधबार| Wednesday, November 25, 2026
अन्तर्राष्ट्रिय

चीन, जापान र युरोपेली संघसहित दर्जनौँ देशका सामानमा ट्रम्प प्रशासनद्वारा नयाँ भन्सार शुल्क प्रस्ताव

विश्वव्यापी व्यापार युद्धलाई थप विस्तार गर्दै ट्रम्प प्रशासनले दर्जनौँ व्यापारिक साझेदार देशका सामानमा उच्च भन्सार दर लागू गर्ने तयारी गरेको छ। बेइजिङले व्यापार युद्धविरामका सर्त पालना नगरे चिनियाँ सामानमा लाग्ने शुल्क ४० प्रतिशतसम्म पुर्‍याउन सकिने संकेतसमेत ह्वाइट हाउसले दिएको छ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार चीन, जापान र युरोपेली संघका सदस्य राष्ट्रहरूसहित दर्जनौँ देशबाट हुने आयातमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ। अमेरिकी कंग्रेस र अदालतमा बढ्दो कानुनी तथा राजनीतिक अवरोधका बीच विश्वव्यापी व्यापार युद्धलाई थप विस्तार गर्ने गरी यो कदम चालिएको हो।

प्रशासनले अनुचित व्यापारिक अभ्यासको जवाफस्वरूप यी शुल्कहरू प्रस्ताव गरिएको बताएको छ। केही निकटतम आर्थिक साझेदार देशहरूले निश्चित वस्तुहरूको अत्यधिक उत्पादन गरेको, अमेरिकी व्यवसायलाई कमजोर बनाएको र अमेरिकाको व्यापार घाटा बढाउन भूमिका खेलेको प्रशासनको आरोप छ।

सार्वजनिक गरिएको नयाँ सूचीअनुसार चीनबाट आयात हुने केही वस्तुहरूमा २० प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ। यदि बेइजिङले वासिङ्टनसँग गरेको व्यापार युद्धविरामका सर्तहरू पालना नगरे उक्त शुल्क बढाएर ४० प्रतिशतसम्म पुर्‍याउन सकिने संकेतसमेत ट्रम्प प्रशासनले दिएको छ।

यसैगरी, युरोपेली संघका २७ सदस्य राष्ट्रका साथै कम्बोडिया, भारत, दक्षिण कोरिया, ताइवान र भियतनाम लगायतका देशका सामानमा पनि यस्तै उच्च र क्रमशः बढ्न सक्ने दरमा शुल्क प्रस्ताव गरिएको छ। तीमध्ये केही शुल्क २० प्रतिशतसम्म पुग्न सक्नेछन्। साथै, ब्राजिलको चिनी र विमान निर्यातलाई लक्षित गर्दै भन्सार दर बढाउने छुट्टै विशेष प्रस्ताव पनि अघि सारिएको छ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले नयाँ भन्सार शुल्क लागू हुनुअघि सर्वसाधारणको सुझाव संकलन गर्नेलगायतका अन्तिम नियामक प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन्। उनले यो कदमलाई ‘लक्षित’ भनी व्याख्या गरे पनि प्रभावित प्रत्येक व्यापारिक साझेदारसँग छलफल जारी रहेको उल्लेख गरे।

ग्रिरका अनुसार धेरैजसो अवस्थामा यी नयाँ शुल्कहरू प्रशासनले यसअघि नै लागू गरिसकेका शुल्कहरूमाथि थपिने छैनन्। जसमा राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको आधारमा स्टिल र कारजस्ता वस्तुमा लगाएका शुल्कहरू पर्छन्। प्रशासनले यसअघि भइसकेका व्यापार सम्झौताहरूसँग तालमेल मिल्ने गरी नै नयाँ शुल्क निर्धारण गर्न खोजेको उनको भनाइ छ।

यो वर्षको सुरुमा सर्वोच्च अदालतले ट्रम्पको देशगत भन्सार शुल्कको प्रारम्भिक सूची खारेज गरिदिएपछि पनि उनले आक्रामक व्यापार रणनीतिलाई निरन्तरता दिएका छन्। स्वदेशी उत्पादन बढाउन, राजस्व संकलन गर्न र अझ राम्रो व्यापार सम्झौता गर्न भन्सार शुल्क अनिवार्य रहेको ट्रम्पले बताउँदै आएका छन्। तर, उनको अस्थिर नीतिका कारण उपभोक्ता र व्यवसायीका लागि मूल्यवृद्धि भएको भन्दै जनआक्रोश बढेको छ, जसका कारण हालैको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसको दुवै सदनमा बहुमत गुमाउनुपरेको थियो।

बुधबार सार्वजनिक भएको मुद्रास्फीतिसम्बन्धी एक प्रमुख तथ्यांकअनुसार अक्टोबर महिनामा वार्षिक मूल्यवृद्धि ३.८ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा बढी हो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

डेमोक्रेटिक पार्टीले तल्लो सदन र सिनेटको नेतृत्व सम्हाल्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसको यो कदमले कंग्रेसमा व्यापक विरोध निम्त्याउने जोखिम बढाएको छ। अर्कोतर्फ, आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी संशयका कारण बुधबार सेयर बजार ओरालो लाग्ने संकेत देखिएको छ।

राष्ट्रपति ट्रम्पले चीन भ्रमण गरी चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेको केही दिनमै आएको यो घोषणाले बेइजिङबाट कडा विरोधको सामना गर्नुपरेको छ। बुधबार शुल्क औपचारिक रूपमा सार्वजनिक हुनुअघि नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ च्याखुनले ‘अत्यधिक उत्पादन क्षमता’ भनिने विषय झुटो तर्क मात्र भएको र राजनीतिक चलखेलको बहानाका रूपमा यसको प्रयोग गरिनुको चीनले विरोध गर्ने बताए।

ट्रम्प प्रशासनले सन् १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत यी नयाँ शुल्कहरू लागू गर्ने जनाएको छ। यस व्यवस्थाले अमेरिकी सरकारलाई विदेशमा हुने अनुचित व्यापारिक अभ्यासको छानबिन गर्न र त्यसको निष्कर्षका आधारमा भन्सार शुल्क लगाउन अनुमति दिन्छ। सर्वोच्च अदालतले खारेज गरेका शुल्कहरूलाई ब्युँताउने उपाय खोज्ने क्रममा प्रशासनले गत मार्चमा दुईवटा यस्ता छानबिन सुरु गरेको थियो।

पहिलो छानबिन जबरजस्ती श्रम नियन्त्रण गर्न असफल भएका दर्जनौँ देशहरूमाथि केन्द्रित थियो। जुलाईमा लागू भएका ती शुल्कविरुद्ध तत्कालै अदालतमा मुद्दा परेको थियो, जसमा न्यायाधीशहरूको इजलासले प्रशासनको विपक्षमा फैसला सुनाउने संकेत देखिएको छ। दोस्रो छानबिन भने प्रशासनले ‘अत्यधिक उत्पादन क्षमता’ भनेको विषयमा केन्द्रित थियो, जसमा विदेशी सरकारहरूले दिने अनुदान, मुद्रा व्यवस्थापन र सरकारी स्वामित्वका उद्योगलाई दिइने संरक्षणले अमेरिकी उत्पादकहरूलाई अन्यायपूर्ण प्रतिस्पर्धामा पारेको दाबी गरिएको छ।

सरकारले यही महिना सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा अमेरिकाको व्यापार घाटा १०५ अर्ब डलर पुगेको छ। अगस्टको तुलनामा यो केही कम भए पनि ट्रम्प पुनः सत्तामा फर्किएयताको यो दोस्रो ठूलो व्यापार घाटा हो। ट्रम्पको प्राथमिकतामा रहेको एआई प्रविधिका लागि अमेरिकी कम्पनीहरूले विदेशबाट महँगा सेमिकन्डक्टर र कम्प्युटिङ उपकरणहरू खरिद गर्नु नै यो असन्तुलनको मुख्य कारण बनेको छ।

कानुनी फर्म ‘वाइली रेन’ का वरिष्ठ व्यापार अधिवक्ता टिमोथी ब्राइटबिलले विश्वव्यापी संरचनात्मक अत्यधिक उत्पादनको समस्या अमेरिकी कम्पनी र उद्योगका लागि वास्तविक चुनौती भएको बताए। अनुचित प्रतिस्पर्धाका कारण अमेरिकी कम्पनीहरूले विश्व बजारमा निर्यात गर्न नसकिरहेको उनको भनाइ छ।

बुधबार सार्वजनिक गरिएको भन्सार शुल्कको सूचीमा नर्वे र मेक्सिको भने समेटिएका छैनन्। छानबिनको दायरामा रहेका यी दुवै व्यापारिक साझेदारका विषयमा समीक्षा जारी रहेको एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →