अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न क्यानडाका विश्वविद्यालयहरूको सक्रियता
अध्यागमन नीतिको कडाइले अन्तर्राष्ट्रिय विद्यार्थी घटेपछि क्यानडाका विश्वविद्यालयहरू आफ्ना ढोका अझै खुला रहेको सन्देश दिन सक्रिय भएका छन् । कलेजहरूमा देखिएको आर्थिक संकट टार्न र विश्वभरका उत्कृष्ट अनुसन्धान प्रतिभा भित्र्याउन उनीहरूले विशेष अभियान थालेका हुन् ।
Photo: Dora Dalberto/Unsplash
क्यानडा सरकारले अध्ययन अनुमतिको संख्या घटाएपछि अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनमा ठूलो गिरावट आएको छ । जसका कारण कलेजहरूलाई गम्भीर आर्थिक संकट परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै क्यानडाका विश्वविद्यालयहरूले आफूहरू अझै पनि अन्तर्राष्ट्रिय विद्यार्थी स्वागत गर्न तयार रहेको सन्देश दिन विशेष पहल थालेका छन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीबाट उठ्ने शुल्क घटेपछि क्यानडाका पोलिटेक्निक तथा सामुदायिक कलेजहरूमा कर्मचारी कटौती र शैक्षिक कार्यक्रमहरू बन्द गर्नुपर्ने अवस्था आएको छ । यसले प्रधानमन्त्री मार्क कार्नीको उत्कृष्ट अनुसन्धान प्रतिभा भित्र्याउने १ अर्ब ७० करोड क्यानेडियन डलर बराबरको महत्वाकांक्षी योजनालाई समेत असर पार्न सक्ने देखिएको छ ।
क्यानडाको पछिल्लो अध्यागमन योजनाले आगामी तीन वर्षसम्म प्रत्येक वर्ष १ लाख ५० हजार नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने लक्ष्य राखेको छ । सन् २०२४ मा २ लाख ९२ हजार ८३० नयाँ विद्यार्थी भित्रिएकोमा यो संख्यामा भारी कटौती गरिएको हो । आवास र सार्वजनिक सेवामा परेको चाप कम गर्न यो कदम चालिएको सरकारको भनाइ छ ।
अध्ययन अनुमतिमा लगाइएको सीमाले क्यानडाको छविमा साँच्चै धक्का पुर्याएको छ, युनिभर्सिटी अफ टोरन्टोका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपाध्यक्ष जोसेफ वोङले भने । पछिल्लो दुई वर्षमा विद्यार्थी भर्ना अभियानका लागि तीन पटक भारत भ्रमण गरिसकेका उनले थपे, यसले क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आफ्ना ढोका बन्द गरिरहेको छ भन्ने गलत सन्देश दियो ।
कार्नी सरकार दशकौँदेखि ठूलो अनुसन्धान बजेट भएका अमेरिकी विश्वविद्यालयतर्फ आकर्षित हुँदै आएका अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूलाई क्यानडा तान्न चाहन्छ । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि उनको प्रशासनले केही विश्वविद्यालयहरूको बजेट कटौती गरेको छ भने कतिपयलाई कटौतीको चेतावनी दिएको छ ।
क्यानडाका अनुसन्धान विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्ने ‘यु१५ ग्रुप’का प्रमुख कार्यकारी रोबर्ट एसेलिनले ओटावाले यस वर्षदेखि विदेशी स्नातकोत्तर विद्यार्थीहरूलाई केही प्रतिबन्धबाट छुट दिएको बताए । यद्यपि, बारम्बार फेरिने नियमहरूले समग्रमा प्रतिभाशाली विद्यार्थीहरूलाई निरुत्साहित गर्न सक्ने उनको चेतावनी छ ।
हामी अन्य देशहरूसँग प्रतिस्पर्धामा छौँ भन्ने कुरा बुझ्न जरुरी छ । यदि हामीले यी गुणस्तरीय विद्यार्थीहरूलाई आकर्षित गर्न सकेनौँ भने उनीहरू अन्यत्र जानेछन् र हामीले प्रतिभा गुमाउनेछौँ, एसेलिनले भने ।
क्यानडाको प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान परिषद्का अनुसार नयाँ अनुसन्धान कोष कार्यक्रमहरूमार्फत अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्न ६२ करोड ५० लाख क्यानेडियन डलरभन्दा बढी रकम विनियोजन गरिएको छ । थप छनोट भएका अनुसन्धानकर्ताहरूको नाम सन् २०२७ को सुरुमा घोषणा गरिने अपेक्षा छ ।
पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यकालदेखि नै विद्यार्थी भिसा आवेदनमा भेटिएको ठगी र अनियमिततालाई नियन्त्रण गर्न क्यानडाले अध्ययन अनुमति घटाउन सुरु गरेको थियो गत वर्ष अगस्ट २०२५ मा क्यानडाले अधिकांश भारतीय विद्यार्थीको अध्ययन अनुमति आवेदन अस्वीकार गरेको रिपोर्ट सार्वजनिक भएको थीयो । विगत एक दशकदेखि भारत क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने प्रमुख देश रहँदै आएको छ ।
वास्तविक चुनौती भनेको सम्भावित भारतीय विद्यार्थीहरूलाई हाम्रो ढोका अझै खुला छ भनेर बुझाउनु हो,” आफ्नो पछिल्लो भारत भ्रमणको अनुभव सुनाउँदै वोङले भने ।
यता, युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाले नीतिमा भइरहने बारम्बारको परिवर्तनले क्यानडा आउन चाहने विद्यार्थीहरूमा अन्योल सिर्जना गरेको चेतावनी दिएको छ । युबीसीकी प्रवक्ता थान्डी फ्लेचरले सन् २०२३ देखिका संघीय नीतिगत परिवर्तन, विश्वव्यापी आर्थिक चुनौती, बढ्दो भूराजनीतिक तनाव र तीव्र प्रतिस्पर्धाले देशभरका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा असर पारेको बताइन् ।
क्यानडाको सबैभन्दा ठूलो सार्वजनिक कलेजमध्ये एक ‘हम्बर पोलिटेक्निक’ का प्रवक्ता एन्ड्रयु लियोपोल्डका अनुसार संघीय अध्यागमन सुधारपछि शैक्षिक सत्र २०२५–२६ मा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सन् २०२३–२४ को तुलनामा एक तिहाइमा झरेको छ । कलेजले ४ करोड क्यानेडियन डलरको राजस्व घाटा बेहोरेको छ, जसका कारण केही कार्यक्रम रद्द गरिएका छन् भने कर्मचारीहरूलाई स्वेच्छिक अवकाशको प्याकेज दिइएको छ ।
क्यानडाको अध्यागमन मन्त्रालयका अनुसार सन् २०२६ को जनवरीदेखि जुलाईसम्मको अवधिमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन सन् २०२४ को सोही अवधिको तुलनामा ८० प्रतिशतले घटेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, अवसरहरू कम उपलब्ध भएकाले हामी विद्यार्थी छनोटमा अझ बढी कडाइ गरिरहेका छौँ ।





