९ मंसिर २०८३, बुधबार| Wednesday, November 25, 2026
अमेरिका

अमेरिकी अर्थतन्त्रमा अपेक्षाभन्दा तीव्र वृद्धि, तेस्रो त्रैमासिकमा ४.३ प्रतिशतले जीडीपी विस्तार

एआई पूर्वाधारमा भएको उच्च लगानी र बलियो उपभोक्ता खर्चका कारण तेस्रो त्रैमासिकमा अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सुरुवाती अनुमानभन्दा निकै माथि ४.३ प्रतिशतले विस्तार भएको छ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Aditya Vyas/ Unsplash

अमेरिकी अर्थतन्त्रले यस ग्रीष्मयाममा सुरुमा अनुमान गरिएभन्दा निकै तीव्र गतिमा वृद्धि हासिल गरेको अमेरिकी सरकारले बुधबार जनाएको छ। तेस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनको संशोधित अनुमानमा यो उल्लेखनीय सुधार देखिएको हो।

सरकारी तथ्याङ्कअनुसार तेस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र वार्षिक ४.३ प्रतिशतका दरले विस्तार भएको छ। यसअघि सुरुवाती प्रतिवेदनमा ३.४ प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो। यो दर दोस्रो त्रैमासिकको २.२ प्रतिशतको तुलनामा झन्डै दोब्बर हो।

उच्च ब्याजदर र अझै नियन्त्रणमा नआएको महँगीका बाबजुद अमेरिकी अर्थतन्त्रमा देखिएको यो गतिशीलताले अर्थतन्त्रको असाधारण लचिलोपनलाई सङ्केत गरेको छ। अर्थतन्त्रको यो मजबुतीले अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’लाई ब्याजदर थप बढाउन वा कसिलो नीति कायम राख्न थप सहजता प्रदान गर्न सक्ने विश्लेषकहरूले बताएका छन्।

आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार निर्माण र सफ्टवेयर क्षेत्रमा भएको बलियो व्यावसायिक लगानीका साथै उपभोक्ता खर्च बढेका कारण जीडीपीको प्रक्षेपणमा सुधार आएको हो। वैदेशिक व्यापार, मौज्दात र सरकारी खर्चलाई हटाएर मापन गरिने निजी क्षेत्रको आन्तरिक माग वार्षिक ५.८ प्रतिशतका दरले बढेको छ, जुन सुरुवाती अनुमान ४.९ प्रतिशतभन्दा निकै बढी हो।

यसैबीच, बुधबार नै सार्वजनिक भएको अर्को तथ्याङ्कले अक्टोबर महिनामा अमेरिकी नागरिकको व्यक्तिगत आम्दानी ०.७ प्रतिशतले बढेको देखाएको छ। यद्यपि, महँगी समायोजित उपभोक्ता खर्च भने स्थिर रहँदा बचत दर अघिल्लो महिनाको ३.६ प्रतिशतबाट बढेर ४.१ प्रतिशत पुगेको छ।

फेडले महँगी मापनका लागि मुख्य आधार मान्ने ‘पर्सनल कन्जम्प्सन एक्सपेन्डिचर्स’ मूल्य सूचकाङ्क वार्षिक आधारमा ३.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा ३.६ प्रतिशत थियो। खाद्य तथा इन्धनबाहेकको मुख्य महँगी पनि ३.१ प्रतिशतबाट उकालो लागेर ३.३ प्रतिशत पुगेको छ। मासिक आधारमा भने समग्र र मुख्य दुवै मूल्य सूचकाङ्क ०.३ प्रतिशतले बढेका छन्।

समग्रमा, वर्षको अन्त्यतिर पुग्दै गर्दा अमेरिकी अर्थतन्त्र निकै बलियो आधारमा उभिएको देखिए तापनि उच्च महँगीको चुनौती भने अझै कायम रहेको तथ्याङ्कले देखाएको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →