आँधीबेहरीले अमेरिकाको ‘थ्याङ्क्सगिभिङ’ यात्रा अस्तव्यस्त, ४ हजारभन्दा बढी उडान प्रभावित
करिब सवा ८ करोड मानिसले यात्रा गर्ने अनुमानका बीच दोहोरो आँधी र हिमपातले ४ हजारभन्दा बढी उडान प्रभावित; न्युयोर्कको लागार्डिया विमानस्थलमा मिसाइल लन्चरको भ्रामक हल्लाले केहीबेर त्रास।
Photo:Chris Leipelt /Unsplash
अमेरिकाको पूर्वी र पश्चिमी दुवै तटीय क्षेत्रमा भीषण आँधीबेहरी र खराब मौसमले जनजीवन तथा थ्याङ्क्सगिभिङ बिदाको यात्रा नराम्ररी प्रभावित बनाएको छ। करिब ८ करोड १५ लाख मानिसहरूले यात्रा गर्ने अनुमान गरिएको यस व्यस्त समयमा आएको दोहोरो आँधीका कारण चार हजारभन्दा बढी उडानहरू ढिलाइ भएका छन् भने दर्जनौँ उडान रद्द गरिएका छन्।
खराब मौसमको चेतावनीपछि न्युयोर्कमा आयोजना हुने १००औँ ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ शनिबार बिहान ८:३० बजेसम्मका लागि सारिएको छ। परेड सरेपछि विभिन्न राज्यबाट न्युयोर्क पुगेका कलाकार तथा सहभागीहरू होटेलको बसाइ लम्ब्याउन र यात्रा तालिका मिलाउन समस्यामा परेका छन्। यस्तै, न्युयोर्क सहरका मेयर जोहरान ममदानीले शुक्रबार घुँडाको शल्यक्रिया तय भएकाले आफू शनिबारको परेडमा सहभागी हुन नसक्ने जानकारी दिएका छन्। यद्यपि, शनिबारको परेडका लागि कुनै सुरक्षा खतरा नरहेको र न्युयोर्क प्रहरी उच्च सतर्कताका साथ तैनाथ रहने उनले स्पष्ट पारेका छन्।
मौसमविद्हरूका अनुसार सन् २०१२ को ‘सुपरस्टोर्म स्यान्डी’ यताकै उच्च पानीको सतह पूर्वी तटीय क्षेत्रमा देखिन सक्ने चेतावनी दिइएको छ। डेलावेयर र न्युजर्सीका केही क्षेत्रहरूमा तीव्र हावाहुरीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने उच्च जोखिम छ।
यता, पश्चिमी तटीय क्षेत्रमा पनि समुद्री छाल र बाढीले क्षति पुर्याएको छ। सान फ्रान्सिस्कोको दक्षिणमा रहेको प्यासिफिकाको घाटको केही भाग छालले भत्काएको छ भने सान डिएगो आसपास पानीको सतहले नयाँ कीर्तिमान कायम गरेको छ। मध्य अमेरिकाको मिसौरी र इलिनोइ लगायतका क्षेत्रमा एक फिटभन्दा बढी भारी हिमपात हुने र रूख तथा बिजुलीका पोल ढल्ने चेतावनी जारी गरिएको छ।
खराब मौसमका बीच बुधबार राति न्युयोर्कको लागार्डिया विमानस्थल नजिकै मिसाइल लन्चर देखिएको भन्ने सूचनाले केहीबेर उडानहरू रोकिएका थिए। तर, स्थानीय प्रहरी र विमानस्थल प्रशासनको करिब १५ मिनेटको अनुसन्धानपछि उक्त सूचना भ्रामक र अविश्वसनीय रहेको पुष्टि भएसँगै उडानहरू पुनः सामान्य रूपमा सञ्चालनमा आएका छन्।





