९ मंसिर २०८३, बुधबार| Wednesday, November 25, 2026
अध्यागमन

आप्रवासी थुनाविरुद्ध १ लाख बन्दी प्रत्यक्षीकरण रिट, प्रतिरक्षामा २ हजार सरकारी वकिल

जनवरी २०२५ यता दायर भएका बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको चाप बढेपछि महान्यायाधिवक्ता टोड ब्लान्चेले विभिन्न सिभिल मुद्दा हेर्ने विभागका वकिललाई सहयोगमा खटाउने निर्देशन दिएका छन्। उनले धेरै मुद्दालाई निरर्थक भन्दै आलोचना गरेका छन्।

यो समाचार सुन्नुहोस्0:00 / --:--

जनवरी २०२५ देखि अक्टोबर २०२६ सम्म सबैभन्दा बढी बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दायर भएका अदालतमध्ये एक टेक्सासको वेस्टर्न डिस्ट्रिक्टअन्तर्गत सान एन्टोनियो डिभिजनको जोन एच. वुड जुनियर संघीय अदालत भवन। (तस्बिर: टुहुल/विकिमिडिया कमन्स, CC BY-SA 4.0)

अमेरिकी न्याय मन्त्रालयले आप्रवासन हिरासतलाई चुनौती दिँदै अदालतमा दायर भइरहेका मुद्दाको प्रतिरक्षा गर्न आफ्ना विभिन्न सिभिल मुद्दा हेर्ने विभागका करिब २ हजार वकिल परिचालन गर्ने भएको छ। बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) सम्बन्धी मुद्दामा उल्लेख्य वृद्धि भएपछि मन्त्रालयले सरकारी प्रतिरक्षा टोली विस्तार गर्न लागेको हो।

नोभेम्बर २४, २०२६ मा जारी गरिएको मेमोमा महान्यायाधिवक्ता टोड ब्लान्चेले चारवटा नागरिक मुद्दा हेर्ने विभाग—एन्टिट्रस्ट, सिभिल राइट्स, सिभिल तथा इन्भाइरोन्मेन्ट एन्ड नेचुरल रिसोर्सेस—का साथै अमेरिकी ट्रस्टी कार्यक्रमका वकिललाई पनि मुद्दाको प्रतिरक्षामा सहयोग गर्न निर्देशन दिएका छन्।

मेमोअनुसार जनवरी २०२५ यता ९७ हजारभन्दा बढी बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दायर भएका छन्। अक्टोबर २०२६ यता मात्रै करिब १० हजार नयाँ निवेदन थपिएका छन्।

बन्दी प्रत्यक्षीकरण भनेको कुनै व्यक्तिलाई हिरासतमा राख्नु कानुनी रूपमा उचित छ कि छैन भनेर अदालतबाट परीक्षण गराउन प्रयोग गरिने कानुनी प्रक्रिया हो। आप्रवासनसम्बन्धी मुद्दामा हिरासतमा रहेका व्यक्तिले आफूलाई थुनामा राख्ने सरकारको अधिकारलाई चुनौती दिन यस्तो निवेदन दिन सक्छन्।

मंगलबार सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै ब्लान्चेले यस्ता निवेदनको चापलाई सम्बोधन गर्न मन्त्रालयले थप स्रोत परिचालन गर्न लागेको बताएका छन्। उनले धेरै निवेदनलाई निरर्थक भन्दै न्यायाधीशहरूमाथि पनि आरोप लगाएका छन्।

“अवैध रूपमा अमेरिकामा रहेका आपराधिक विदेशीलाई समुदायमा फर्काउन र उनीहरूलाई देशनिकालाबाट बचाउन भ्रष्ट न्यायाधीशहरूले प्रयोग गरिरहेका निरर्थक बन्दी प्रत्यक्षीकरण निवेदनको बाढीविरुद्ध लड्न न्याय मन्त्रालयले थप स्रोत परिचालन गरिरहेको छ,” ब्लान्चेले लेखेका छन्।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेयता हजारौँ निवेदन दायर भएको र त्यसको सबैभन्दा बढी भार अमेरिकी महान्यायाधिवक्ताका कार्यालयहरूमा परेको बताएका छन्।

“त्यसैले हामी उनीहरूलाई यी मुद्दामा प्रतिरक्षा गर्न सहयोग पुर्‍याउन न्याय मन्त्रालयको केन्द्रीय तहबाट थप स्रोत परिचालन गरिरहेका छौँ। हाम्रो देशमा गैरकानुनी रूपमा रहेका अपराधीलाई छुट पाउनु हुँदैन,” उनले लेखेका छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चे। उनले आप्रवासन हिरासतसम्बन्धी बन्दी प्रत्यक्षीकरणका मुद्दाको प्रतिरक्षाका लागि न्याय मन्त्रालयका करिब २ हजार वकिल परिचालन गर्ने निर्देशन दिएका छन्। (तस्बिर: द ह्वाइट हाउस/विकिमिडिया कमन्स, सार्वजनिक डोमेन)

महान्यायाधिवक्ताका कार्यालयलाई सहयोग गर्न थप वकिल परिचालन

मेमोअनुसार जनवरी २०२५ यता बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको प्रतिरक्षाको मुख्य जिम्मेवारी अमेरिकी महान्यायाधिवक्ताका कार्यालयका सहायक महान्यायाधिवक्ताहरूले सम्हाल्दै आएका छन्।

नयाँ निवेदनको चापले ती कार्यालयको नियमित काम प्रभावित भएको मन्त्रालयको भनाइ छ।

“प्रत्येक नयाँ बन्दी प्रत्यक्षीकरण निवेदनले न्याय मन्त्रालयका अमेरिकी महान्यायाधिवक्ताका कार्यालयका स्रोतसाधन अन्य कामबाट हटाउन बाध्य बनाउँछ,” मेमोमा भनिएको छ।

निवेदनको संख्या र अदालतले तोकेका प्रक्रियागत आवश्यकताले केही कार्यालयमा कामको चाप अत्यधिक बढाएको मन्त्रालयले जनाएको छ। यसले अन्य कानुनी जिम्मेवारी पूरा गर्न उपलब्ध जनशक्तिमा समेत दबाब परेको उल्लेख गरिएको छ।

नयाँ निर्देशनअनुसार नागरिक मुद्दा हेर्ने विभागका वकिलहरूले अब हिरासतसम्बन्धी चुनौतीमा सरकारको प्रतिरक्षा गर्न सहयोग गर्नेछन्।

ब्लान्चेको कार्यालयका साथै उपमहान्यायाधिवक्ता र सहमहान्यायाधिवक्ताका कार्यालयका वकिलहरूले पनि निवेदनको संख्या घट्न थालेसम्म यस्ता मुद्दा हेर्नेछन्। यद्यपि अमेरिकी महान्यायाधिवक्ताका कार्यालयले पनि मुद्दाको प्रतिरक्षामा आफ्नो भूमिका जारी राख्नेछन्।

वकिलका लागि नयाँ जिम्मेवारी र तालिम

मेमोअनुसार सहभागी हुने प्रत्येक विभागले आगामी केही साताभित्र बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाका लागि एक जना सम्पर्क अधिकारी तोक्नुपर्नेछ।

अमेरिकी महान्यायाधिवक्ताका कार्यालयहरूको कार्यकारी कार्यालयका निर्देशकले सबैभन्दा बढी मुद्दाको चाप भएका कार्यालयसँग समन्वय गरेर थप कानुनी जनशक्ति परिचालन गर्नेछन्।

व्यावहारिक रूपमा सम्भव भएसम्म निश्चित भौगोलिक क्षेत्रमा वकिल उपलब्ध गराउन गरिएका अनुरोधलाई पनि विचार गरिने मन्त्रालयले जनाएको छ। यसका लागि सम्बन्धित अदालतमा वकालत गर्न पाउने अनुमति र अन्य पक्षलाई ध्यान दिइनेछ। आवश्यक परे यात्रा खर्चसमेत मन्त्रालयले बेहोर्नेछ।

वकिलहरूलाई सम्बन्धित क्षेत्रका सिभिल डिभिजन प्रमुख र होमल्याण्ड सेक्युरिटी विभागका अधिकारीहरूको सम्पर्क विवरणसहित आवश्यक सामग्री उपलब्ध गराइनेछ।

ट्रम्प प्रशासनको सुरुवातदेखि आप्रवासीहरूले दायर गरेका विभिन्न प्रकारका कानुनी चुनौती र बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको प्रतिरक्षाबारे तालिमसमेत दिइने मन्त्रालयले जनाएको छ।

ब्लान्चेले वरिष्ठ अधिकारीहरूलाई यस्ता मुद्दामा पुनरावेदनसम्बन्धी रणनीति थप प्रभावकारी बनाउने सुझाव तयार गर्न पनि निर्देशन दिएका छन्।

महान्यायाधिवक्ताको सल्लाहकार समिति, अमेरिकी महान्यायाधिवक्ताका कार्यालयहरूको कार्यकारी कार्यालय, सिभिल डिभिजन तथा सोलिसिटर जनरल, सहमहान्यायाधिवक्ता र उपमहान्यायाधिवक्ताका कार्यालयले मेमो जारी भएको ३० दिनभित्र आफ्ना सुझाव पेस गर्नुपर्नेछ।

ट्रम्प प्रशासनको आप्रवासन नीतिको प्रतिरक्षा

मेमोले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन बढ्नुको कारणमा प्रशासनको आप्रवासन कार्यान्वयन नीति र आप्रवासीलाई हिरासतमा राखेर देशनिकाला गर्ने प्रयासलाई पनि उल्लेख गरेको छ।

यसमा राष्ट्रपति ट्रम्पले जनवरी २०, २०२५ मा जारी गरेको ‘प्रोटेक्टिङ द अमेरिकन पिपल अगेन्स्ट इन्भेजन’ शीर्षकको कार्यकारी आदेशलाई उल्लेख गरिएको छ। त्यसयता न्याय मन्त्रालयले हजारौँ आप्रवासनसम्बन्धी आपराधिक अभियोगमा मुद्दा चलाएको र हिरासतलाई चुनौती दिने निवेदनको प्रतिरक्षा गरिरहेको मेमोमा उल्लेख छ।

प्रशासनले धेरै निवेदन निरर्थक रहेको र आप्रवासनसम्बन्धी वकिलहरूले कांग्रेसले स्थापित गरेको प्रशासनिक आप्रवासन प्रक्रियालाई छल्न यस्ता निवेदन प्रयोग गरेको आरोप लगाएको छ।

मेमोले अघिल्लो प्रशासनको आप्रवासन कार्यान्वयन नीतिको पनि आलोचना गरेको छ। अघिल्लो प्रशासनले आप्रवासनसम्बन्धी कानुन कार्यान्वयन नगर्दा संकट उत्पन्न भएको दाबी त्यसमा गरिएको छ।

ट्रम्प प्रशासनले अमेरिकामा गैरकानुनी रूपमा रहेका १२ लाखभन्दा बढी आप्रवासीलाई देशनिकाला गरिसकेको र होमल्याण्ड सेक्युरिटी विभागले दैनिक करिब २ हजार ८ सय आप्रवासीलाई देशनिकालाको प्रक्रियाका लागि हिरासतमा राखिरहेको मेमोमा उल्लेख छ।

महान्यायाधिवक्ताले सहभागी विभागहरूमा कर्मचारी कटौतीलगायत कारणले पहिलेदेखि नै कामको चाप रहेको स्वीकार गरेका छन्। बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सहयोग गर्न धेरै वकिलले स्वेच्छाले प्रस्ताव गरेको पनि उनले उल्लेख गरेका छन्।

मेमोमा प्रत्येक वकिललाई प्रभावकारी रूपमा प्रतिरक्षा गर्न सक्ने संख्यामा मात्रै मुद्दाको जिम्मेवारी दिनुपर्ने उल्लेख छ।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →