अमेरिकाको मिसिसिपी तटनजिकै विमान दुर्घटना हुँदा दुई बालकसहित ६ जनाको मृत्यु
लुजियानाको भेनिसमा माछा मार्ने यात्रा सकेर घर फर्कंदै गरेका चार वयस्क र दुई बालकको शव विमानको मुख्य भागभित्र फेला परेको हो।
Photo: Royce Fonseca / Unsplash
अमेरिकाको मिसिसिपी तटनजिकै मंगलबार भएको सानो विमान दुर्घटनामा मृत्यु भएका ६ जनाको शव गोताखोरहरूले फेला पारेका छन्। अमेरिकी कोस्ट गार्डले यस घटनाको पुष्टि गरेको हो।
मिसिसिपीको पास्कागुला र गल्फ आइल्याण्ड्स नेशनल सिसोरअन्तर्गतको हर्न आइल्याण्डको बीचमा रहेको मेक्सिकोको खाडीमा ‘सेस्ना २१०’ विमान खसेको थियो। विमानको मुख्य भाग भित्रै ती शवहरू फेला परेका हुन्। कोस्ट गार्डका प्रवक्ता जुआन रोसका अनुसार विमानमा चार जना वयस्क तथा ८ र १० वर्षका दुई बालक सवार थिए।
कोस्ट गार्डका अनुसार अलाबामाको मोबाइलस्थित एयर ट्राफिक कन्ट्रोलको क्षेत्रीय टावरले दिउँसो करिब ३:४५ बजे विमानसँगको सम्पर्क विच्छेद भएको जानकारी गराएको थियो। उद्धारकर्मीहरूले घण्टौंसम्म खोजी गर्दा सुरुमा पानीमा तैरिरहेको अवस्थामा तीनवटा लाइफ ज्याकेट, एउटा लाइफ र्याफ्ट र विमानको क्याबिन मात्र फेला पारेका थिए।
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार उक्त विमान न्यु अर्लिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सका लागि उडेको थियो।
मोबाइल क्षेत्रका लागि कोस्ट गार्डका खोज तथा उद्धार संयोजक कमाण्डर ट्रेभर ब्लाउन्टले यो घटनालाई निकै हृदयविदारक बताएका छन्। हामी कसैले पनि यस्तो नतिजाको अपेक्षा गरेका थिएनौं, तर विभिन्न निकायहरूबीचको बलियो समन्वयका कारण विमानमा सवार व्यक्तिहरूलाई छिट्टै फेला पारेर परिवारलाई अन्तिम बिदाइको अवसर दिन सकिएकोमा हामी आभारी छौं, उनले एक विज्ञप्तिमा भनेका छन्।
न्यु अर्लिन्सको समाचार स्टेसन डब्लुभीयुईका अनुसार दुर्घटनामा पर्नेहरू लुजियानाको भेनिसमा माछा मार्ने यात्रा सकेर घर फर्कंदै थिए। संघीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गर्ने भएका छन्।
यसअघि नोभेम्बर ३ मा पनि दक्षिण फ्लोरिडामा एक ‘लियरजेट ६०’ बिजनेस जेट जमिनमा जोतिँदा विमानमा सवार सबै ९ जनाको मृत्यु भएको थियो। कारभित्र रहेका मानिसहरूले उक्त भयानक दुर्घटनाको भिडियो कैद गरेका थिए।





