८ मंसिर २०८३, मंगलबार| Tuesday, November 24, 2026
अमेरिका

मिश्रित हैसियतका परिवारलाई आवासीय सहायता रोक्ने ट्रम्प प्रशासनको नियमविरुद्ध २१ राज्य अदालतमा

वैध कागजात नभएका सदस्य रहेको परिवारलाई सरकारी आवास नदिने ट्रम्प प्रशासनको नयाँ नीतिलाई २१ राज्यले कानूनी चुनौती दिएका छन्। डिसेम्बर १४ बाट लागू हुने यो नियमले हजारौँ परिवारलाई घरविहीन बनाउने राज्यहरूको भनाइ छ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Wouter van Dijke/ Unsplash

परिवारको कुनै एक सदस्यसँग मात्र पनि वैध नागरिकता वा योग्य आप्रवासन हैसियत नभएमा त्यस्ता परिवारलाई संघीय आवासीय सहायताबाट वञ्चित गर्ने नियमविरुद्ध अमेरिकाका २१ राज्य र पेन्सिलभेनियाका गभर्नरले अमेरिकी आवास तथा सहरी विकास मन्त्रालय विरुद्ध मुद्दा दायर गरेका छन्।

यस नियमले परिवारहरूलाई विखण्डन गर्न सक्ने वा अमेरिकी नागरिकहरूलाई नै सार्वजनिक आवासबाट निकाल्न सक्ने दाबी ती राज्यहरूले गरेका छन्। मुद्दा दायर गर्ने राज्यहरूमा क्यालिफोर्निया, न्युयोर्क, एरिजोना र म्यासाचुसेट्सलगायत समावेश छन्। यता, एचयूडीले भने गैरकानूनी आप्रवासीहरूले वर्तमान योग्यता मापदण्डको अनुचित फाइदा उठाइरहेको तर्क गर्दै उक्त नियमको बचाउ गरेको छ।

आगामी डिसेम्बर १४ देखि लागू हुने भनिएको उक्त नियमअनुसार संघीय आवासीय सहायता प्राप्त गर्न व्यक्तिहरूले आफ्नो नागरिकता वा योग्य आप्रवासन हैसियत प्रमाणित गर्नुपर्नेछ।

अभिभावकको आप्रवासन हैसियतका कारण कुनै पनि बालबालिकाले आफ्नो घर गुमाउनु हुँदैन, क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले पत्रकार सम्मेलनमा भने, यो नियम क्रूर र गैरकानूनी छ।

विगत तीन दशकभन्दा लामो समयदेखि अमेरिकी कंग्रेसले आप्रवासन वा नागरिकताको फरक-फरक हैसियत भएका सदस्यहरू भएका परिवारहरूलाई आनुपातिक रूपमा संघीय आवासीय सहायता प्रदान गर्ने अधिकार दिँदै आएको थियो। आप्रवासन हैसियतका कारण परिवारको कुनै सदस्य अयोग्य ठहरिएमा त्यस्ता परिवारले कम सहायता पाउने व्यवस्था थियो। तर, नयाँ नियमले मिश्रित हैसियत भएका परिवारलाई कुनै पनि प्रकारको सहायता प्राप्त गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउनेछ।

सार्वजनिक आवासमा बसिरहेकी एक आमा र दुई सन्तानको कल्पना गर्नुहोस्, जो सबै अमेरिकी नागरिक हुन्। तर, उनीहरूका बुबा योग्य छैनन् भने यो नियमअनुसार चारै जनाले आफ्नो घर गुमाउनेछन्, महान्यायाधिवक्ता बोन्टाले उदाहरण दिँदै भने।

क्यालिफोर्नियाका प्रत्येक पाँचमध्ये एक बालबालिका मिश्रित हैसियतको परिवारमा रहेको उल्लेख गर्दै बोन्टाले यस नियमबाट आफ्नो राज्यका करिब ७ हजार घरपरिवार प्रभावित हुने अनुमान गरेका छन्। नयाँ नियमले सार्वजनिक आवास प्राधिकरण र निजी घरधनीहरूलाई प्रमाणीकरणमा असफल हुने भाडावालहरूको विवरण अमेरिकी डीएचएसमा बुझाउन समेत बाध्य पार्नेछ।

कंग्रेसले एचयूडीलाई मिश्रित हैसियतका परिवारहरूलाई घरबाट निकाल्ने वा निजी घरधनीहरूलाई अध्यागमन प्रवर्तन अधिकारीमा रूपान्तरण गर्ने अधिकार कहिल्यै दिएको छैन। तर, यो नियमले ठ्याक्कै त्यही काम गर्दैछ,” बोन्टाले थपे।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासीहरूलाई लक्षित गरी चालेका पछिल्ला कदमहरूको शृङ्खलाअन्तर्गत यो नयाँ नियम ल्याइएको हो। यसअघि प्रशासनले स्वास्थ्य सेवा, पोषण सुविधा र अन्य अनुदानहरूमा कटौती गर्नुका साथै केही आप्रवासी समूहहरूको कानूनी सुरक्षा खारेज गरी उनीहरूलाई देश निकाला गर्न योग्य बनाउने निर्णयहरू गरिसकेको छ।

एचयूडीका सेक्रेटरी स्कट टर्नरले गत जनवरीमा पहिलो पटक यो प्रस्तावित नियमको घोषणा गरेका थिए, जसलाई डिपार्टमेन्टले गत हप्ता मात्र अन्तिम रूप दिएको हो।

एचयूडीको अन्तिम नियमले सन् १९८० को आवास तथा सामुदायिक विकास ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्छ र करदाताको पैसाको दुरुपयोग रोक्छ। यस नियमले एचयूडीको अनुदानप्राप्त आवासमा अमेरिकी नागरिक र निश्चित योग्य गैर-नागरिकहरू मात्र बस्ने ग्यारेन्टी गर्छ,” सेक्रेटरी टर्नरले सोमबार एक विज्ञप्तिमार्फत भनेका छन्, “यस परिवर्तनबाट करिब २१ करोड ८० लाख डलर बराबरको रकम पुनः विनियोजन हुनेछ, जुन अब प्रतीक्षा सूचीमा रहेका योग्य अमेरिकी नागरिकहरूका लागि खर्च गरिनेछ।

यस वर्षको सुरुमा एचयूडीले डीएचएससँग मिलेर गरेको एक लेखापरीक्षणमा देशभर २० हजार मिश्रित हैसियतका घरपरिवारले संघीय अनुदानप्राप्त आवासीय सहायता लिइरहेको पहिचान गरेको थियो। डिपार्टमेन्टले खाँचोमा परेका सबैलाई आवास उपलब्ध गराउन संघर्ष गरिरहेको अवस्थामा कागजातविहीन आप्रवासीहरूले कानूनी छिद्रको प्रयोग गरी सुविधा लिइरहेको दाबी गरेको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →