८ मंसिर २०८३, मंगलबार| Tuesday, November 24, 2026
अमेरिका

क्यालिफोर्निया विमानस्थलमा अनौठो घटना : चेक-इन ब्यागको तकियाको खोलभित्र भेटिए विषालु सर्प

सर्पहरू आफ्नो घरपालुवा भएको दाबी गर्ने ती यात्रुले यसअघि पनि अन्य वायुसेवामार्फत यस्तै तरिकाले यात्रा गरेको बताएका थिए। तर सुरक्षाविज्ञहरूले घस्रने जीव बोक्दा वायुसेवाको पूर्वस्वीकृति, उपयुक्त कन्टेनर र आवश्यक कागजात अनिवार्य हुने स्पष्ट पारेका छन्।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Kris Len Lu/ Unsplash

अमेरिकाको क्यालिफोर्नियास्थित ओन्टारियो अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको झोला जाँच गर्ने क्रममा तकियाको खोलभित्र लुकाएर राखिएका जिउँदा सर्प फेला परेका छन् ।

नियमित सुरक्षा जाँचका क्रममा यातायात सुरक्षा प्रशासनका अधिकृत बेन्जामिन एन्ड्रेड-कारिलोले एक यात्रुको चेक-इन ब्यागभित्र रहेको तकियाको खोलमा शंकास्पद चाल महसुस गरेका थिए । सुरुमा डोरी जस्तो देखिएको उक्त वस्तु नजिकबाट नियाल्दा चलिरहेको पाएपछि उनले तत्कालै झोलाबाट बाहिर निकालेका थिए ।

हातमा लिएको वस्तु जिउँदो रहेको पक्का भएपछि अधिकृत एन्ड्रेड-कारिलोले तुरुन्तै आफ्ना सुपरिवेक्षक सुगे फ्लोरेसलाई खबर गरेका थिए । फ्लोरेसले उक्त खोल समात्दा भित्रको जीव कस्सिएर सल्बलाउन थालेको अनुभव गरेको बताए । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल प्रबन्धक फ्रान्सिस्को काल्डेरोन, विमानस्थल प्रहरी र सम्बन्धित वायुसेवा कम्पनीलाई तत्काल जानकारी गराइएको थियो ।

जाँचका क्रममा तकियाको खोलभित्र रहेका सर्पमध्ये एउटा विषालु ‘र्‍याटलस्नेक’ रहेको पुष्टि भएको छ । विषालु सर्प हुन सक्ने जोखिमका कारण सुरक्षा सावधानी अपनाउँदै तत्काल आसपासको क्षेत्र खाली गराइएको थियो । पछि ती यात्रुले सर्पहरू झोलाबाट निकालेर यात्रामा नरहेका आफ्ना परिवारका सदस्यलाई जिम्मा लगाएका थिए । झोलाको पुनः जाँच गरेपछि ती यात्रुलाई हवाई यात्राका लागि अनुमति दिइएको टिएसएले जनाएको छ ।

लस एन्जलस टिएसए समन्वय केन्द्रका अनुसार ती यात्रुले सर्पहरू आफ्नो घरपालुवा भएको र यसअघि पनि अन्य वायुसेवामार्फत यस्तै तरिकाले यात्रा गरेको दाबी गरेका थिए । घटनामा कसैलाई पनि सर्पले नटोकेको र मानवीय क्षति नभएको प्रबन्धक काल्डेरोनले स्पष्ट पारेका छन् ।

लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व संघीय सुरक्षा निर्देशक किथ जेफ्रिजले जिउँदा घस्रने जनावरको ढुवानी पूर्ण रूपमा प्रतिबन्धित नभए पनि विषालु प्रजातिका हकमा कडा नियम रहेको बताए । उनका अनुसार यस्ता जीव ओसारपसार गर्दा अग्रिम सूचना, सुरक्षित कन्टेनर, चेतावनी लेबल, आवश्यक अनुमतिपत्र तथा तालिमप्राप्त जनशक्तिको अनिवार्य व्यवस्था हुनुपर्छ ।

टिएसएका संघीय सुरक्षा निर्देशक जेसन प्यान्टेजेसले सुरक्षाकर्मीको सुझबुझ र सामूहिक प्रयासको प्रशंसा गर्दै हवाई यात्रामा जनावर वा घस्रने जीव लैजानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग पूर्वजानकारी लिन यात्रुहरूलाई आग्रह गरेका छन् ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →