मध्यावधि निर्वाचनपछि अमेरिकी उपभोक्ताको आत्मविश्वास झण्डै दुई वर्षयताकै उच्च विन्दुमा
मध्यावधि निर्वाचनपछि श्रम बजार र अर्थतन्त्रप्रति देखिएको आशावादी दृष्टिकोणले नोभेम्बरमा उपभोक्ता आत्मविश्वास १०३.३ विन्दुमा उक्लिएको छ। कन्फरेन्स बोर्डका अनुसार डेमोक्र्याट र स्वतन्त्र मतदाताको उत्साहले यो सूचकाङ्क सन् २०२५ को जनवरीयताकै उच्च स्तरमा पुगेको हो।
Photo: Brittani Burns/ Unsplash
नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनलगत्तै अमेरिकी उपभोक्ताहरूको आत्मविश्वासमा उल्लेखनीय सुधार देखिएको छ । कन्फरेन्स बोर्डका अनुसार अक्टोबर महिनामा ९१.९ रहेको उपभोक्ता आत्मविश्वास सूचकाङ्क नोभेम्बरमा उक्लिएर १०३.३ पुगेको छ ।
मध्यावधि निर्वाचनमा आयात शुल्क र इरानसँगको अमेरिका-इजरायल युद्धका कारण बढेको महँगीप्रति मतदाताले आक्रोश पोखेका थिए, जसका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कंग्रेसको नियन्त्रण डेमोक्र्याटिक पार्टीलाई गुमाउनुपरेको थियो । निर्वाचनपछि डेमोक्र्याट र स्वतन्त्र उत्तरदाताहरूमा देखिएको उत्साहले समग्र उपभोक्ता आत्मविश्वास बढाउन मुख्य भूमिका खेलेको हो । यद्यपि, रिपब्लिकन समर्थकहरूको आत्मविश्वासमा भने सामान्य गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।
कन्फरेन्स बोर्डका वरिष्ठ अर्थशास्त्री फर्गस म्याककोर्मिकका अनुसार उच्च मूल्यवृद्धिप्रति उपभोक्ताहरूको असन्तुष्टि कायमै रहे पनि समग्र अर्थतन्त्रको भविष्यप्रति आशावादी धारणा देखिन थालेको छ । सबैं उमेर समूह र पुस्ताका उपभोक्ताहरूमा आत्मविश्वास बढेको छ भने उच्च घरायसी आम्दानी भएका वर्गमा सबैभन्दा ठूलो सुधार देखिएको छ ।
श्रम बजारको अवस्थाप्रति पनि अमेरिकी नागरिकहरू निकै सकारात्मक देखिएका छन् । रोजगारी पर्याप्त रहेको बताउने उपभोक्ताको हिस्सा अक्टोबरको २६.२ प्रतिशतबाट बढेर ३०.८ प्रतिशत पुगेको छ, जुन सन् २०२५ को मे महिनायताकै उच्च हो । त्यस्तै, रोजगारी पाउन कठिन रहेको बताउनेहरूको संख्या २१.४ प्रतिशतबाट घटेर १८.४ प्रतिशतमा झरेको छ । बेरोजगारी दर पनि गत वर्षको नोभेम्बरमा रहेको ४.५ प्रतिशतबाट घटेर अक्टोबरमा ४.१ प्रतिशतमा आइपुगेको छ ।
श्रम बजार बलियो बन्दै गएको सङ्केतले अमेरिकी केन्द्रीय बैंकलाई महँगी नियन्त्रण गर्न डिसेम्बरपछि पनि ब्याजदर थप बढाउने बाटो खुला गरिदिएको विश्लेषकहरूले बताएका छन् । कन्फरेन्स बोर्डको सर्वेक्षणअनुसार एकवर्षे मुद्रास्फीति अपेक्षा अक्टोबरको ४.७ प्रतिशतबाट सामान्य घटेर ४.५ प्रतिशतमा झरेको छ ।
महँगीको चिन्ताका बावजुद आगामी ६ महिनामा सवारी साधन, घरायसी उपकरण र घर खरिद गर्ने योजना बनाउने उपभोक्ताहरूको संख्या बढेको छ । फेडरल हाउजिङ फाइनान्स एजेन्सीका अनुसार सेप्टेम्बरसम्मको १२ महिनामा एकल परिवारका घरको मूल्य २.५ प्रतिशतले बढेको छ । गत फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता ३० वर्षे स्थिर धितो ब्याजदर करिब १.३० प्रतिशत बिन्दुले बढेर गत साता ७.२८ प्रतिशत पुगेको फ्रेडी म्याकको तथ्याङ्कले देखाएको छ ।
उच्च ब्याजदरका कारण घर खरिदको मागमा केही कमी आए पनि अधिकांश घरधनीहरूसँग ५ प्रतिशतभन्दा कम ब्याजदरको पुरानो ऋण रहेकाले उनीहरू घर बेच्न अनिच्छुक देखिँदा बजारमा घरको अभाव कायमै छ । अक्सफोर्ड इकोनोमिक्सकी प्रमुख अमेरिकी अर्थशास्त्री न्यान्सी भान्डेन हाउटनले उच्च धितो ब्याजदरका कारण चौथो त्रैमासिकमा वार्षिक घर मूल्य वृद्धिदर २ प्रतिशतभन्दा तल झर्ने र सन् २०२८ को सुरुवातसम्म सोही स्तरमा रहने अनुमान गरेकी छिन् ।
यता, एफडब्लुडी बोन्ड्सका प्रमुख अर्थशास्त्री क्रिस्टोफर रुप्कीले मध्यावधि निर्वाचनको अनिश्चितता हटे पनि आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीहरूको सेयर मूल्याङ्कनमा देखिएको उतारचढावले वर्षको अन्तिम महिनाहरूमा वास्तविक उपभोग खर्चमा कस्तो असर पार्छ भन्ने हेर्न बाँकी रहेको बताए । मंगलबार वाल स्ट्रिटमा एनभिडियाको सेयरमा आएको तेजी सेलाएसँगै नास्डाक र एस एन्ड पी ५०० सूचकाङ्कमा गिरावट आएको छ भने अमेरिकी डलर र ट्रेजरी प्रतिफल पनि कमजोर बनेको छ ।





