अमेरिकी अध्यागमन अदालतमा केही प्रारम्भिक सुनुवाइ हटाइने, कागजात बुझाउन १० दिन
नयाँ नीतिअनुसार वकिल वा अधिकृत प्रतिनिधि भएका आप्रवासीका केही प्रारम्भिक सुनुवाइको सट्टा लिखित कागजातमार्फत मुद्दा अघि बढाइनेछ। तोकिएको समयभित्र कागजात नबुझाए मुद्दामा प्रतिकूल असर पर्न सक्ने चेतावनी पनि दिइएको छ।
अमेरिकी न्याय मन्त्रालयअन्तर्गतको अध्यागमन अदालत प्रणालीले सोमबार नयाँ नीति जारी गर्दै वकिल वा अधिकृत प्रतिनिधि भएका आप्रवासीका केही प्रारम्भिक सुनुवाइको सट्टा लिखित कागजातमार्फत मुद्दा अघि बढाउने व्यवस्था गरेको छ। नयाँ नीतिले महत्त्वपूर्ण कागजात पेस गर्न सामान्यतया १० दिनको समयसीमा पनि तोकेको छ।
एक्जिक्युटिभ अफिस फर इमिग्रेसन रिभ्यु (ईओआईआर) की कार्यवाहक निर्देशक सिर्स ओवेनले हस्ताक्षर गरेको यो नीति नोभेम्बर २३ देखि लागू भएको हो। यसले अध्यागमन अदालतको मुद्दा व्यवस्थापनसम्बन्धी प्रक्रियामा परिवर्तन गर्दै सन् २०२१ अप्रिलमा जारी गरिएको पुरानो नीति खारेज गरेको छ।
नयाँ व्यवस्थाको उद्देश्य नियमित प्रकृतिका अदालती उपस्थितिहरू घटाउने र विवादित मुद्दाहरूको सुनुवाइका लागि न्यायाधीशहरूलाई थप समय उपलब्ध गराउने रहेको मन्त्रालयले जनाएको छ।
नयाँ प्रक्रियाअनुसार, कुनै आप्रवासीको पक्षमा वकिल वा अन्य अधिकृत प्रतिनिधिले निर्धारित प्रारम्भिक सुनुवाइभन्दा कम्तीमा १५ दिनअघि आफ्नो प्रतिनिधित्वसम्बन्धी सूचना (नोटिस अफ अपियरेन्स) पेस गरेमा सामान्यतया मास्टर क्यालेन्डर हियरिङ रद्द गरिनेछ।
मास्टर क्यालेन्डर हियरिङ भनेको अध्यागमन मुद्दाको प्रारम्भिक सुनुवाइ हो, जहाँ व्यक्तिमाथि लगाइएका आरोपबारे छलफल गर्ने, मुद्दाको अवस्था बुझ्ने र आगामी प्रक्रिया निर्धारण गर्ने गरिन्छ।
यस्तो सुनुवाइको सट्टा अदालतले एउटा सेड्युलिङ अर्डर जारी गर्नेछ। त्यसमा सम्बन्धित व्यक्ति अमेरिकाबाट निष्कासनयोग्य (रिमुभेबल) हो वा होइन भन्ने विषयमा लिखित जवाफ, दाबी तथा प्रमाण पेस गर्नुपर्नेछ।
अदालतले यस्तो आदेश जारी गरेको मितिले सामान्यतया १० दिनभित्र सम्बन्धित पक्षले आवश्यक कागजात बुझाउनुपर्नेछ। तर, अध्यागमन न्यायाधीशले परिस्थितिअनुसार फरक समयसीमा तोक्न सक्नेछन्।
अदालतमा कागजात पेस भएपछि दुवै पक्षलाई त्यसको जवाफ दिन २० दिनको समय दिइनेछ। त्यसपछि न्यायाधीशले लिखित कागजातकै आधारमा व्यक्ति निष्कासनयोग्य भए वा नभएको निर्णय गर्न, थप प्रमाण वा जानकारी माग्न अथवा यस विषयमा छुट्टै सुनुवाइ तोक्न सक्नेछन्।
यदि न्यायाधीशले सम्बन्धित व्यक्तिलाई निष्कासनयोग्य ठहर गरेमा अदालतले अर्को सेड्युलिङ अर्डर जारी गर्नेछ। त्यसमा निष्कासनबाट राहत वा संरक्षण माग्ने आवेदन, त्यसलाई समर्थन गर्ने प्रमाण तथा अन्य आवश्यक कागजात बुझाउने समयसीमा तोकिनेछ।
यस्ता कागजात बुझाउन सामान्यतया निष्कासनका आरोप कायम गर्ने आदेश जारी भएको मितिले १० दिनको समय दिइनेछ। तर, न्यायाधीशले फरक समयसीमा तोक्न सक्नेछन्। समय थप्न वा ढिलो गरी कागजात पेस गर्न अनुमति माग्दै सम्बन्धित पक्षले अदालतमा निवेदन दिन पनि सक्नेछन्।
नयाँ नीतिले अध्यागमन अदालतलाई पूर्ण आवेदन र त्यससँग सम्बन्धित प्रमाणहरू समीक्षा गरी मुद्दा मुख्य सुनुवाइका लागि तयार भए वा नभएको निर्धारण गर्न निर्देशन दिएको छ।
मुख्य सुनुवाइका लागि तयार भएका मुद्दाहरूलाई अदालतको कार्यभार र उपलब्ध समयअनुसार सामान्यतया ९० दिनभित्र सुनुवाइ गर्ने लक्ष्यसहितको सूचीमा राखिनेछ।
थप तयारी आवश्यक पर्ने मुद्दामा भने छोटो सुनुवाइ, पूर्वसुनुवाइ सम्मेलन (प्रिट्रायल कन्फरेन्स), विशेष प्रकृतिको मुद्दाका लागि छुट्याइएको डकेट वा अर्को सेड्युलिङ अर्डरमार्फत प्रक्रिया अघि बढाउन सकिनेछ।
मुख्य सुनुवाइभन्दा कम्तीमा १० दिनअघि आवेदनमा गरिने संशोधन र थप कागजात पेस गरिसक्नुपर्नेछ। तर, न्यायाधीशले अन्यथा आदेश दिन सक्नेछन्।
मुख्य सुनुवाइअघि सम्बन्धित व्यक्तिले आवश्यक बायोमेट्रिक विवरण र अन्य व्यक्तिगत जानकारी उपलब्ध गराएको छ वा छैन भन्ने पुष्टि गर्न पनि अदालतले होमल्याण्ड सेक्युरिटीलाई निर्देशन दिनेछ।
नयाँ नीतिले तोकिएको समयभित्र कागजात पेस नगरेमा हुन सक्ने परिणामबारे पनि स्पष्ट पारेको छ। लिखित जवाफ समयमै पेस नभएमा होमल्याण्ड सेक्युरिटीले सम्बन्धित व्यक्ति निष्कासनयोग्य रहेको ठहर गर्न र अन्तिम आदेश जारी गर्न अदालतसमक्ष लिखित अनुरोध गर्न सक्नेछ।
त्यस्तै, डीएचएसले तोकिएको समयमा सम्बन्धित व्यक्ति निष्कासनयोग्य रहेको प्रमाणित गर्ने आफ्नो कानुनी दायित्व पूरा नगरेमा, उपयुक्त अवस्थामा प्रतिवादीले मुद्दाको कारबाही अन्त्य गर्न माग गर्दै निवेदन दिन सक्नेछन्।
न्यायाधीशले तोकेको समयभित्र आवेदन वा अन्य आवश्यक कागजात पेस नगरिएमा त्यस्ता कागजात पेस गर्ने अवसर गुमेको मानिने चेतावनी पनि नीतिमा दिइएको छ।
प्रारम्भिक सुनुवाइ हुनुभन्दा १५ दिनभन्दा कम समय बाँकी रहँदा प्रतिनिधित्वसम्बन्धी सूचना पेस गर्ने वकिल वा अन्य अधिकृत प्रतिनिधिले आफ्ना सेवाग्राहीसँगै अदालतमा उपस्थित हुनुपर्नेछ। सुनुवाइ हुने दिनमै यस्तो सूचना पेस गरेमा पनि यो व्यवस्था लागू हुनेछ।
अदालतले सुनुवाइको मिति वा समय परिवर्तन भएको औपचारिक सूचना नदिएसम्म पहिले नै निर्धारित सुनुवाइमा उपस्थित हुनुपर्ने निर्देशन पनि नीतिमा दिइएको छ।
नयाँ प्रक्रिया नोभेम्बर २३ वा त्यसपछि सुरु भएका अध्यागमन मुद्दाहरूमा लागू हुनेछ। यसअघि नै अदालतमा विचाराधीन रहेका मुद्दामा पनि व्यक्तिगत अवस्थाको मूल्यांकन गरी उपयुक्त ठहरिएमा नयाँ प्रक्रिया लागू गर्न सकिनेछ। यसअघि जारी भएका अदालती आदेश भने न्यायाधीशले परिवर्तन वा खारेज नगरेसम्म कायम रहनेछन्।
न्याय मन्त्रालयका अनुसार लिखित जवाफ, पक्षहरूबीचका सहमति तथा संयुक्त निवेदनले नियमित अदालती उपस्थितिमा लाग्ने खर्च घटाउन र विवादित मुद्दाहरूको सुनुवाइ छिटो अघि बढाउन मद्दत गर्नेछ।
यद्यपि, नयाँ नीतिले अध्यागमन न्यायाधीशहरूको स्वतन्त्र निर्णय गर्ने अधिकार र विवेकाधिकारलाई कायम राखेको छ। कुनै पनि मुद्दामा निश्चित परिणाम आउनुपर्ने गरी नीतिले निर्देशन नदिएको पनि नीतिमा उल्लेख छ।





