अदालत परिसरमा आइसको धरपकडविरुद्ध म्यासाचुसेट्स कानुनी लडाइँमा, संघीय अदालतमा मुद्दा दायर
राज्य कानुन उल्लङ्घन गर्दै अदालत परिसरबाट सिभिल पक्राउ जारी राखेको भन्दै म्यासाचुसेट्सकी महान्यायाधिवक्ताले आइसविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरेकी छिन् । ट्रम्प प्रशासनले कार्यभार सम्हालेयता राज्यका अदालतबाट १ हजार १ सय १० भन्दा बढी व्यक्ति पक्राउ परिसकेको दाबी गरिएको छ ।
फोटो : टिन्गी इन्जुरी ल फर्म
म्यासाचुसेट्सकी महान्यायाधिवक्ता आन्द्रेया जोय क्याम्पबेलले राज्यका अदालत परिसरहरूमा अमेरिकी आइसद्वारा गरिने सिभिल पक्राउमा रोक लगाउन सोमबार संघीय अदालतमा मुद्दा दायर गरेकी छिन् । डेमोक्र्याटिक पार्टीकी महान्यायाधिवक्ता क्याम्पबेलले आइसले जारी गरेको निर्देशिका गैरकानुनी रहेको दाबी गर्दै बोस्टनस्थित संघीय अदालतमा उक्त मुद्दा दर्ता गरेकी हुन् ।
मुद्दाको विवरणअनुसार रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष कार्यभार सम्हालेयता आइसले म्यासाचुसेट्सका अदालत परिसरबाट १ हजार १ सय १० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिसकेको छ । ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिको विषयलाई लिएर संघीय प्रशासन र राज्यका अधिकारीहरूबीच चर्किएको विवादको यो पछिल्लो कडी हो ।
म्यासाचुसेट्सको डेमोक्र्याटिक नेतृत्वको विधायिकाले पारित गरेको नयाँ राज्य कानुन ‘प्रोटेक्ट एक्ट’ गत नोभेम्बर ३ देखि लागू भएको छ । उक्त कानुनले अदालतको न्यायिक पक्राउ पुर्जीबिना राज्यका अदालत परिसरमा सिभिल अध्यागमन पक्राउ गर्न स्पष्ट रूपमा प्रतिबन्ध लगाएको छ ।
महान्यायाधिवक्ता क्याम्पबेलले आइसले उक्त राज्य कानुनको बेवास्ता गर्दै पछिल्लो साढे दुई हप्तामा मात्रै अदालतको पुर्जीबिना म्यासाचुसेट्सका अदालतहरूबाट कम्तीमा ३८ जनालाई पक्राउ गरेको आरोप लगाएकी छिन् । क्याम्पबेलले एक विज्ञप्ति जारी गर्दै आइसले जानाजानी राज्य कानुनको उल्लङ्घन गर्दा अनावश्यक त्रास फैलिएको र अदालत सञ्चालन गर्न तथा प्रतिवादीहरूलाई जवाफदेही बनाउन कठिन भएको बताएकी छिन् ।
तत्कालीन आइस प्रमुख टोड लायन्सले सन् २०२५ को मे महिनामा जारी गरेको ज्ञापनपत्रका आधारमा एजेन्टहरूले अदालत परिसर वा त्यसको आसपासमा पक्राउ गरिरहेका छन् । गत जुन महिनामा सान होजेस्थित अमेरिकी जिल्ला न्यायाधीश पी. केसी पिट्सले एक सामूहिक मुद्दामा आइसको उक्त नीति खारेज गरिदिए पनि म्यासाचुसेट्समा पक्राउ क्रम नरोकिएको क्याम्पबेलको जिकिर छ ।
दैनिक प्रशासनिक कार्यविधि ऐनको उल्लङ्घन गर्नुका साथै अध्यागमन तथा राष्ट्रियता ऐनले यस्ता पक्राउको स्पष्ट अधिकार नदिएको मुद्दामा उल्लेख छ । साथै, उक्त नीतिले राज्यहरूको अधिकार सुरक्षित गर्ने अमेरिकी संविधानको दशौँ संशोधनको मर्मविपरीत म्यासाचुसेट्सको न्यायिक प्रणाली सञ्चालन गर्ने अधिकारमा हस्तक्षेप गरेको दाबी गरिएको छ ।
यता, आइसको सुपरीवेक्षण गर्ने अमेरिकी होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले भने अदालत परिसरमा गरिने पक्राउको बचाउ गरेका छन् । लक्षित व्यक्ति कहाँ भेटिन्छ भन्ने पहिले नै थाहा हुने भएकाले अदालतबाट पक्राउ गर्दा कानुन कार्यान्वयन गर्ने निकायको महत्त्वपूर्ण स्रोत र समय बचत हुने प्रवक्ताको भनाइ छ ।
यसअघि यही महिनाको सुरुमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले पनि राज्यका अदालतहरूमा आइसको पक्राउ रोक्न यस्तै प्रकृतिको मुद्दा दायर गरेका थिए । ट्रम्पको पहिलो कार्यकालमा पनि म्यासाचुसेट्सका स्थानीय न्यायाधिवक्ता र सार्वजनिक प्रतिरक्षकहरूले यस्तै रोक लगाउने आदेश प्राप्त गरेका थिए, तर सन् २०२० मा संघीय पुनरावेदन अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । यद्यपि, यसपटकको मुद्दा फरक कानुनी तर्कहरूमा आधारित रहेको महान्यायाधिवक्ता क्याम्पबेलले स्पष्ट पारेकी छिन् ।





