अमेरिकी नागरिकलाई नै कागजातविहीन आप्रवासी ठानेर मेक्सिको डिपोर्ट गरेको ट्रम्प प्रशासनद्वारा अदालतमा स्वीकार
ट्राफिक जाँचका क्रममा परिचयपत्र नभएकै कारण हिरासतमा लिइएका टेक्ससका एक युवकलाई गल्तीले मेक्सिको पठाइएको ट्रम्प प्रशासनले अदालतमा स्वीकार गरेको छ। गल्ती सच्याउँदै उनलाई अमेरिका फर्काइसकिएको भन्दै सरकारले क्षतिपूर्ति मुद्दा खारेज गर्न माग गरेको छ।
फोटो: होमल्याण्ड सेक्युरिटी
ट्रम्प प्रशासनले एक अमेरिकी नागरिकलाई गलत रूपमा कागजातविहीन आप्रवासी ठानेर मेक्सिको देश निकाला गरेको संघीय अदालतमा स्वीकार गरेको छ।
टेक्सासको अस्टिन निवासी २५ वर्षीय ब्रायन होजे मोरालेस गार्सियाले संघीय सरकारविरुद्ध दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दा खारेज गर्न माग गर्दै अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका वकिलहरूले शुक्रबार अदालतमा यस्तो स्वीकारोक्ति पेस गरेका हुन्।
डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा चलाएको आक्रामक सामूहिक देश निकाला अभियानलाई लिएर ह्वाइट हाउसले दुवै दलबाट आलोचना खेपिरहेका बेला यो घटना सार्वजनिक भएको हो। गत नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसको नियन्त्रण गुमाउनुमा यही आक्रामक नीतिलाई एक प्रमुख कारक मानिएको छ।
कोलोराडोको डेनभरमा जन्मिएका तर मेक्सिकोमा हुर्किएका मोरालेस गार्सिया एयर कन्डिसन जडान गर्ने प्राविधिकका रूपमा कार्यरत थिए। गत अप्रिल ३ मा आफ्ना रोजगारदातासँग काममा जाँदै गर्दा टेक्सासको फ्रेडरिक्सबर्ग नजिकै राज्य तथा स्थानीय प्रहरीले उनीहरूको गाडी रोकेर जाँच गरेको थियो।
गाडीमा यात्रुका रूपमा रहेका गार्सियासँग त्यतिबेला परिचयपत्र थिएन। उनले आफूसँग घरमा जन्मदर्ता प्रमाणपत्र र सोसल सेक्युरिटी कार्ड रहेको बताए पनि प्रहरीले विश्वास गरेनन् र अध्यागमन एजेन्टहरूलाई बोलाएर उनलाई हिरासतमा लिइयो।
अदालती दस्तावेजअनुसार अमेरिकी भन्सार तथा सीमा सुरक्षाका एजेन्ट रोबर्ट गिल जुनियरले मेक्सिकोको रेकर्ड हेर्दा गार्सियाको जन्मस्थान मेक्सिको उल्लेख भएको पाएका थिए। गिल जुनियरले गार्सिया स्पेनी भाषा मात्र बोल्ने र उनले आफैँ मेक्सिकोमा जन्मिएको बताएको आरोप लगाएका थिए। त्यसपछि अप्रिल ७ मा उनलाई मेक्सिको डिपोर्ट गरियो र ट्रम्प प्रशासनले विज्ञप्ति जारी गर्दै उनी अमेरिकामा गैरकानुनी रूपमा बसिरहेको दाबी गरेको थियो।
मे १ मा गार्सियाका वकिलहरूले सरकारविरुद्ध मुद्दा दायर गरे। एजेन्टहरूले जेल हाल्ने धम्की दिएपछि बाध्य भएर उनले आफू अवैध रूपमा अमेरिका प्रवेश गरेको झुटो बयान दिएको र छिटो डिपोर्ट हुने कागजातमा हस्ताक्षर गरेको मुद्दामा उल्लेख छ। डिपोर्ट गर्नुअघि परिवार र साथीहरूले उनको अमेरिकी नागरिकता प्रमाणित गर्ने कागजात बुझाउन खोज्दा अधिकारीहरूले अस्वीकार गरेको दाबी पनि गरिएको छ।
शुक्रबार अदालतमा पेस गरिएको जवाफमा ट्रम्प प्रशासनले गार्सियामाथि धम्की दिइएको अस्वीकार गर्दै उनी स्वेच्छाले मेक्सिको गएकाले क्षतिपूर्ति माग्ने आधार नभएको जिकिर गरेको छ। यद्यपि, प्रशासनले गार्सियाको जन्मस्थानसम्बन्धी जानकारीको समीक्षा गरेपछि गत अगस्ट ३० मा उनलाई पुनः अमेरिका प्रवेशको अनुमति दिइएको स्वीकार गरेको छ।
टेक्सासको पश्चिमी जिल्लाका अमेरिकी महान्यायाधिवक्ता जस्टिन सिमन्सले अदालतमा पेस गरेको दस्तावेजमा लेखेका छन्, गार्सिया अमेरिका र मेक्सिकोका दोहोरो नागरिक हुन्।
अमेरिकी कानुनअनुसार नागरिकहरूले दैनिक कामकाजमा हिँड्दा नागरिकताको प्रमाणपत्र साथमै बोक्न अनिवार्य छैन। स्थानीय प्रहरी अधिकारीहरूलाई अध्यागमन नीतिका सूक्ष्म पक्षबारे जानकारी नहुँदा यस्ता गल्ती हुने गरेको कानुनविद्हरू बताउँछन्। टेक्सासको जनसुरक्षा विभाग संघीय अध्यागमन निकायसँग सहकार्य गर्ने ‘२८७ (जी)’ कार्यक्रमअन्तर्गत आबद्ध छ।
अक्टोबर २०२५ मा सार्वजनिक एक प्रतिवेदनअनुसार डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो नौ महिनाभित्र अध्यागमन एजेन्टहरूले १७० भन्दा बढी अमेरिकी नागरिकलाई हिरासतमा लिएका थिए। यसअघि गत जुलाईमा गरिएको एक विश्लेषणले समेत अध्यागमन एजेन्टहरूमाथि गाडीले आक्रमण गर्न खोजिएको दाबी गर्दै ट्रम्प प्रशासनले जारी गरेका २६ वटा प्रेस विज्ञप्तिमध्ये अधिकांश झुटो साबित भएको वा ती मुद्दाहरू पछि फिर्ता लिइएको तथ्य बाहिर ल्याएको थियो।
मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश रोबर्ट ली पिटम्यानले सरकारको मुद्दा खारेजीको मागबारे शुक्रबार तत्काल कुनै आदेश दिएनन्। गार्सियाले मुद्दामा टेक्सस राज्य तथा स्थानीय कानुन कार्यान्वयन गर्ने अधिकारीहरूलाई समेत विपक्षी बनाएका छन्।





