सियाटल विमानस्थलको जेट ब्रिजबाटै दुई यात्रु पक्राउ,अध्यागमन अधिकारीको शैलीप्रति तीव्र आक्रोश
बिनापूर्वसूचना मुकुण्डो लगाएर विमानस्थलको जेट ब्रिजबाट यात्रु घिसारेर लगिएपछि वासिङ्टनका गभर्नर र सांसदहरूले अध्यागमन निकायको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। विमानस्थलमा बढ्दो यस्तो धरपकड र कडा देश निकाला नीतिले राजनीतिक बहस चर्किरहेका बेला यो घटनाले यात्रु र कर्मचारीमा त्रास फैलाएको छ।
तस्वीर : आइस
अमेरिकाको सियाटल-टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्ने क्रममा रहेका दुई यात्रुलाई मुकुण्डोधारी अध्यागमन अधिकारीहरूले पक्राउ गरेका छन्। शनिबार बिहान लस एन्जलसका लागि उड्न लागेको अलास्का एयरलाइन्सको विमान चढ्न जेट ब्रिजमा लामबद्ध भएका बेला अमेरिकी आइसका अधिकारीहरूले उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
घटनाको सार्वजनिक भिडियोमा अधिकारीहरूले कम्तीमा एक व्यक्तिलाई जेट ब्रिजबाट घिसार्दै लगेको देखिन्छ। सोही क्रममा एक महिलाले आफ्नी छोरीलाई पक्राउ गरिएको र उनीसँग कार्य अनुमति रहेको भन्दै चिच्याइरहेको आवाज सुनिन्छ। यो घटनापछि बिहान ८:१० बजे उड्ने तालिका रहेको अलास्का एयरलाइन्सको उडान नम्बर १३०६ को उडान तालिका प्रभावित भई ढिलाइ भएको थियो।
थ्याङ्क्सगिभिङ बिदाको अघिल्लो व्यस्त सप्ताहान्तमा भएको यस कारबाहीबारे अध्यागमन अधिकारीहरूले पूर्वजानकारी नदिएको अलास्का एयरलाइन्सले जनाएको छ। विमान कम्पनीले एक विज्ञप्ति जारी गर्दै यात्रु र कर्मचारीका लागि यो घटना निकै पीडादायी र चिन्ताजनक रहेको बताएको छ।
अध्यागमन निकायको मातृ संस्था होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले शनिबार साँझ दिएको जानकारी अनुसार, भिसाको म्याद नाघेपछि पनि अमेरिकामा बसिरहेका मेक्सिकन नागरिक रिकार्डो लारोन्डो मेन्डोजालाई लक्षित गरी कारबाही गरिएको हो।
प्रवक्ताका अनुसार, मेन्डोजालाई पक्राउ गर्ने क्रममा सोफिया हर्नान्डेज मेजिया नामकी अर्की यात्रुले अधिकारीहरूमाथि तातो कफी प्रहार गरेकी थिइन्। मेक्सिकन नागरिक नै रहेकी मेजियाको पनि भिसाको म्याद नाघेको पाइएको र उनलाई समेत पक्राउ गरी सङ्घीय अधिकारीमाथि आक्रमण गरेको अभियोगमा मुद्दा चलाइने डीएचएसले जनाएको छ।
बिना कुनै परिचय खुल्ने पोसाक र खाकी पाइन्ट लगाएका अधिकारीहरूले यात्रुहरूको भीडबीच भुइँमा लडाएर नियन्त्रणमा लिएको दृश्य भिडियोमा देखिन्छ। यस घटनाको वासिङ्टनका गभर्नर बब फर्गुसन तथा डेमोक्रेटिक सांसदहरू एडम स्मिथ र प्रमिला जयपालले कडा शब्दमा निन्दा गरेका छन्। गभर्नर फर्गुसनले पहिचान नखुलाई मुकुण्डो लगाएर विमान चढ्न लागेका यात्रुलाई घिसार्नु गैर-अमेरिकी शैली भएको र अध्यागमन निकाय पूर्ण रूपमा नियन्त्रण बाहिर गएको टिप्पणी गरेका छन्। विमानस्थल व्यवस्थापन गर्ने ‘पोर्ट अफ सियाटल’ ले पनि घटनाबारे सङ्घीय अधिकारीहरूसँग जवाफ मागिने जनाएको छ।
आइसले गत ग्रीष्म ऋतुयता यातायात सुरक्षा प्रशासनसँगको सहकार्यमा विमानस्थलहरूबाट भिसा अवधि नाघेका व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम तीव्र पारेको छ। यसअघि बिहीबार मात्र वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन नेसनल एयरपोर्टबाट प्रिन्सटन विश्वविद्यालयकी एक चिनियाँ विद्यार्थीलाई समेत आइसले नियन्त्रणमा लिएको थियो।
डीएचएसको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०२६ मा आइसले कीर्तिमानी ४ लाख ९१ हजार जनालाई पक्राउ गरेको छ, जसमा आपराधिक अभियोग नभई कागजातसम्बन्धी प्रशासनिक उल्लङ्घनमा पक्राउ पर्नेको सङ्ख्या करिब ४ लाख ७५ हजार रहेको छ।
यसै महिनाको सुरुमा मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो हारपछि ‘सिक्स्टी मिनट्स’ सँगको अन्तर्वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो प्रशासनको कडा अध्यागमन नीतिले चुनावी नतिजामा असर पारेको सङ्केत गरेका थिए। ट्रम्पले आपराधिक पृष्ठभूमि भएकालाई निकाल्ने कामको प्रशंसा भए पनि रोजगारी गरिरहेका र कर तिरिरहेका असल मानिसहरूलाई समेत देश निकाला गर्दा ठूलो सङ्ख्यामा मानिसहरू असन्तुष्ट बनेको र आफ्नो नीति अलि बढी नै कडा भएको स्वीकार गरेका थिए।





