३ मंसिर २०८३, बिहिबार| Thursday, November 19, 2026
अमेरिका

अमेरिकामा थ्याङ्क्सगिभिङ भोजको लागत ६ प्रतिशतले बढ्यो, औसत खर्च ५८.६३ डलर पुग्ने

इन्धन लागत र टर्कीको कीर्तिमानी मूल्यका कारण यो वर्ष थ्याङ्क्सगिभिङ भोजको लागत ५८.६३ डलर पुग्ने भए पनि केही खुद्रा पसलले सस्तो प्याकेज ल्याएका छन्

Photo: Megan Watson/Unsplash

टर्कीको कीर्तिमानी मूल्य र इन्धनको लागत बढेका कारण यो वर्षको थ्याङ्क्सगिभिङ रात्रिभोज अघिल्लो वर्षको तुलनामा महँगो हुने देखिएको छ। बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणअनुसार १० जनाको परिवारका लागि औसत थ्याङ्क्सगिभिङ भोजको लागत गत वर्षको तुलनामा ६ प्रतिशतले बढेर ५८.६३ डलर पुग्ने भएको छ।

अमेरिकी फार्म ब्युरो फेडेरेसनले अमेरिकाका ५० वटै राज्य र पुएर्तो रिकोमा सयौँ स्वयंसेवकहरू परिचालन गरी खाद्यान्नको मूल्य संकलन गरेको हो। विगत ४० वर्षदेखि थ्याङ्क्सगिभिङको लागत मापन गर्दै आएको ब्युरोका अनुसार सन् २०२२ यता पहिलोपटक यो पर्वको भोज महँगिएको हो। सन् २०२२ मा यस्तो भोजको खर्च कीर्तिमानी ६४.०५ डलर पुगेको थियो।

डिजेलको उच्च मूल्यका कारण किसानहरूलाई दूध, डिनर रोल, आलु र क्र्यानबेरी जस्ता थ्याङ्क्सगिभिङका मुख्य परिकार प्रशोधन र ढुवानी गर्न महँगो परेको ब्युरोले जनाएको छ। अमेरिकन अटोमोबाइल एसोसिएसनका अनुसार इरान युद्ध सुरु भएयता डिजेलको भाउ आकाशिएको छ। सेप्टेम्बरमा अमेरिकामा डिजेलको औसत मूल्य प्रतिग्यालन ६.५३ डलरको कीर्तिमानी उचाइमा पुगेको थियो। बुधबार डिजेलको औसत मूल्य प्रतिग्यालन ५.९६ डलर कायम भएको छ, जुन गत वर्षको तुलनामा ५८ प्रतिशतले बढी हो।

बितेको एक वर्षमा टर्कीको मूल्य पनि तीव्र गतिमा बढेको छ। ब्युरोको सर्वेक्षणमा समेटिएको १६ पाउन्डको टर्कीको औसत मूल्य गत वर्ष २१.५० डलर रहेकोमा यो वर्ष बढेर २३.६८ डलर पुगेको छ। सन् २०२२ देखि फैलिएको बर्ड फ्लुका कारण अमेरिकी टर्की फार्महरू नराम्ररी प्रभावित भएका थिए। तर, लिप मार्केट एनालिटिक्सका कार्यकारी निर्देशक मार्क जोर्डनका अनुसार अहिले संक्रमण घट्दै गएको छ र यो वर्ष टर्कीको उत्पादन उल्लेख्य रूपमा बढेको छ।

उत्पादन बढे पनि प्रोटिनयुक्त मासुको खोजी र अमेरिकी टर्कीको निर्यात बढेका कारण बजारमा माग उच्च छ। उच्च मागका कारण मौज्दात सीमित भई मूल्य बढेको हो। अमेरिकी कृषि मन्त्रालयले यो वर्ष सिङ्गो फ्रोजन टर्कीको थोक मूल्य प्रतिपाउन्ड कीर्तिमानी १.७६ डलर पुग्ने अनुमान गरेको छ, जुन गत वर्षभन्दा २९ प्रतिशतले बढी हो। जोर्डनका अनुसार इन्धनको मूल्य बढ्नुअघि नै यो वर्ष खपत हुने टर्कीसम्बन्धी अधिकांश प्रक्रिया तय भइसकेकाले अहिलेको मूल्यमा डिजेलको असर कम देखिएको हो, तर आगामी वर्ष भने डिजेलको मूल्यले टर्कीको भाउमा ठूलो प्रभाव पार्न सक्छ।

फार्म ब्युरोका अनुसार थ्याङ्क्सगिभिङ मेनुका केही वस्तु भने गत वर्षभन्दा सस्ता भएका छन्। गाजर र सेलेरी सहितको १ पाउन्डको तरकारी ट्रे ५ सेन्टले र १६ औंसको फ्रोजन केराउ ४ सेन्टले सस्तो भएको छ। फ्रोजन पाई क्रस्ट पनि केही सस्तो भएको छ, यद्यपि फर्सीको पाई फिलिङको मूल्य भने बढेको छ।

ग्राहक तान्नका लागि कतिपय खुद्रा पसलहरूले भने सस्तो प्याकेज ल्याएका छन्। एल्डीले १० जनाका लागि थ्याङ्क्सगिभिङ भोज ३९ डलरमा र वालमार्टले ३५ डलरमा उपलब्ध गराउने जनाएका छन्।

कोरोना महामारीयता निरन्तर बढिरहेको खाद्यान्न मूल्यले अमेरिकी नागरिकलाई निराश बनाएको छ र हालैको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको हारमा पनि यसले भूमिका खेलेको विश्लेषण गरिएको छ। अमेरिकी सरकारी तथ्यांकअनुसार अक्टोबर २०२१ देखि अक्टोबर २०२६ को बीचमा घरमै खाइने खाद्यान्नको मूल्य २२ प्रतिशतले बढेको छ, जुन सामान्य मूल्यवृद्धि दरको झन्डै दोब्बर हो। यद्यपि, कृषि मन्त्रालयले यो वर्ष घरमा खाइने खाद्यान्नको मूल्य २.३ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरेको छ, जुन पछिल्लो वार्षिक औसत २.६ प्रतिशतभन्दा कम हो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →