ह्वाइट हाउस नजिकै राष्ट्रपति ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्ति हतियारसहित गिरफ्तार
Photo: David Everett Strickler/ Unsplash
अमेरिकी सिक्रेट सर्भिसले बिहीबार ह्वाइट हाउस नजिकैबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। चोरीको गाडीमा धेरै वटा हातहतियार बोकेका ती व्यक्तिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिएका थिए।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार सिक्रेट सर्भिसका एजेन्टहरूले ह्वाइट हाउस नजिकै पार्क गरिएको गाडीभित्र रोनी योर्ड्रिक्स गुआनिपा क्रिनोस नामक व्यक्तिलाई शङ्कास्पद अवस्थामा देखेका थिए। डीएचएसका अनुसार उनी भेनेजुएलाका नागरिक हुन् र अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गरेका थिए।
डीएचएसद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “सुरक्षाकर्मीहरूले सोधपुछ गर्दा ती व्यक्तिले आफ्नो दिमागमा आवाज आएको र सोही आवाजले वासिङ्टन डी.सी. गएर राष्ट्रपति ट्रम्पको हत्या गर्न भनेको बताएका थिए। त्यसपछि अधिकारीहरूले उक्त गाडी चोरीको भएको पत्ता लगाएका थिए र अभियुक्तले पनि गाडीमा हतियार रहेको स्वीकार गरेका थिए।”
गाडीको तलासी लिने क्रममा एजेन्टहरूले एउटा राइफल, दुई वटा पेस्तोल र दर्जनौँ राउन्ड गोली बरामद गरेका छन्।
क्रिनोसलाई अवैध हतियार राखेको, अनुमति बिना सवारी साधन प्रयोग गरेको र चोरीको सम्पत्ति कब्जामा लिएको लगायतका धेरै अभियोगमा गिरफ्तार गरिएको छ। उनी हाल अमेरिकी मार्शल्स सर्भिसको हिरासतमा छन्। डीएचएसका अनुसार उनी सन् २०२४ मा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए।
हाम्रा सुरक्षाकर्मीहरूले आफ्नो गहन तालिम र अनुभवको प्रयोग गरी हाम्रा विशिष्ट व्यक्तिहरू र सर्वसाधारण नागरिकका लागि उत्पन्न गम्भीर खतरालाई नियन्त्रणमा लिएको यो पछिल्लो उदाहरण हो,” अमेरिकी सिक्रेट सर्भिसका निर्देशक सिन करनले भने, “यस घटनाले हामी कार्यरत रहेको उच्च सुरक्षा चुनौतीको वातावरण र ह्वाइट हाउस परिसरतिर हतियारसहित आकर्षित हुने मानिसहरूको निरन्तर सङ्ख्यालाई दर्शाउँछ।
सिक्रेट सर्भिसका अनुसार पछिल्लो समय ह्वाइट हाउस वरपर मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूसँग जोडिएका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको छ। अधिकारीहरूका अनुसार मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूका लागि ह्वाइट हाउस र राष्ट्रपति पद एक साङ्केतिक केन्द्रका रूपमा देखिने गरेको छ।
यसअघि मे महिनामा पनि ह्वाइट हाउसको सुरक्षा चेकपोइन्ट नजिकै गोली चलाएपछि मानसिक स्वास्थ्य समस्या भएका एक व्यक्तिलाई सिक्रेट सर्भिसका अधिकारीहरूले गोली हानी मारेका थिए।





