‘न खबर आयो, न फर्किए घर’ : बाढीपछि ४ पत्रकार अझै सम्पर्कविहीन
बाढीमा बेपत्ता पत्रकारहरू
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । बाढीको भीषण भेलका कारण हालसम्म १३ सय जना बढीको शव फेला परेको छ भने ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका छन् । बाढीका कारण हजारौँ मानिस अझै बेपत्ता छन् । बेपत्ता हुनेहरूको सूचीमा अहोरात्र सूचना प्रवाहमा खट्ने पत्रकार र उनीहरूका परिवारका सदस्यहरूसमेत परेका छन् ।
नेपाल पत्रकार महासङ्घका अनुसार बाढीपछि सम्पर्कविहीन बनेका ४ जना पत्रकार तथा सञ्चारकर्मी अझै सम्पर्कमा आउन सकेका छैनन् । उनीहरूका परिवार भने ‘फर्किआउलान् कि’ भन्ने झिनो आशा र प्रतीक्षामा टोलाइरहेका छन् ।
नयाँ पत्रिका दैनिकका पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकबहादुर थामी बाढीपछि बेपत्ता छन् । भदौ ९ गते केरुङमा आयोजित एउटा कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका थामी भदौ १० गतेदेखि परिवारको सम्पर्कमा छैनन् ।
लगातार प्रयास गर्दा पनि श्रीमान्को कुनै खबर नआएपछि थामीकी श्रीमती तथा पत्रकार कालिका खड्काले सामाजिक सञ्जालमा पीडा पोख्दै लेखेकी छिन्, “तिमी एक–दुई घण्टा मसँग सम्पर्क नहुँदा पनि आत्तिन्थ्यौ त जी ! तिमी सम्पर्कमा नआएको आज एक हप्ता भइसक्यो । तिमीलाई हामी पनि आत्तियौँ होला भन्ने लागेन? हामी त पर्खेको पख्र्यै छौँ…।”

नयाँ पत्रिका दैनिकमै कार्यरत थामीका सहकर्मी शिवहरी घिमिरे अहिलेसम्म थामीको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको बताउँछन् । “दाइको अवस्थाबारे अहिलेसम्म कुनै खबर आएको छैन,” घिमिरे भन्छन्, “हाम्रो प्रार्थना दाइ छिट्टै भेटिनुहुनेछ । आशाको दियो निभ्ने छैन ।”
नयाँ पत्रिका दैनिकमा कार्यरत थामी झन्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी विशेष गरी सुरक्षा, रक्षा र विकास मामिलामा रिपोर्टिङ गर्दै आएका थिए ।
सम्पर्कविहीन हुने अर्का पत्रकार हुन्, भक्तपुरका शेखर ढुङ्गाना । मानसरोवर भ्रमणमा निस्किएका ढुङ्गाना भदौ १० गते बुधबारदेखि पत्नीसहित परिवारको सम्पर्कबाहिर छन् । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका भक्तपुर चाँगुनारायण–९ ताथलीका पत्रकार शेखर ढुङ्गाना र उनकी पत्नी निर्मला ढुङ्गानाको कुशको शव बनाई दाहसंस्कार गरिएको छ । बेपत्ता भएको आठौँ दिनसम्म पनि पत्ता नलागेपछि परिवारले बिहीबार हिन्दु परम्पराअनुसार उनीहरूको कुशको शव बनाई अन्तिम संस्कार गरेको हो ।

पत्रकार महासङ्घ भक्तपुरका अनुसार ढुङ्गाना दम्पती भदौ ९ मा कैलाश मानसरोवर यात्रामा गएका थिए । यात्राका क्रममा भदौ १० गते रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा नाम दर्ता गरी चीन प्रवेश गर्ने क्रममा रहेका बेला अचानक आएको विनाशकारी बाढीमा परी उनीहरू बेपत्ता भएका थिए । पत्रकार ढुङ्गानाका आमा र दुई छोरा छन् ।
यस्तै, नुवाकोटको रेडियो राजमार्गमा कार्यरत राष्ट्रिय दलित पत्रकार सङ्घ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली पनि भोटेकोशीको बाढीपछि बेपत्ता छन् ।

शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा पनि परिवारका सदस्यसहित सम्पर्कविहीन छन् । आमा र दिदीसहित तिब्बतस्थित कैलाश मानसरोवर तीर्थाटनका लागि निस्किएका सिम्खडा रसुवाको टिमुरे क्षेत्रबाट भदौ १० गते आएको बाढीपछि हराइरहेका हुन् ।
शिलापत्रका अनुसार सिम्खडा ९ भदौमा काठमाडौँबाट तिब्बतको कैलाश मानसरोवर यात्रामा निस्किएका थिए । सोही क्रममा ९ भदौमा सिम्खडा रसुवाको टिमुरेस्थित होटेल कैलाशमा बास बसेका थिए । सिम्खडासँगै आमा गोमा सिम्खडा र दिदी शारदा सिम्खडा यात्रारत थिए । उनीहरू तीनै जना १० भदौ बिहानदेखि सम्पर्कमा आएका छैनन् ।

बाढी आएको दिन बुधबार बिहान साढे ७ बजेसम्म सिम्खडाको काठमाडौँस्थित परिवार र शिलापत्रसँग सम्पर्क भएको थियो । त्यसयता उनीसँग कुनै सम्पर्क हुन सकेको छैन ।
पत्रकारका परिवार पनि बेपत्ता, आश हराएपछि काजकिरिया सुरु
बाढीले पत्रकारलाई मात्र होइन, उनीहरूका परिवारलाई पनि खोसेको छ । रसुवाका पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य बाढीपछि सम्पर्कविहीन रहेको महासङ्घले जनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका–६ स्थायी ठेगाना भएका पौडेलका बुबा वासुदेव, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी भदौ १० गते बुधबार बिहानदेखि सम्पर्कमा आएका छैनन् ।

विभिन्न स्थानमा खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि र फेला पर्ने सम्भावना क्षीण भएपछि परिवारजनले बुधबारदेखि उनीहरूको अन्तिम संस्कार (काजकिरिया) को प्रक्रिया सुरु गरेका छन् । पौडेल रातोपाटी डटकममा रिपोर्टिङ गर्छन् ।

खोज-उद्धार र कूटनीतिक पहलका लागि महासङ्घको माग
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका ४ जना पत्रकार अझै बेपत्ता रहेको बताए । उनले बाढीका कारण बेपत्ता पत्रकारको खोजीकार्य तथा प्रभावित सञ्चारमाध्यमको पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको जानकारी दिए ।
“बाढीपछि सम्पर्कविहीन हुनुभएका पत्रकारहरूको अवस्थाबारे अहिले केही खबर प्राप्त हुन सकेको छैन,” महासचिव दाहालले भने, “हामीले सरकारलाई पत्राचार गर्दै गृहमन्त्री सुधन गुरुङ र परराष्ट्र मन्त्री शिशिर खनालसमक्ष बेपत्ताहरूको खोजी, उद्धार तथा प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छौँ ।”
साथै, सीमावर्ती क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीका लागि छिमेकी मुलुक चीन र भारतसँग आवश्यक कूटनीतिक पहल गर्नसमेत महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ ।

बाढीले स्थानीय सञ्चारमाध्यममा ठूलो क्षति, सूचनाको पहुँच प्रभावित
भोटेकोशी बाढीले सञ्चारकर्मीलाई मात्र नभई स्थानीय सञ्चारमाध्यमका पूर्वाधारलाई समेत तहसनहस पारेको छ । पत्रकार महासङ्घका अनुसार बाढीका कारण नुवाकोट एफएमको विद्युत्, फाइबर तथा ब्याकअप प्रणालीमा पूर्ण रूपमा क्षति पुगेको छ ।
यसैगरी, विद्युत् सेवा अवरुद्ध हुँदा रसुवा एफएम, रेडियो लाङटाङ (रसुवा), जालपा रेडियो (नुवाकोट) र रेडियो भैरवी (नुवाकोट) को प्रसारण प्रभावित तथा बन्द भएको छ ।





