२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

भोटेकोशीमा आएको बाढीका कारण २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नुवाकोटको त्रिशूली बजार । तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीका कारण सो क्षेत्रमा रहेका र यात्रा गरिरहेका ३८४ जना यात्रु (पर्यटक) सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेहरूमा २९१ विदेशी र ९३ नेपाली नागरिक रहेका छन् ।

पर्यटन एजेन्सीहरूबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ट्रेकर्स सोसाइटीबाट ७७ विदेशी र १५ नेपालीसहित सबैभन्दा बढी ९२ जना यात्रु सम्पर्कविहीन छन् । त्यस्तै सम्राट टुर्स एन्ड ट्राभल्सका ५९ भारतीय र १२ नेपालीसहित ७१ जना तथा लिफ होलिडेबाट ४६ भारतीय र ९ नेपालीसहित ५५ जना बेपत्ता भएका छन् ।

हिमालयन ग्लेसियरका ३७ विदेशी (एनआरआई) र १५ नेपाली गरी ५२ जना, कैलाश जर्नीका २६ विदेशी र ५ नेपाली गरी ३१ जना, तथा फिसटेल टुर्सका १७ मलेसियाली, ३ अमेरिकी र ७ नेपाली गरी २७ जना सम्पर्कमा आएका छैनन् ।

यसैगरी, अल्पाइन इको ट्रेकका १२ बेलायती, ४ दक्षिण अफ्रिकी र ४ नेपालीसहित २० जना, काठमाडौं होलिडे टुर्सका १ अस्ट्रेलियन, १ नेदरल्यान्ड्सका नागरिक र १५ नेपालीसहित १७ जना, रिचा टुर्सका ८ विदेशी र ४ नेपालीसहित १२ जना तथा एक्सप्लोर भ्याकेसनका ७ जना नेपाली यात्रु पनि बाढीपछि बेपत्ता भएका छन् ।

बुधबार बिहान करिब साढे ८ बजे बाढी आएलगत्तै पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायहरूले प्रभावित क्षेत्रमा रहेका यात्रुहरूको अवस्था यकिन गर्न थालेका हुन् । बोर्डका अनुसार ट्राभल एजेन्सी, स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा प्राप्त नामावली तथा तथ्याङ्कको प्रमाणीकरण र क्रस-चेक गर्ने काम भइरहेको छ ।

नेपाल पर्यटन बोर्डले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूलाई संयमित रहन, आधिकारिक सूचनाको मात्र पालना गर्न र सुरक्षा निकायको निर्देशन मान्न आग्रह गरेको छ । आपत्कालीन सहयोग वा जानकारीका लागि बोर्डले टोल-फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।