काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खोल्न नेपाल सरकारको सहमति
नेपाल सरकारले काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न सहमति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यालय खोल्न पोर्चुगल सरकारलाई सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
नेपालले कूटनीतिक प्रतिनिधित्व हुने गरी काठमाडौँमा नियोग स्थापनाका लागि गरेको आग्रहबमोजिम पोर्चुगलले कन्सुलर कार्यालय खोल्ने निर्णय गरी स्वीकृतिका लागि अनुरोध गरेको थियो । सोही अनुरोधअनुसार मन्त्रिपरिषद्ले सहमति दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
पछिल्लो समय वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि पोर्चुगल नेपालीहरूको प्रमुख रोजाइ बन्दै गएको छ । नेपालमा पोर्चुगलको दूतावास वा कन्सुलर कार्यालय नहुँदा भिसा तथा कन्सुलर सेवाका लागि नेपालीहरू भारतको नयाँ दिल्ली पुग्न बाध्य थिए ।
काठमाडौँमा कन्सुलर कार्यालय सञ्चालनमा आएपछि दिल्ली जानुपर्ने बाध्यता हट्नेछ । यसबाट पारिवारिक पुनर्मिलन, कागजात प्रमाणीकरण र भिसासम्बन्धी कामका लागि पोर्चुगलमा रहेका नेपाली र तिनका परिवारलाई राहत पुग्नेछ ।
साथै, यस कदमले दुई देशबीचको जनस्तरको सम्बन्ध थप प्रगाढ हुने विश्वास पोर्चुगलस्थित नेपाली राजदूतावासले व्यक्त गरेको छ।





