२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? सावधान ! अपरिचितको सामान बोक्दा पुगिएला जेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नागरिकहरूलाई सुन तस्करीमा संलग्न गिरोह र दलालहरूको प्रलोभनमा नपर्न विशेष अनुरोध गरेको छ । विशेष गरी दुबई, कतार लगायतका खाडी मुलुकमा वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरूलाई लक्षित गरी सुन तथा अन्य बहुमूल्य धातु ल्याउन लगाउने घटना बढेपछि प्रहरीले सचेत गराएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार केही अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाएर कामदारहरूलाई सुनका बिस्कुट, बहुमूल्य धातु वा अन्य गैर कानुनी सामग्री बोकाउने गरेका छन् । सामान आधिकारिक देखाउन तस्करहरूले यात्रुलाई नक्कली वा बनावटी खरिद बिल समेत दिने गरेको प्रहरीको भनाइ छ ।

यस्ता सामान बोकेर नेपाल प्रवेश गर्दा विमानस्थल भन्सार कार्यालयको नियमित जाँचका क्रममा यात्रुहरू पक्राउ पर्ने र उनीहरूमाथि नै सुन ओसारपसारको कानुनी कारबाही हुने गरेको छ ।

विदेशबाट फर्किने नागरिकहरूलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परी सामान नबोक्न, नचिनेको व्यक्तिको सामान स्पष्ट रूपमा अस्वीकार गर्न र आफ्नो झोलाको विवरण आफैँलाई थाहा हुनुपर्ने प्रहरीले जनाएको छ । साथै, ल्याउनै परे वैध कागजातसहित भन्सार शुल्क बुझाएर मात्र ल्याउन, यात्रासम्बन्धी कागजात गोप्य राख्न र शङ्कास्पद गतिविधि देखिए सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।

विशेष गरी खाडी मुलुकबाट फर्किने नेपालीहरूलाई केही हजार रुपैयाँको लोभ देखाएर तस्करहरूले प्रयोग गर्ने गरेको र पक्राउ परेमा सम्पूर्ण कानुनी जिम्मेवारी सामान बोक्ने यात्रुकै हुने भएकाले पूर्ण सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

विमानस्थल सुरक्षा कार्यालयले “सचेत बनौँ, सुरक्षित रहौँ” भन्ने सन्देश दिँदै अवैध सुन ओसारपसार र अपरिचित व्यक्तिका प्याकेट बोक्ने कार्यबाट टाढा रहन अपिल गरेको छ । 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।