ब्रोड पिकमा हिमपहिरोपछि आरोहीको उद्धारका लागि पाकिस्तानी निकायसँग निरन्तर समन्वय : परराष्ट्र मन्त्रालय
पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरो गएपछि नेपाल सरकारले अवस्थाबारे नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित पर्वतारोहीहरूको शीघ्र र सुरक्षित उद्धारका लागि इस्लामाबादस्थित नेपाली दूतावासले पाकिस्तानका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिएको छ।
दूतावासले अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) लगायत त्यहाँका सबै सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको र पाकिस्तानी अधिकारीहरूले घटनास्थलमा खोज तथा उद्धार कार्य जारी राखेको मन्त्रालयले जनाएको छ।
“इस्लामाबादस्थित हाम्रो दूतावासले सबै प्रभावित पर्वतारोहीहरूको द्रुत र सुरक्षित उद्धारलाई सहज बनाउन अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) लगायत पाकिस्तानका सबै सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिरहेको छ।”, परराष्ट्र मन्त्रालले भनेको छ, “पाकिस्तानी अधिकारीहरूले हामीलाई खोज तथा उद्धार कार्यहरू भइरहेको जानकारी दिएका छन्।”
मन्त्रालयका अनुसार अनुभवी आरोही निर्मल पुर्जा ‘निम्सदाई’को नेतृत्वमा रहेको ब्रोड पिक आरोहण टोलीमा १० जना सदस्य रहेका छन्।
टोलीमा नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। त्यस्तै ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल सखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गेस पनि टोलीमा सामेल छन्।
पाकिस्तानी अधिकारीहरूबाट समयमै खोज तथा उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गर्ने आश्वासन प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि, हिमपहिरोमा परेका पर्वतारोहीहरूको पछिल्लो अवस्थाबारे थप विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन।
विश्वको १२औँ अग्लो हिमालका रूपमा रहेको ब्रोड पिकमा हिमपहिरो गएलगत्तै त्यहाँ रहेका आरोहीहरूको सुरक्षित उद्धारका लागि खोजी कार्यलाई तीव्र पारिएको छ।





