२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

अमेरिकामा उपभोक्ता सुरक्षा नियोगद्वारा अस्पतालहरूसँग बिरामीको व्यक्तिगत स्वास्थ्य विवरण माग

Photo: Martha Dominguez de Gouveia/ Unsplash

अमेरिकाको एक सानोसङ्घीय निकाय, कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिसनले देशका ठूला अस्पतालहरूसँग आपत्कालीन कक्षमा उपचारका लागि आउने बिरामीहरूको विस्तृत र व्यक्तिगत पहिचान खुल्ने स्वास्थ्य विवरण माग गरेपछि नयाँ विवाद सिर्जना भएको छ।

घाँस काट्ने मेसिन र कफी मेकरजस्ता उपभोक्ता सामग्रीबाट हुने क्षति र दुर्घटना नियन्त्रण गर्ने जिम्मेवारी पाएको यस निकायले एक निजी ठेकेदार कम्पनीमार्फत अस्पतालहरूलाई बिरामीको गोपनीयता खुल्ने विवरण बुझाउन दबाब दिइरहेको खुलासा भएको छ।

केएफएफ हेल्थ न्युजले अनुसन्धान सुरु गरेपछि कमिसनले जुलाई २१ मा यो नयाँ कार्यक्रमको घोषणा गरेको थियो। तर, अस्पताल सञ्चालकहरूमा यसले सिर्जना गरेको आशङ्का र नियोगको व्यापक डेटा मागबारे भने निकायले कुनै स्पष्टीकरण दिएको छैन।

प्राप्त कागजात र पत्रचारअनुसार, कमिसनले बिरामीको नाम, ठेगाना, रोगको निदान लगायतका सम्पूर्ण व्यक्तिगत विवरण निजी ठेकेदार कम्पनी ‘कोन्जा हेल्थ’लाई उपलब्ध गराउन निर्देशन दिएको छ। यो माग सामान्य दुर्घटनामा मात्र सीमित नरही खोपको प्रतिक्रिया वा आत्महत्याको प्रयाससम्मका स्वास्थ्य विवरणहरूमा आधारित छ।

कोन्जा हेल्थका प्रतिनिधिहरूले अस्पतालहरूलाई पत्र लेख्दै यो प्रणालीमा सहभागी हुनु अनिवार्य रहेको बताएका छन्। चालु वर्षको अन्त्यसम्म कम्तीमा १०० वटा अस्पताललाई यस प्रणालीमा आबद्ध गराउने कमिसनको लक्ष्य छ।

स्वास्थ्य कानुनका विज्ञ तथा अस्पतालका वकीलहरूले कमिसनको यो कदममाथि गम्भीर प्रश्न उठाएका छन्। केस वेस्टर्न रिभर्सिटीका स्वास्थ्य कानुन प्राध्यापक शेरोना होफम्यानका अनुसार, निजी निकायलाई यसरी सर्वसाधारणको संवेदनशील विवरणमा पहुँच दिनुले बिरामीको गोपनीयतामा ठूलो जोखिम निम्त्याउँछ।

अमेरिकी कानुनअनुसार १० वा सोभन्दा बढी निकायहरूबाट कुनै विवरण माग गर्नुअघि सार्वजनिक सूचना जारी गरी सर्वसाधारणको सुझाव लिनुपर्ने प्रावधान छ। तर, कमिसनले १०० भन्दा बढी अस्पतालहरूलाई सम्पर्क गरिसक्दा पनि कानुनी प्रक्रिया पूरा नगरेको स्वीकार गरेको छ।

सीपीएससीका कार्यवाहक अध्यक्ष पिटर फेल्डम्यानले आधुनिक प्रविधि र ‘एआई’  मार्फत विशाल परिमाणका इलेक्ट्रोनिक स्वास्थ्य विवरण विश्लेषण गर्ने योजना रहेको बताएका थिए। यद्यपि, ठेकेदार कम्पनी कोन्जा हेल्थका मुख्य कार्यकारी अधिकृत लोरा म्याककेरीले भने आफूहरूले एआई नभई अत्याधुनिक विश्लेषणात्मक प्रणाली प्रयोग गर्ने दाबी गरेकी छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

विगतमा सन् २०१७ देखि २०१९ को अवधिमा करिब ३० हजार मानिसको स्वास्थ्य विवरण गल्तीले सार्वजनिक गरेको इतिहास रहेको यस नियोगको नयाँ कदमले अमेरिकामा बिरामीको गोपनीयता सम्बन्धी चिन्ता थप बढाएको छ। धेरैजसो ठूला अस्पतालहरूले बिरामीको गोपनीयता रक्षा गर्न यो प्रणालीमा विवरण बुझाउन अस्वीकार गरिरहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।