२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

डलर साटिदिने भन्दै लुटपाट गर्ने ४ जना पक्राउ

डलर साटिदिने प्रलोभनमा पारेर सर्वसाधारणको रकम तथा गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौंका विभिन्न स्थानमा डलर साट्ने बहानामा लुटपाट गरी फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर–६ नारायणटार बस्ने ३० वर्षीय धनबहादुर तामाङ, बुढानीलकण्ठ–११ कपनका ४१ वर्षीय लोकबहादुर तामाङ, बुढानीलकण्ठ–१३ चुनिखेलका ३८ वर्षीय राजकुमार लामा र काठमाडौँ महानगरपालिका–६ नयाँबस्तीका ३७ वर्षीय विजय तामाङ रहेका छन्।

प्रहरीले उनीहरूलाई साउन ९ गते बुढानीलकण्ठ–११ कपनस्थित प्रगति टोलबाट नगद तथा गहनासहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट ३ लाख ४८ हजार रुपैयाँ नगद, ५० दरको एक थान अमेरिकी डलर, सुनजस्तै देखिने औँठी, ब्रेसलेट, एक जोर रिङ र एक थान तिलहरी बरामद गरिएको छ।

पक्राउ परेकामध्ये धनबहादुर तामाङविरुद्ध यसअघि नै ठगीसम्बन्धी ६ वटा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ। त्यस्तै लोकबहादुर तामाङविरुद्ध खोटा चलन, अभद्र व्यवहार र ठगीसम्बन्धी मुद्दा दर्ता हुनुका साथै उनी बैंकिङ कसुरमा समेत फरार सूचीमा रहेको अनुसन्धानबाट खुलेको छ।

उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।